+
+
Shares

महिलाभित्रै पुरुष चिन्तन हावी  छ, नारीको अस्तित्व ‘सौन्दर्य’ मात्र होइन

सीमा बन सीमा बन
२०७७ भदौ ५ गते १६:२७

तीज हिन्दु नारीले मनाउने एउटा महत्वपूर्ण चाड हो । तीजमा प्रयोग हुने गहना र पहिरनको आफ्नै महत्व छ । तीजका दिन महिलाले लाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । हृदय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास तीजको ब्रतमा अन्तरनिहीत छ । तीजमा भगवान शिवको आरधाना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।

नेपाली हिन्दु महिलाहरुद्वारा स्वतन्त्र र आनन्दमय रुपमा मनाइने तीज पर्व अन्य धर्म र जातजातिका महिलाले पनि हर्सोउल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्यरुपले नेपालभर तथा भारतका कुनै कुनै प्रान्तमा पनि

तीजमा ब्रत बस्नु, श्रीमानको लामो आयुको चाहना राख्नु केवल श्रीमानकै लागि मात्र नभएर श्रीमानको आयुसँग आफ्नो आयुसमेत जोडिएका दिनहरु हाम्रा सामु थिए । नेपालमा सती प्रथाको चलन विद्यमान छँदा श्रीमानको मृत्युपछि कलिलो उमेरकी श्रीमती भए पनि श्रीमानको चितामा मृत्युवरण गर्नुपर्दथ्यो । धर्मका नाउँमा कस्तो विडम्वना ? त्यस्तो जमानामा श्रीमानको आयुसँगै श्रीमतीको आयु पनि गाँसिएको थियो ।

नेपाली समाज अहिले पनि पितृ सत्तामै आधारित छ । हरेक काम, व्यवहार एवं निर्णयमा पुरुष सर्वेसर्वा रहने नियम अझै विदितै छ । शहरको सानो जनसंंख्यालाई छोडेर हालसम्म पनि नेपालका बढीभन्दा बढी महिला कुनै न कुनै रुपमा कुण्ठित जीवन यापन गरिरहेका छन् ।

हाम्रो समाज अझै पनि सामन्तवादी पितृसतात्मक सोचबाट ओतप्रोत छ । हामीभित्रै पुरुष चिन्तन हावी छ । युगौंदेखि महिलालाई दासीका रुपमा प्रयोग गर्दै आएको पुरुष चिन्तन पुरुषमा मात्र होइन, यो महिलाभित्र पनि पाइन्छ । महिला आफंैले आफैंलाई कमजोर सम्झने तथा आफूमा भएको क्षमतालाई प्रस्फुटित गर्न नसक्ने र महिलाबाटै महिलाले दबिनुपर्ने अवस्था झन दुःखदायी छ ।

समाजमा सबै पुरुष व्यभिचारी हुन्छन् भन्ने पनि होइन । अधिकांश महिला हिंसाको कुरा उठ्नेगर्छ । तर, महिलाले पुरुषमाथि गरेका हिंसाहरु ओझेल पर्छन् । यस्ता पुरुषहरुको चर्चा गरिएमा विचरा ती पुरुषहरु जोइटिङ्ग्रेको दर्जामा पर्छन् जसका कारण यस्ता घटनाहरु परिवारभित्रै गुपचुप राखिन्छ । यस्ता अपवादवाहेक अझै पनि हाम्रो समाजको हेराइमा पुरुषलाई पहिलो दर्जामा राखी सधैं दोस्रो दर्जाका रुपमा सहनशील सुशीला हुँदै पुरुषको हरेक यातनालाई सहँदै घर गरी खाने महिलालाई असल ठानिन्छ ।

समाज एवं व्यक्तिको सोचमा परिवर्तन आउनुपर्छ । घरको चौघेरा मात्रै होइन, नारीको संसार, घरको सिलिङमात्रै होइन, नारीको आकाश आधुनिकीकरणसँगै महिलाहरुमा बोझ थपिएको छ । पहिले श्रीमानले कमाएर ल्याउने, श्रीमतीले घर तथा शिशु मात्र हेर्ने चलन थियो । तर, अहिले कामकाजी महिलामाथि बढी दबाव छ । उनीहरुमाथि घर र कार्यालयको दोहोरो जिम्मेवारी छ । त्यस्तै, महिलाहरुलाई विभिन्न निकायमा सहभागी गराउने परिपाटी रहेता पनि सहभागिता केवल बैठकमा उपस्थित भई कोरम पु¥याउने र अरुको निर्णयमा ताली बजाउनेमा मात्र सीमित छ । अब महिलाले कानुनी न्याए मात्र हैन, सामाजिक न्याए पनि खोज्नुपर्छ  ।

बहुविवाह गरेको तथा श्रीमानबाट अपहेलित वा हिंसामा रहेका हाम्रा कतिपय दिदीबहीनीहरु त्यही श्रीमानका लागि ब्रत बसेका देखिन्छन् । आफ्नो सिउँदोको सिन्दुर, गलाको मंगलसूत्र र हातमा बज्ने छनछनी चुराहरु एउटा पुरुषको आयु हो, उसको श्रद्धा हो । नारीका आँखामा पुरुष उसको देउता हो । तर, त्यही देउताको आँखामा नारी के हो ? अब बुझ्नुपर्छ महिलाले पुरुष दासताका बन्धनहरु । खिया लागेका विभेदका हत्कडीहरु । काँडा बिझेर बनेको खिल निकाल्न सियो बन्न जरुरी छ । हरेक परिवर्तनमा महिलाको अहम भुमिका हुने भएकाले महिलाहरु आफै सचेत हुनुपर्ने हुन्छ ।

पार्वतीले तीजको ब्रत बसेको घटनामा विशुद्ध प्रेम भेटिन्छ । प्रेम हासिल गर्ने पनि आ–आफ्ने तरिका तथा सोच हुन्छ । प्रेम नभएको संसार द्वन्द्वतिर जान्छ । महादेव प्रेमका आदर्श हुन् । त्यस्तो प्रेम गर्ने शिवलाई पुनः श्रीमानका रुपमा पाउन पार्वती अर्को जन्म लिएर ब्रत बसेकी हुन् । त्यो समयमा स्नान गरी ध्यान गरी ब्रत बस्ने चलन थियो । पहिले तीजको अघिल्लो दिनमात्रै दर खाने चलन थियो । तर, अहिले महिनांै अगाडिदेखि दर खाने प्रचलन बढेको छ । माइतीको दर होइन जता डाकियोस् । त्यतै गएर एक होइन, अनेकौं दर खाने गलत प्रवृत्तिको विकासले पछिल्ला बर्षहरुमा तीज महंगो र भड्किलो हुँदै गएको सन्दर्भमा यो वर्ष कोरोना कहरले सार्वजनिकरुपमा तीज मनाउन नसकिने अवस्था छ । तर, घरमै बसेर मनोरञ्जनका लागि भने विभिन्न तीज गीतहरु सार्वजनिक भने भएका छन् ।

हिजोका दिनमा तीज गीतले महिलाहरुका मनभित्रका तिनै कुण्ठा, पीर, वेदना आदि बोलेको पाइन्छ । एक दिन भए पनि आफूभित्र गुम्सिएर रहेका मनभित्रका कथा व्यथाले भरिएको बेदनाको पोको तीज गीतका रुपमा फुकाउन पाउँदा उनीहरु स्वतन्त्र, खुल्ला र खुशी महसुस गर्न पाउँथे । आज स्वतन्त्रताका नाममा ऐतिहासिक पर्व गीतको उपमा पाएको तीज गीत आज रोदीघरको झाम्रे र अश्लील दोहोरीमा फेरिन पुगेको छ ।

केही तीज गीतहरु मौलिकता बिर्साउने तथा समाजलाई भड्काउने तथा बढी खर्चिलो पर्वका रुपमा समेत देखिन गएकाले नयाँ पुस्तामा मौलिकता सिर्जना गराउने खालका गीतहरु तथा एक–अर्काबीचमा आत्मीयता भावनात्मक सम्बन्धलाई बढावा दिँदै संस्कृति र मूल्य मान्यतालाई संरक्षण गर्ने गरी तीजका कार्यक्रमहरु गर्दै यो पर्वलाई प्रेमको पर्वका रुपमा विकास गर्न जोड दिनुपर्ने देखिन्छ ।

कालो बादलभित्र पनि चाँदीको घेरा हुन्छ भनेझैं केही तीज गीत प्रगतिशील हुँदै गएका छन्, जसले महिला स्वतन्त्रता, सशक्तीकरण, विकास तथा निर्णायक तहमा महिलाको सहभागिता तथा वैज्ञानिक शिक्षालाई समेत उजागार गरेका छन् जसले गर्दा सामाजिक सद्भाव समेत बढ्ने देखिन्छ ।

तीजको सौन्दर्य समेटिएका गीतहरु नबनेका भने होइनन् । तर, न्यून संख्याका त्यस्ता गीतहरु भन्दा कलाहीन उट्पट्याङ्ख गीतहरुले वर्चस्व जमाउन थालेका छन् । तीज गीत हाम्रो मौलिक सांस्कृतिक धरोहर हो । यसको जगेर्ना हुनुपर्दछ । जुन रुपमा अथ्र्याए पनि महिलाहरुले तीज पर्वलाई महिलाको स्वतन्त्रता, खुशी र आफू नारी हुनुको अर्थलाई बुझ्नुपर्छ  ।

पछिल्लो समय तीज महिला स्वतन्त्रता तथा सशक्तीकरणको आवाज उठाउने पर्वका रुपमा पनि परिणत हुँदै गएको छ । वर्षमा एकपटक आउने पर्व उल्लासपूर्वक नै मनाउनुपर्नेमा दुई मत छैन । तर, पर्वको बहानामा खानपानमा ख्याल नगर्ने र सकी नसकी निराहार उपवास बस्नाले रोग निम्त्याउन सक्ने र पर्व सकेपछि उपचारमा भौंतारिनुपर्ने समेत हुन सक्ने हुँदा स्वास्थ्यको ख्याल गर्दै खानपिनमा ध्यान दिन सकेमा सुनमा सुगन्ध हुन्छ ।

तीज श्रमिक महिलाको चाड नभई सम्पन्न महिलाले प्रदर्शन गर्ने महंगा लुगा र गहनाको प्रतिस्पर्धात्मक पर्वजस्तो देखिँदै गएको छ । संस्कृतितिर होइन, विकृतितिर ढल्किएको छ । विकृतिको उपज नै समाज खोक्रो हुनु हो । हुनेखाने र नहुनेको बेजोड प्रतिस्पर्धा गराउने हो ।

समाज बाहिर र समाजको नियम विपरीत भएर हामी रहन सक्दैनौं । तर, पनि समाजभित्र रहेको विकृतिलाई हटाउन सक्छौं । नारी अस्तित्व आफ्नो सौन्दर्य प्रस्तुत गर्नुमात्रै होइन । हरेक पक्षमा सवल अनि हरेक क्षेत्रमा सकारात्मक प्रतिष्पर्धा गर्न सक्ने क्षमता पनि हो । त्यसैले तीजमा मनोरञ्जन मात्रै होइन, नारी अधिकार र अस्थित्वको जगेर्ना गरौं । महंगो गहना होइन, अमूल्य अस्तित्व बुझ्ने गरौं ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
सीमा बन

कृषि विकास बैंकमा कार्यरत वरिष्ठ शाखा प्रमुख रहेकी सीमा बन अधिवक्ता पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?