Comments Add Comment

कोरोना संक्रमणले चितवनका अस्पतालको सेवा खुम्चियो

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको ओपिडी

३ भदौ, चितवन । मंगलवार विहान १०ः३० बजे भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पुग्दा अस्पतालको ओपिडी भवन सुनसान थियो । केही चिकित्सक ओपिडीको अगाडि गफिएर बसिरहेका देखिन्थे । ओपिडी भवन भित्र अस्पतालका कर्मचारी मात्रै थिए ।

भित्री गेटको मुखमा केही बिरामी र उनीहरुका आफन्तहरु यताउता गरिरहेका थिए । अधिकांश ओपिडी कोठाहरु बन्द जस्तै थिए । ओपिडी भवनको माथिल्लो तलामा केही बिरामी थिए ।

साधारण अवस्थामा यो समयमा ओपिडि निकै भिडभाड हुन्थ्यो । अस्पताल बाहिर विगतमा हुने चहलपहल निकै हराएको बिमल फार्मेसीका सञ्चालक बिमल लामिछानेले बताए ।

क्यान्सर अस्पतालमा तीन जना कार्यालय सहयोगीसहित ७ जना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले अन्तरंग विभागमा रहेको बिरामी र आकस्मिक कक्षमा आउने बिरामीलाई मात्रै सेवा दिएर अन्य सेवा बन्द गरेको छ ।

क्यान्सरको जस्तै अवस्था छ, भरतपुर अस्पतालको पनि । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ड डा. श्रीराम तिवारी, प्रसूति रोग विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेलसहित पाँच जना चिकित्सक र नर्सलाई कोरोना संक्रमण भएपछि अस्पतालको सेवा प्रभावित भएको छ । अस्पतालले साउन ३२ गते एक सूचना प्रकाशित गरी बिरामी तथा संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्तिहरुको कोभिड परीक्षण तथा अस्पताल निर्मलीकरण गर्नुपर्ने भएकाले ओपिडी सेवा बन्द गरी एकीकृत आकस्मिक सेवा दिएको जनाएको छ । अस्पतालले आईसीयू तथा मातृशिशु सेवा उपचाररत बिरामीको व्यवस्थापन गरी नयाँ सेवा बन्द गरेको सूचनामा उल्लेख छ ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अहिले दैनिक औसत ७० जना बिरामी उपचारका लागि आउने गरेका छन् । जिल्लामा निषेधाज्ञा लाग्नुअघि दैनिक ५ सय जना बिरामीले सेवा लिने गरेको उनले बताए । अस्पतालको सेवा बन्द रहँदा गरिब तथा विपन्न र बीमाका बिरामीहरुले औषधि तथा उपचार सेवा पाउन नसकेको सूचना अधिकारी पौडेलले बताए । उनले भने, ‘गरिब विपन्नहरू यहाँ सेवा प्रभावित हुँदा कहाँ जाने ? कस्तो दुःखद अवस्था आएको छ ।’

उनले यथाशक्य छिटो पुनः सेवा सुरु गराउने प्रयासमा अस्पताल लागिरहेको बताए । केही आइसोलेसनमा बसेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि सेवाले गति पाउने उनको भनाइ छ ।

अस्पतालमा धेरैजसो चिकित्सक तथा स्वास्थ्यकर्मी आइसोलेसनमा छन् । अस्पतालको सुत्केरी सेवा प्रभावित छ । यहाँ दैनिक औसत ४० जनाले सुत्केरी सेवा लिँदै आएका थिए । भरतपुर अस्पतालमा निःशुल्क प्रसूति गराउने महिलाहरुले बाहिरका निजी अस्पतालमा महंगो शुल्कमा सुत्केरी सेवा लिन बाध्य भएका छन् । १५ हजारदेखि ५० हजारसम्म शुल्क लिने गरेको पाइएको छ ।

चितवनमा दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दै जाँदा संक्रमित व्यवस्थापनमा समस्या हुन थालेको छ । अहिलेसम्म चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित यहाँ २८० जनामा कोरोना संक्रमण भइसकेको छ

पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु बगालेलाई कोरोना संक्रमण भएपछि अस्पतालको सेवा प्रभावित छ । सरकारी मात्रै नभएर कोरोना संक्रमित भेटिएका निजी अस्पतालहरुले आकस्मिक बाहेकका सेवा धमाधम रोकेका छन् ।

तीन जना नर्ससहित ५ जना कर्मचारीमा कोरोना देखिएपछि भरतपुर सेन्ट्रल अस्पतालले केही दिनका लागि सेवा बन्द गरेको छ । अप्रेसन गर्न तीन जना बिरामी तयारी अवस्थामा रहेकै बेला नर्सलाई कोरोना संक्रमण पुष्टि हुँदा समस्या परेको अस्पतालका प्रबन्ध निर्देशक डा. अनिलविक्रम कार्कीले बताए । उनले कोरोना संक्रमणले छोप्दै जाँदा बिरामीहरू उपचार पाउनबाट समेत प्रभावित भएको बताए ।

नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका डा. कार्कीले भने, ‘सरकारी अस्पतालको पनि सेवा खुम्चिएको छ, निजीको पनि अवस्था उस्तै छ, यसले बिरामी उपचारबाट बञ्चित बन्नुपर्ने अवस्था आउन थालेको देखिन्छ ।’

अर्को निजी अस्पताल मौलाकालिकासमेत साउन २९ गतेदेखि बन्द छ । अस्पतालमा उपचाररत इच्छाकामना गाउँपालिकाको एक जना बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पतालका ४७ जना स्वास्थ्यकर्मी र कर्मचारीहरुको साउन ३२ गते स्वाब संकलन गरी पठाइएकामा बुधवार विहान मात्रै रिपोर्ट आएको छ । एक अनमीमा कोरोना पोजेटिभ भेटिएको छ । अब अस्पताल खोल्न के गर्ने भन्ने बारेमा छलफल भैरहेको व्यवस्थापक ऋषि खनालले अनलाइनखबरलाई जानकारी दिए । अहिले अस्पताल निर्मलीकरणको काम भैरहेको छ ।

चितवन मेडिकल कलेजले भने आफूहरुले कुनै पनि सेवा नरोकेको जनाएको छ । कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले अस्पतालका सबै सेवाहरू यथावत रहेपनि बिरामीको संख्या भने पचास प्रतिशत भन्दा कमले घटेको बताए । उनले जिल्लामा निषेधाज्ञा लाग्नु अघि दैनिक १२ सय जति बिरामीले ओपिडी तथा आकस्मिक सेवा लिने गरेकोमा अहिले घटेर औसत ४ सयदेखि ५ सयको हाराहारीमा पुगेको बताए ।

यता, पुरानो मेडिकल कलेज भरतपुरमा तीन बिरामीलाई संक्रमण देखिएपछि कन्ट्याक ट्रेसिङ गर्ने क्रममा आकस्मिकसहितका केही विभाग दुई दिन बन्द रहे पनि अहिले भने यथावत सञ्चालनमा छन् । कलेजका जनसम्पर्क विभागका प्रमुख दुर्गा न्यौैपानेले दिएको जानकारी अनुसार अहिले सबै सेवा यथावत चलिरहेका छन् । जिल्लामा जारी निषेधाज्ञा अगाडि दैनिक औसत चार सय जना बिरामी उपचारका लागि आउने गरेकोमा अहिले जम्मा एक सय जना बिरामी मात्रै आउने गरेका छन् ।

विषेशगरी तराईका जिल्लामा कोरोना संक्रमण फैंलिएपछि अधिकांश बिरामीहरु चितवनको भरतपुर आउन थालेका थिए । बीरगञ्ज कोभिडको हटस्पट बन्न थालेपछि त्यहाँका अधिकांश अस्पतालले कोभिड बिरामीहरुको उपचार मात्रै गर्दा अन्य बिरामीहरु भरतपुर डाइर्भट भएका यहाँका चिकित्सकहरु बताउँछन् । पर्सा, बारा, रौतहट, सर्लाही, सिरहासम्मका बिरामी उपचारका लागि चितवन आउँदा कोरोना पनि अस्पतालमा फैलिएको आंशका गरिएको छ ।

चितवनमा दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दै जाँदा संक्रमित व्यवस्थापनमा समस्या हुन थालेको छ । भरतपुर अस्पतालले भएको ७५ बेड आइसोलेसन भरिएको बताएको छ । अहिलेसम्म चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित यहाँ २८० जनामा कोरोना संक्रमण भइसकेको छ । पछिल्लो समय सक्रिय संक्रमित संख्या नै १५४ पुगेको छ । चितवनमा ३१ जना संक्रमित होम आइसोलेसनमा छन् । भरतपुर अस्पतालमा मात्रै ५३ संक्रमित छन् । तीमध्ये ४० जनामा लक्षण छैन । तीन जना आइसियूमा छन् । बाँकी १० जनामा सामान्य लक्षण छ भने, ८ जना कोरोना आशंका गरिएकाहरू छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment