Comments Add Comment

ऋषिपञ्चमीलाई महिनावारीको ज्ञान दिने पर्वका रुपमा मनाऔं

हरेक वर्ष मे २८ लाई अन्तराष्ट्रिय ‘महिनावारी’ दिवस भनेर मनाउन थालेको केही वर्ष भयो । कहिलेकाहीँ त्यस्तो कार्यक्रममा बोलाउँदा मैले भन्ने गर्छु, महिनावारी दिवस मनाउने विदेशी चलन गर्नै पर्दैन । हाम्रो ‘ऋषिपञ्चमी’ नै महिनावारीका बारेमा ज्ञान दिने एउटा राम्रो दिवस बन्न सक्छ । अहिले ऋषिपञ्चमीलाई महिनावारीका बेलामा गरेको पाप पखाल्ने ब्रत भनिएको छ । तर, यही दिनलाई प्रजनन स्वास्थ्य र महिनावारीको ज्ञान दिने पर्वका रुपमा मनाउन सकिन्छ ।

हो, हाम्रो धर्म ग्रन्थमा महिनावारीका बारेमा बार्नुपर्ने, महिनावारी भएकी महिलाले भिन्नै बस्नुपर्ने भनेर लेखिएको छ । यस्तो ग्रन्थ त्योबेलामा लेखिएको थियो, जब विज्ञान थिएन । मानव शरीरको बारेमा ज्ञान थिएन । अनुसन्धान थिएन । अहिले त समय परिवर्तन भइसकेको छ । महिनावारी र शरीर विज्ञानका बारेमा आधुनिक ज्ञान अहिले स्कुलमा पनि पढाइन्छ ।

वेदमा लेखिएको महिनावारीसँग गाँसिएका ‘मिथक’हरुलाई पढ्दा अचम्म लाग्छ । ‘रजस्वला भएपछि अरुले नदेख्ने गरी लजाएर घरभित्र बस्नु पर्छ । एकसरो लुगा लगाएर कमजोर हुँदै दुःखी भएजस्तै स्नान र गहनाको श्रृंगार त्यागेर भुँईमा सुत्दै तीन दिन बिताउनुपर्छ र तीन रातपछि घाम झुल्कँदा लुगासहित स्नान गर्नुपर्छ । (चारवेदको सार, ४९)

तर, यी कुरालाई अहिले मानिँदैन । त्यतिमात्र होइन, अहिलेको विज्ञानले त महिनावारी हुँदा सफा बसौंं, हाँसौं, स्वस्थ खाना खाउँ, सकिन्छ भने दिनदिनै नुहाएर लुगा फेरौं भन्छ ।

अहिले पनि ‘वेदमा त्यस्तो लेखेको छ, त्यसैले महिलाहरु दुःखी भएर तीन दिन भूईंमा सुत्नुपर्छ’ भनेर त कोही पनि पण्डित, पुजारी, हजुरआमा, हजुरबाबाले भन्दैनन् । किनभने, नेपाली समाज नयाँ विचारलाई छिट्टै अंगीकार गरेर व्यवहारमा ल्याउने समाज हो ।

५० वर्षअघि म सानी छँदा नछुने, टालो भन्ने शब्द प्रयोग गर्न गाह्रो हुन्थ्यो । नछुने महिनावारी भएपछि पेट दुख्ने, वाकवाक लाग्ने जस्ता समस्यालाई झेलेर नै किशोरीहरु, महिलाहरु बस्थे । अहिले त नेपाली समाजमा महिनावारी कुनै लुकाउनुपर्ने छलफल गर्न नहुने, विषय होइन भनेर पढाइन्छ ।

स्कुल स्कुलमा महिनावारी व्यवस्थापनका लागि प्याड बाँड्न अघिल्लो आर्थिक वर्षमा सरकारले एक अरब रुपैयाँ छुट्यायो । त्यो रकमको कति दुरुपयोग भयो, त्यो एक छुट्टै विषय हो । तर, कमसेकम ‘राष्ट्रिय पत्रपत्रिकामा प्याड, महिनावारी, सुकिलो टालो’ भन्ने शब्दहरु चर्चामा आए ।

महिनावारी भएका बेला ऋषिपञ्चमीलाई ‘महिनावारी दिवस’ मनाउन किन सकस मान्नु ? होइन, यसो गर्दा त ‘हाम्रो धर्म संस्कृति नै नष्ट हुन्छ’ भन्नेहरुले भन्न सक्छन् । उनीहरुलाई भन्न सकिन्छ ‘महोदय, अहिले कति मन्दिरमा इन्टरनेटद्वारा पूजा गरिन्छ । प्रसाद पनि पार्सलमा नै पठाइन्छ । अहिले त अमेरिकामा बसेर नेपालका पण्डितहरुबाट पास्नी, न्वारन गराइन्छ ।

कोरोनाका बेलामा त कति हिन्दु संस्कार पनि ‘वेबनार’ बाट गरियो । यसको अर्थ हो, हाम्रो हिन्दु धर्मले ‘कठमुल्लावाद’लाई अँगालेको छैन । समयअनुसार परिवर्तन भएको छ । त्यसैले त विधवाहरुले विवाह गर्न हुन्न, विधवाहरुले मासु खानै हुन्न, विधवाहरुले रंगीन लुगा र रातो टीका लगाउनै हुन्न भन्ने मान्यता परिवर्तन भइसकेको छ ।

मेरी आमा ८४ वर्षकी हुनुहुन्छ । ४४ वर्षअघि विधवा हुनुभो । अहिले आमा रातो, नीलो, पहेंलो रंगका लुगा लगाउनुहुन्छ । उहाँ भन्न्नुहुन्छ, ‘विधवाले दुःखी भएर, सेतो लुगा लगाएर बस्नुपर्ने जमाना गए ।’

नपढेकी मेरी आमा त त्यति विचार गर्न सक्नुहुनछ भने हामी पढेकाहरुले विश्लेषण गर्न सक्दैनौं र ?

ऋषिपञ्चमीको दिवस मनाऔं, प्लिज भनौं, अनि सहज हुन्छ धर्मका कुरा गर्नेलाई ऋषिपञ्चमी पाप पखाल्ने पर्व नमानेर ‘स्वच्छताको पर्व’ भनेर मनायो भने शायद संस्कृतिको रुपान्तरण सकारात्मक ढगंबाट हुन्थ्यो होला ।

ऋषिपञ्चमीका दिन किशोरीलाई महिनावारी हुँदा कसरी स्वच्छ रहने, महिनावारी हुँदा पर्ने साधारण समस्या कसरी समाधान गर्ने भन्ने बारे छलफल चलाउन सकियो भने संस्कृतिले साँच्चै सकारात्मक सन्देश फैलाउनेछ । ऋषि पञ्चमीलाई स्वस्थ्य हुने ज्ञान बाँढ्ने दिन बनाउने कि ‘पाप’लाई पखाल्ने दिन बनाउने गर्ने कि सरकारले ?

‘ऋषिपञ्चमी’मा खाइने कर्कलो पनि खाऔं, कर्कलोमा भएको पौष्टिक तत्वले हाम्रो शरीरमा रोगसँग लड्ने शक्ति बढाउँछ । अहिले कोरोनाको जगजगी बढेका बेला त कर्कलो र भात खानु त झन् महत्वपूर्ण छ ।

सरकार र स्वास्थ्य दुबैलाई सुरक्षित राख्न ऋषिपञ्चमी नयाँ तरिकाले मनाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment