Comments Add Comment

यसरी तयार भयो माधव घिमिरेको ‘मृत्यु गीत’

३ भदौ, काठमाडौं । दुई वर्षअघि राष्ट्रकवि माधवप्रसाद घिमिरे गम्भीर बिरामी भएर अस्पतालको आईसीयूमा उपचारत थिए । उनको स्वास्थ्य अवस्थालाई लिएरबाहिर विभिन्न आशंका र अड्कलबाजी सुरु भइसकेको थियो ।

त्यहीबेला घिमिरे परिवारका एक सदस्य अशेष शर्मा र मन्दिरा ढुंगेल म्युजिक कम्पोजर आशीष अविरललाई भेट्न पुगे । भित्रबाट ढोकामा चुकुल लगाएर कुराकानी भयो । ‘एकदमै गोप्य विषय’ भन्दै अशेषले आशीषलाई एउटा प्रस्ताव गरे ।

‘राष्ट्रकवि माधवप्रसाद घिमिरेले ६० वर्षअघि लेख्नुभएको एउटा गीत छ, यसलाई तपाईंले संगीत भरेर गोप्यरूपमा रेकर्ड गराउनुप¥यो,’ उनले यतिभन्दा अविरल उत्साहित बने । तर गोप्य किन ?

अशेषले प्रष्ट पारे, ‘उहाँले यो गीत आफूलाई नसुनाउन र आफ्नो निधनपछि मात्रै सार्वजनिक गर्न भन्नुभएको छ ।’

आफ्नो शवयात्रामा यो गीत बजाउने राष्ट्रकविको चाहना रहेको अशेषले सुनाए । यसले आशीषलाई अलिकति विचलित तुल्यायो । एकातर्फ यो उनको लागि अवसर थियो, राष्ट्रकविका शब्दलाई संगीतमा उन्ने । अर्कोतर्फ सकस थियो, जीवित छँदै उहाँको ‘मृत्यु गीत’ बनाउनुपर्ने । उनलाई निर्णय लिन गाह्रो भयो ।

उनी भन्छन्, ‘मलाई दुई प्रकारको दबाब अनुभव भएको थियो । पहिले त राष्ट्रकविले लेखेका शब्दहरूमा संगीत भर्नु आफैँमा चुनौती थियो । दोस्रो, उहाँको शवयात्रामा बजाउने गीत भनेपछि अझै ठूलो सकस थपियो ।’

तर मन्दिराले उनलाई कन्भिन्स गरिन् । ‘मृत्यु सबैका लागि शाश्वत चिज हो । यो गीत कविवरको होइन, आफ्नै मृत्युपछि बज्नेछ भन्ने सोचेर बनाउनुस्,’ उनले भनिन् ।

संगीतकार आशिष अविरल

यो तर्कले अविरललाई छोयो । उनी तयार भए । राष्ट्रकविसँग उनको कहिल्यै प्रत्यक्ष भेट भएको थिएन । तर घिमिरेको काव्यिक प्रतिभाका एक पारखी आशीष पनि थिए । आफूले आदर्श ठानेको मूर्धन्य स्रष्टाका शब्दमा संगीत भर्ने अवसरलाई उनले खेर फालेनन् ।

गीत गाउने भइसकेपछि उनी शब्दहरूमा घोरिए । राष्ट्रकविका प्रत्येक शब्दहरू शक्तिशाली र भावपूर्ण थिए । ती शब्दहरूको भावार्थ नबुझी उनले संगीतमा न्याय गर्न सक्दैन’थे । गीतका शब्दहरूभित्र पस्न पनि निकै समय लागेको उनी बताउँछन् ।

गीतमा सहज मृत्युवरणको कामना गरिएको थियो । आफ्नो प्राण जाने क्षणको कल्पनालाई संगीतमा ढाल्नु सहज कुरा थिएन । त्यसैले करिब एक महिनासम्म उनी यही गीतको सेरोफेरोमा रुमलिए ।

घिमिरेकी जेठी छोरी शान्ति अधिकारीले संगीतको एउटा परिकल्पना बनाएकी थिइन् । त्यही परिकल्पनामा बाँधिएर अविरलले संगीत सिर्जना गर्न थाले । संगीत तयार भएपछि कुरा आयो गायकको । कसलाई गाउन दिने ? उनको दिमागमा नाम आयो– कर्णदास ।

कारुणिक एवं मुटु छुने गीतहरूमा कर्ण दासको स्वर बल्छ भन्ने अविरललाई थाहा थियो । उनले गाएका ‘जिन्दगीको के भरोसा’, ‘बिस्तारै छायो आँखामा अँध्यारो… ’‘ठूला ठूला महल होइन…’ जस्ता गीतहरू अविरलले सम्झिए । अनि निष्कर्षमा पुगे, यो गीतलाई कर्णदासकै स्वरले न्याय गर्न सक्छ । मन्दिराले पनि सहमति जनाइन् ।

अमेरिकामा लामो बसाइपछि फर्किएका कर्णदास पोखरामा थिए । उनलाई फोन गरेर बोलाइयो । ढोका थुनेर कुराकानी भयो । कर्णदास गीत गाउन निकै उत्साही देखिए । अविरलकै रागा रेकर्ड्स स्टुडियोमा गीतको रेकर्डिङ गरियो ।

उक्त गीत रेकर्ड गर्दा पनि निकै गोपनीयता र सावधानी अपनाइएको मन्दिरा बताउँछिन् ।

‘गीतमा बाजा बजाउनेहरूलाई पनि थाहा दिइएको थिएन कि यो कस्तो प्रकारको गीत हो भनेर,’ उनले भनिन् । मन्दिराका अनुसार घिमिरेकी छोरी शान्ति, अशेष, अविरल, मन्दिरा र कर्णदास गरी पाँच जनाभित्र सबै कुरा सीमित थियो ।

रेकर्डिङपछि गीतलाई शान्ति अधिकारीको जिम्मा लगाइयो । अविरललाई ठूलो बोझ बिसाएको जस्तो महसुस भयो । अरू गीतहरू रेकर्ड गराउँदा त्यसलाई छिटोभन्दा छिटो दर्शक–स्रोतामाझ ल्याउने हुटहुटी स्रष्टालाई हुन्छ । तर यो गीतमा उल्टो थियो । यो गीत बाहिर ल्याउने दिन चाँडै नआओस् भन्ने थियो उनीहरूलाई ।

यो गीत कसले संगीत भ¥यो, कसले गायो भन्ने विषयमा राष्ट्रकविलाई जानकारी भयो त ? मन्दिरा भन्छिन्, ‘यो कुरा शान्तिजीलाई मात्रै थाहा छ । उहाँले भन्नुभएको भए थाहा भयो, नत्र भएन ।’

गीत रेकर्ड गराइसकेपछि अविरल राष्ट्रकविसित भेट्न निकै उत्सुक बनेका थिए । तर त्यो अवसर कहिल्यै जुरेन । तर गीतको भेद खुल्न सक्छ भनेर अविरलले धेरै प्रयास पनि गरेनन् ।

यो गीत उनीसम्म कसरी र किन आइपुग्यो भन्ने प्रश्नमा उनी भन्छन्, ‘मलाई लाग्छ कि यो गीत अरू ख्यातिप्राप्त संगीतकारसम्म पुगेको थियो । सायद उहाँहरूले बनाएको धुन चित्त नबुझेर मसम्म आएको हुनुपर्छ ।’

आफूले चुनौती मोलेर बनाएको गीतमा उनी स्वयं कति सन्तुष्ट छन् ?

आशीष भन्छन्, ‘कुनै पनि गीत गर्दा म आफू सन्तुष्ट नभएसम्म त्यसमा करेक्सन गरिरहन्छु । धेरै किसिमका धुनहरू खेलाउँछु । यो गीतमा त झन् बढी मेहनत गरेको थिएँ । अन्तिम नतिजाबाट पूर्ण सन्तुष्ट पनि भएँ ।’

हिजो राष्ट्रकविको मृत्युको खबर सुनिसकेपछि अविरल सुरुमा भावुक भए । एकछिनपछि उनले सम्झिए, दुई वर्षअघि रेकर्ड गरिएको गीत । अब यो गीत बाहिर आउने कुराले फेरि उनलाई एकप्रकारको दबाब महसुस भयो । गीतको प्रतिक्रिया कस्तो आउने हो भन्नेमा उनी चिन्तित थिए । तर अहिले उनी निश्चिन्त छन् । सबैले गीतको तारिफ गरेका छन् । उनलाई फोनहरू आइरहेको छ ।

यो गीतलाई आफ्नो संगीत करिअरकै उत्कर्षको रूपमा लिएका छन्, अविरलले । सयौं गीतहरू कम्पोज गरिसकेका उनका लागि यो सबैभन्दा फरक र अविस्मरणीय अनुभव भयो ।

‘सायद यस्तो खालको गीत सायदै फेरि गाउन पाइएला,’ उनले अन्त्यमा भने, ‘मेरो मृत्युपछि पनि सम्भवतः शवयात्रामा यही गीत गुञ्जनेछ ।’

यस्तो छ माधव घिमिरेको ‘मृत्यु गीत’

त्यसरी होस् मरण
जसरी सुत्छन् तारमा, गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होस् मरण ।।
….
सुन्दर सृष्टि निहारी, सुखैले चिम्लुँ नयन
बिहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भुइँमा बिनापवन
त्यसरी होस् मरण ।।

मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
बादलको सेतो रासमा, दुईवटा मूर्ति पासमा
जसरी शिर नुहाई, आफैँमा हुन्छन् अर्पण
त्यसरी होस् मरण ।।

अमरापुरी सभामा, आफैँलाई गरूँ वरण
त्यसरी होस् मरण ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चिरञ्जीवी पौडेल

झण्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय पौडेल अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

Advertisment