Comments Add Comment

कतै नभेटिएका बुबा

सनातन हिन्दु परम्परामा कुशे औंसी भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने पर्व हो । यस दिनलाई कुशे औंसी, पितृतर्पणी औंसी र गोकर्ण औंसी पनि भनिन्छ । बुबालाई मीठो खानेकुरा खुवाएर र उपहार दिएर बुबाको सम्मान, सम्झनामा बुबाले गरेका त्याग, समर्पण र मायालाई स्मरण गर्दै बुबाको मुख हेर्ने दिनका रुपमा यो पर्व मनाइन्छ । यस दिनमा बुबा नभएका व्यक्तिहरुले आफ्नो बुबाको सम्झनामा श्राद्ध, पिण्डदान साथै पण्डितलाई सिदा, लुगा वा आफूखुसी दान दिने गर्दछन ।

यस दिनमा कुशलाई घरमा ल्याउने चलन छ । त्यसैले पनि यस दिनलाई कुसे औंसी भनिएको हो । कुशलाई घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरु यजमानका घरघरमै यही कुशे औंसीमा पुर्‍याउँछन् र यजमानहरुले पनि सिधा दक्षिणा आदिद्वारा पुरोहितलाई सम्मान गर्छन् । हिन्दु धर्मको दैनिकी र संस्कारहरु अत्यन्तै वैज्ञानिक मानिन्छन् । कुशको महिमालाई श्रीमदभागवत, गीता, गरुंड पुराण, यर्थव वेद र विष्णु पुराणसमेतमा वर्णन गरिएको छ । धार्मिक प्रयोगमा वा पूजाआजा गर्दा दाहिने हातको औंलामा कुशलाई औंठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गलत तरङ्ग र विकीरणलाई निस्तेज गर्ने विश्वास गरिन्छ ।

बुबा अर्थात बाबा । सन्तानका लागि यो शब्द कति प्रिय र मूल्यवान छ । बुबा सायद शब्दले मात्रै व्याख्या गर्न सकिँदैन । यो एउटा सत्य शक्ति हो । योसँग हरेकको सन्तानको भावना र भरोसा गहिरो रुपमा जोडिएको हुन्छ । सन्तानका लागि बुबा नै पहिलो हिरो हो । जसले सन्तानलाई माया र संरक्षण मात्र होइन संघर्ष पनि गर्न सिकाउँछ । हिँड्दा-हिँड्दै ठेस लाग्दा हामी ऐया बाबा भन्छौं । यो शब्दभित्रबाट अनायासै निस्कन्छ । मानौं यो एउटा पावर हो । जसबाट हामीलाई ठेस लागेको सहदै अगाडि बढ भन्ने गजबको प्रेरणा प्राप्त हुन्छ र अगाडि बढ्ने साहास मिल्दछ । आमाको ममताबाट हुर्किने बच्चा बुबाको संघर्ष हेर्दै अघि बढ्छ । त्यसैले त बुबाको अर्थ यो ब्रह्माण्डभन्दा व्यापक छ ।

सन्तानको आदर्श, पथ-प्रदर्शक, प्रगतिको कारक, हौसलाको स्रोत र आमाको सौभाग्य मात्रै होइन बुबा सृष्टिको पहरेदार पनि हो । हिन्दु ग्रन्थअनुसार गुरु, माता र पितालाई भगवानको मानव रुप मानिन्छ । बुबा पिता अनेक शब्द तर रुप एक हुन् । रक्षक, पालनकर्ता, जन्म र कर्म दिने र संसार चिनाउने व्याक्तिलाई बुबाको रुपमा परिभाषित गरिन्छ । जे होस आमा बुबा नै यस जगतका देख्न सकिने भगवानहरु हुन् ।

आमा गीतमा भेटिन्छिन् । गजलमा भेटिन्छिन् । कवितामा भेटिन्छिन् । निबन्धमा भेटिन्छिन् । कथा, काहनीमा भेटिन्छिन् । तर, बुबा सायद कतै भेटिँदैनन् । हामी सधैं घरमा आमाको आँसुको कुरा गर्छौं । तर, खेतको आलीमा कोदाली बिसाएर बुबा रोएको कुरा कहिले गर्दैनौं

आमाबारे जताततै लेखिएका छन् । आमाको महानता र गरिमालाई पृथ्वीसँग तुलना गरिएको पाइन्छ । साहित्य र धार्मिक वर्णनमा माता महिमाको श्रृंखला चहकाउँदो गरी उज्यालो छ । त्यसको अघि बुबा अर्थात पिताको महिमा शून्य नै छ भन्दा फरक पर्दैन । बुबाबारे साहित्य र धर्म संस्कृतिमा कमै पढ्न पाइन्छ ।

परिवारको अभिभावकत्व ग्रहण गर्न आमा र बुबा दुवैले आफ्ना सन्ततीकालागि पसीना बगाएका हुन्छन । तर, पछिल्लो समयमा महिला मुक्तिको नाम र महिलाहरुको आवाज बुलन्द गर्ने नाममा जीवनभर पसिना बगाउने अर्को अभिभावकको विषय ओझेलमा परेको हो कि । आमा आफंैमा महान हुन्छिन् । तर, आमासँगै बाबाले आफ्नो परिवार र समाजका लागि गरेको संघर्ष पनि उत्तिकै महत्वपूर्ण हुन्छ एउटा सन्तानका लागि ।

आमा गीतमा भेटिन्छिन् । गजलमा भेटिन्छिन् । कवितामा भेटिन्छिन् । निबन्धमा भेटिन्छिन् । कथा, काहनीमा भेटिन्छिन् । तर, बुबा सायद कतै भेटिँदैनन् । हामी सधैं घरमा आमाको आँसुको कुरा गर्छौं । तर, खेतको आलीमा कोदाली बिसाएर बुबा रोएको कुरा कहिले गर्दैनौं । र, कहिल्यै बुबालाई सहानुभूति पनि राखेनौं ।

आमाले भान्सामा मिठो पकाएको देख्यौं । तर, भान्साको जोहो कसरी भयो, त्यसलाई बुझ्दैनौं । आमाका वेदना कह्यौं । कविले देखे, कैयौं गीतकारले देखे । कैयौं गजलकारले पोखे । तर, बुबाको पसिना र दुःख सायद कसैले देख्न सकेन, लेख्न सकेन । किन बुबाका पसिना नदेखिने गरी बग्छन् ?

बुबाका आँसु नबग्ने त होइन, ती आँखामा तर आँसुले परेली किन भिज्दैन ? आमाले भान्सामा आगो फुकेको देख्छौं । तर, दाउरा चिर्दा बुबाको हातमा उठेका ठेला र वनबाट घरसम्म पुर्‍याउँदा नाम्लोले तालुको कपाल खुइलिएको कसैले देख्दैनौं ।

बुबाका अनुहारमा सल्बलाएका दुःखका बक्ररेखाहरु कहिल्यै पढिएन । आमाले स्कुलको टाई किन्ने पैसा दिँदा खुसी हुने हामी, बुबाले पैसासँग पसिना साटेको कहिले बुझेनौं ।

छोराछोरीलाई जन्म दिने सौभाग्य त बुबालाई प्रकृतिले नै दिएको हुँदैन । तर, कर्म दिने बुबाको मायामा कहिल्यै कमी हुँदैन । बाध्यताले परदेशिँदा बाल्यकालमा छोराछोरीलाई ताते गर्न हात दिन नसके पनि काखमा खेलाउने धर्तीआमा जस्तै आकाश बनी शीतल प्रदान गर्ने बुबाको मायामा केही कमी हुँदैन । सायद बाल्यकालमा छोराछोरीसँगै रमाउने चाह कसको हुँदैनथ्यो होला ? तर परदेशी बुबाको त्यो औकात नै थिएन होला । छोराछोरी बिरामी पर्दा काखमा च्यापेर घुँक्क घुँक्क रुँदै अस्पताल पुर्‍याउने आमाको माया देखिन्छ । तर, त्यही अस्पतालको बिल तिर्न सन्तानको तस्वीर हेर्दै सुँक्क गर्दै परदेशी भुमिमा ड्युटी पूरा गर्ने बुबाको बाध्यता बुझिँदैन यहाँ ।

आमाको माया र बुबाको संघर्षविना हाम्रो भविष्यले कुनै बाटो निर्धारण गर्न सक्दैन । आमाको सैभाग्य अनि सन्तानको सहारा बुबाको महिमा शब्दमा गर्न सकिँदैन । बुबाभन्दा अशल गुरु अरु कोही हुन सक्दैन । बुबाको जिम्मेवारी र माया कोरेर सकिँदैन ।

घर खर्च चलाउन, सबैको रहर अनि सपना सजाउन सन्तानको आगमनभन्दा पहिले परदेश हिँडेका बाबा । अनि परदेशमा दिनरात नभनी आफ्नो भोक प्याससँगै स्वास्थ्यको प्रवाह नगरी तातो अरबको खाडीमा आफ्ना रहरहरुलाई कुण्ठित पार्दै आधा पेट खाई सन्तानको भोक मेटाउँदा आफ्नो सम्पूर्ण दुःख बिर्संदै घर र्फकने दिन गन्दै बस्ने बुबाले पठाएको महंगो अत्तरको सुगन्ध र आधुनिकता बढेसँगै, छोराछोरीहरुको जवानीको रंग चढेसँगै त्यो घर अचेल घरजस्तो छैन । जसका कारण कति आमा बाबा गल्ली, सडक, पाटी, पौवा मन्दिरका देवलहरुमा आफ्नो बुढो, अशक्त, र कमजोर शरीर लिएर एकमुठी सास बचाउन, गासको भिख माग्दैछन् । तर, मागेको भिख अञ्जुलीमा अडाउन सक्ने शक्ति छैन अहिले । बुबाले सुरु-सुरुमा हलो समात्दा उनको हातमा पहाड नै उचाल्ने बल थियो । तर, अहिले त्यही पहाडबाट बगेको पानीले प्यास मेट्न खोज्दा अञ्जुलीमा प्यास मेटाउने पानी अडाउने शक्ति पनि छैन ।

बुबाले आँसुबाट मुस्कान निकाल्ने क्षमता राख्छन् । हरेक बाबुले आफ्नो सन्तानलाई सिकाउन, व्यवहारिक बनाउन, अनुशासनमा राख्न कोमल मनलाई कठोर देखाएर अभिनय गरिरहेको हुन्छ । सन्तानको खुसीमा सामेल हुँदा बुबा हाँसेको नदेखिएला । तर, हाँस्न दिएको स्वतन्त्रताको मोल सन्तानले बुझ्नुपर्छ ।

कर्कलाको पातमा टलपल पानीझैं आँशु टिल्पिलाएका आँखामा निद्रा हराएपछि आफ्नै परेलीका डीलहरुमा सुशीको शिला खोज्दैछन् बुबाहरु । चाउरीएर ग्राफजस्ता गालाका रेखाहरुमा कतै एक धर्को सन्तोष छैन । नाम्लोको पातो सार्दा-सार्दा कपाल झरेर खुइलिएको बुबाको तालुमा जिम्मेवारीको चर्को घामले दिनभर ठुँगिरहन्छ ।

तर, पनि खुसीसाथ संसार जितेको नाटक गरिरहन्छन् र पैंचो मागेको खुसी सन्तानलाई बाँड्छन । तर, यथार्थमा सन्तानका लागि पलपलमा हारिरहेका हुन्छन् । बुबा बरु हरुवा बन्छन्, तर सधैं हाँसिरहन्छन् त केवल तिनै सन्तानका लागि । बुबालाई सधैं दुःख र सन्तानको जिम्मेवारीले ग्रस्त बनाएको छ ।

एउटा सामान्य मानव आधा जीवन राम्रो छोराछोरी बन्ने उत्कृट चाहानामा र आधा जीवन राम्रो बुबा आमा बन्ने अभ्यासमै बित्छ । पछिल्लो समय भावनात्मक सम्बन्ध पनि देखावटी बन्न थालेको छ । आदर्श सन्तानका लागि बुबाको मुख हेर्ने दिन मात्रै होइन, प्रत्येक दिन बुबाको सम्मानका लागि हुनुपर्छ । चार्डको विशेष महत्व त हुन्छ । तर, भावना हरेक दिन एकै हुनुपर्छ । आमा धर्ती हुन भने बुबा आकाश हुन् । समाज र परिवारमा बुबाको दायित्व र योगदानलाई पनि सम्झिने संस्कृतिको विकास गर्नुपर्छ ।

हामी आफ्ना बुबा आमाहरुका भौतिक भावनात्मक जैविक अनि सपनाका अंश हौं । हामीमा बगेको रगत, अडेको संस्कार, बुनेका सपनाहरु हाम्रा बुबा आमाबाट धेरै नजिक हुन्छन् । ती सपना र सम्भावनाहरुका प्रदायक, जीवन सृष्टिका चराचर जगतका सम्पूर्ण आदर्श बुबाहरुमा नमन । तपाईहरुको सुस्वास्थ्य, दीर्घजीवन, स्नेही र स्निग्ध अनुहार सधैं हामीलाई शक्ति बनिरहोस् शुभकामना ।

(लेखक कृषि विकास बैंक बुटवल शाखाकी बरिष्ष्ठ शाखा प्रबन्धक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment