+
+
Shares

दश वर्षदेखि अलपत्र पुल डिजाइन फेरेर निर्माण शुरु

टोपराज शर्मा टोपराज शर्मा
२०७७ भदौ ३ गते १४:५८

३ भदौ, बुटवल । दश वर्षदेखि अलपत्र रुपन्देहीको तिनाउ नदीमा निर्माणाधीन पुल डिजाइन परिवर्तन गरेर फेरि निर्माण सुरु गरिएको छ ।

तिलोत्तमा नगरपालिकाको गोरकट्टास्थित तिनाउ नदीमाथि २०६७ असारबाट पुल बनाउन थालिएको थियो । १ सय १० मिटर लामो पुल ७० मिटर बनाइसकेपछि पिलर राख्ने ठाउँमा ठूलो चट्टान भेटिएपछि रोकिएको थियो ।

वेल फाउण्डेसनको डिजाइनमा ठेक्का सम्झौता भई बनाउन शुरु गरिएको पुलको तेस्रो पिल्लर धसाउने ठाउँमा झण्डै तीन फिट गहिरो ठूलो चट्टान भेटिएको र फुटाउन पनि नसकेपछि काम रोकिएको थियो ।

चौथो र पाँचौं पिलर गाड्ने ठाउँमा पनि उस्तै चट्टान भेटिएपछि पुल निर्माण आठ वर्षसम्म अलपत्र परेको थियो ।

डिजाइनका कारण पुल निर्माणमा समस्या आएपछि सडक डिभिजन कार्यालय बुटवलले ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजलाई वैकल्पिक डिजाइनका लागि जिम्मा दिएको थियो ।

कलेजले चार महिनासम्म अध्ययन गरी तीन वटा विकल्प दिएको थियो । तीमध्ये सबैभन्दा उपयुक्त ‘पाइल फाउण्डेसन’ (किला ठोकेजस्तै) प्रविधिबाट पिलर बनाउन सुझाव दिए अनुसार काम अघि बढाइएको हो ।

‘पाइल फाउण्डेसन डिजाइनमा पुलको बाँकी काम पूरा गर्न विभागबाट स्वीकृति आएपछि काम शुरु गरेका छौंं’ सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले भने, ‘बनेका पिल्लरसहितको पुलको ७० प्रतिशत काम यथावत रहन्छ, अब बाँकी पिल्लरहरु पाइल फाउण्डेसनको डिजाइन अनुसार बनाउँछौं ।’

नेपाली कांग्रेस नेता बालकृष्ण खाँडले आफ्नो निर्वाचन क्षेत्रमा शुद्धोधन गाउँपालिका र तिलोत्तमा नगरपालिका जोड्ने गरी तिनाउमा पुलको योजना पारेका थिए ।

एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौले २०६९ पुस २४ गते सम्पन्न गर्ने गरी १० करोड ३७ लाखमा ठेक्का सम्झौता गरेकोमा २०७२ साल असार २४ गतेसम्मका लागि समयावधि थपिएको थियो ।

परिवर्तित डिजाइन अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म पुल निर्माण कार्य पूरा हुने मरासिनीले बताए । डिजाइन परिवर्तनले पुलको लागत र आयुमा फरक नपर्ने कार्यालय प्रमुख मरासिनीको दावी छ ।

यद्यपि वेल फाउण्डेसन अनुसार नदी सतहमाथि बनाइएको संचरनाको केही भाग भत्काउनुपर्ने उनले बताए । हालसम्म पुलको करिब ४८ प्रतिशत भौतिक प्रगति र ३४ प्रतिशत वित्तीय प्रगति भएको उनले बताए ।

बुद्ध सर्किटमा पर्ने यो पुल समयमै नबन्दा सर्वसाधारणले १४ किलोमिटरको दुरी पार गर्न ३५ किलोमिटरसम्मको दुरी तय गर्नुपरेको छ ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?