+
+
Shares

एसईई नतिजामा विद्यार्थीको के दोष ?

रामहरि ओझा रामहरि ओझा
२०७७ भदौ ५ गते २२:०१

‘भाग्यमानीको निधार ठूलो भन्थे, यस बर्ष एसईई दिने सबैको निधार ठूलो रहेछ कि क्या हो !’

‘जाँचमा एक अक्षर पनि नलेखेरै ए प्लस आउँछ भने अलिकति लेखिदिएको भए झनै कति आउँथ्यो होला !’

‘यस पटक बिद्यार्थीहरु धेरै मेहनती भएका हुन् कि स्कुलहरुले मनपरी गरेका हुन् ! बिद्यार्थीले नजिता ल्याएका हुन् कि पाएका हुन् !’

‘एसईई दिन नपाएर पास भएको भाइलाई के छ बाबु योजना भनेर सोधेको, ‘यस्तै अनुकुल समय रहे पीएचडी गर्ने धोको छ दाइ’ पो भन्छ त ।’

‘एसपालिको एसईईमा कोही फेल छ कि ! जान्न मन छ ।’

राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ २०७६ सालको विद्यालय शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेलगत्तै सामाजिक सञ्जालमा विभिन्न खालका प्रतिक्रिया आउन थाले । मंगलबारको दिन त एसईईकै लागि ठिक्क भयो सामाजिक सञ्जालमा । बुधबारदेखि शुक्रबारसम्म पनि प्रतिक्रियाहरु आउँदै रहे । आएका प्रतिक्रियाहरुमा सबै यहाँ उल्लेख गरीसाध्य छैनन् । केही प्रतिनिधिमूलक प्रतिक्रिया मात्रै आलेखको सुरुमै राखियो ।

आएका प्रतिक्रियाहरुमध्ये केही अध्ययनको बिषय बनाउनु पर्ने पनि छन्, केही नितान्त सरकारप्रति लक्षित छन्, केही शिक्षकहरुप्रति लक्षित पनि छन् ।

तर दुर्भाग्य, सामाजिक सञ्जालमा गरिएका अधिकांश टिप्पणीहरु बिद्यार्थीप्रति लक्षित छन् । “परीक्षा नै नदिएर जीपीए–४ ल्याएकाहरुलाई पनि के को बधाई !” बिद्यार्थीको मनोवल खस्काउने गरि, मानसिक चोट पुग्ने गरि आएका यस्ता टिप्पणीप्रति दुःख लाग्यो ।

२०७६ साल चैत्र ६ गतेदेखि एसइई हुने भनेर बिद्यार्थीहरु १०÷१५ दिन अघिदेखिनै परीक्षा केन्द्र पुगिसकेको थिए । बिपन्न परिवारका वालबालिकाहरुले अर्काको ऋण बोकेर परीक्षा दिन गएका थिए । तर बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण देखाउँदै सरकारले ५ गते राति मात्रै परीक्षा स्थगित भएको घोषणा गर्यो । सञ्चारमा पहुँच नभएका कतिपय ठाउँका बिद्यार्थीहरु त परीक्षा हुने दिन बिहानै परीक्षा केन्द्रमा समेत पुगेका थिए ।

एसइईकै तयारी गर्ने भन्दै उनीहरुले ट्यूसन लगाएका थिए, टुपी बाँधेर, कम्मरमा पटुका कसेर तयारी पनि गरेका थिए । अभिभावकहरुले चिन्ता व्यक्त गरेका थिए आफ्ना नानीबाबुहरुको । तर, अन्तिम समयमा आएर परीक्षा स्थगित गरेपछि रोएका बिद्यार्थीहरु पनि धेरै छन् । केहीले राम्रो तयारी गरेका थिए, राम्रो नतिजा ल्याउने आशा राखेको थिए, त्यसैले रोए । केही ऋण लिएर परीक्षा दिन गएका थिए, अहिले लिएको ऋण कहाँबाट तिर्ने र फेरि अर्को पल्ट परीक्षा भयो भने फेरी ऋण कोसंग माग्ने भन्ने पीरले रोएका थिए । केही आफुले गरेको तयारी सवै बिग्रिने चिन्ता बोक्दै रोएका थिए ।

शिक्षकसँगै अभिभावक पनि रोएका थिए । एसईई परीक्षा दिएर छोराछोरीहरुलाई उच्च शिक्षाको लाइनतिर लाउने सपना बुनिरहेका अभिभावकहरु पनि अब छोराछोरीको पढाइ बिग्रिने त होइन भन्ने पीरले रोएका थिए । यदि त्यतिबेलै परीक्षा भइदिएको भए र देशमा सामान्य अवस्था भएको भए नतिजाका लागि भदौ कुर्नुपर्ने अवस्था थिएन । जेठमै नतिजा आउथ्यो, जे हुनु हो भइहाल्थ्यो र आजसम्म विद्यार्थीहरु आफ्नो लाइन समातेर कक्षा कोठामा अध्ययन गरिरहेका हुन्थे । परीक्षा नहोस् भन्ने रहर न बिद्यार्थीहरुलाई थियो, न अभिभावकहरुलाई । न त कुनै दिन परीक्षा नभई नतिजा आउँछ भन्ने कल्पना नै गरेका थिए उनीहरुले ।

सबैले सोच्न जरुरी छ ती बालबालिका, जसले भर्खरै एसईई पूरा गरे, उनीहरु सबै हाम्रा भविश्य हुन्, उनीहरूलाई होच्याउने होइन, हौसला भरौं ।

परीक्षा नगरेरै पाँच महिनापछि नतिजा सार्वजनिक गर्नु सरकारको पनि रहर होईन्, वाध्यता हो । होला, परीक्षा स्थगित गर्ने सवालमा सरकारले लिएको निर्णय र लिएको समय गलत हुन सक्छ, त्यसपछि पनि परीक्षा सञ्चालन गर्न सक्ने वातावरण बनाउन सरकारले सकेन होला वा सरकारको ढंग पुगेन होला । परीक्षा वा नतिजाको बिषयमा पनि वस्तुनिष्ट र बैज्ञानिक कुनै आधार तयार गरेर जान सकिन्थ्यो हो । यी कुरालाई लिएर सरकारको बिरोध गर्नु स्वभाविकै मानिएला । तर सरकारले कुनै अपराध गरेको छैन । परिस्थितिवस यस्तो हुन आयो, सरकारको रहर होईन् ।

सामाजिक सञ्जालमा आलोचनामा आएको अर्को पात्र हो शिक्षक । सरकारले बिद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा नतिजा तयार गरी पठाउनू भन्यो, सोहीअनुसार शिक्षकहरुले तयार गरे, विद्यालयले पठायो । यसमा शिक्षकहरुको के दोष हो ?

नैतिकता नभएका केही शिक्षकहरुले वा आफ्नो जिम्मेवारीवोध नभएका, पार्टीको झण्डा बोक्न रमाउने वा कुनै गैरसरकारी संस्थाको भत्ताका लागि गोष्ठी चहार्दै हिँड्ने शिक्षकहरुले थोरै मौकाको फाइदा उठाउँदै आफ्नो विषयमा अलि बढी अंक दिने चतुर्याइँ पक्कै गरेका होलान् । यस कुरालाई पूर्णरुपमा नकार्न सक्ने अवस्था छैन । तर, एक/दुईजनाको त्यो चतुर्याइँले ‘शिक्षकहरु सबैले मनपरि अंक दिए’ वा ‘आफ्नो/बिरानो गरे’ भनेर सामाजिक सञ्जालमा टिप्पणी उपयुक्त लाग्दैन ।

हो, एउटा तथ्याङ्क घुमिरहेको छ, सामाजिक सञ्जालमा । २०७५ सालको एईईमा जीपीए–४ ल्याउने बिद्यार्थीको संख्या १०६ जना थियो तर यस बर्ष ९३१८ जनाले जीपीए–४  ल्याए । गत बर्षभन्दा यस बर्ष झण्डै ८८ गुणा बढी राम्रो नतिजा आएको छ, जवकी २०७४ को भन्दा २०७५ मा १.४३ गुणा बढी बिद्यार्थीले मात्रै जीपीए–४ ल्याएका थिए । यसले शिक्षकहरुप्रति वा विद्यालयप्रति वा परीक्षाफल सार्वजनिक गर्ने निकायप्रति संका गर्ने सुविधा चाँही दिएको छ ।

तर, नतिजाकै कारण सवै शिक्षकहरुलाई सामाजिक सञ्जालमा होच्याउनैपर्ने, गाली गर्नै पर्नेजस्तो लाग्दैन । यदि असहमति हो भने पनि सभ्य भाषामा राख्न सकिन्छ, विवेकहीन भएर होइन । शिक्षकहरुले अपराध गरेका होइनन्, उनीहरुलाई दिएको जिम्मेवारी पूरा गरेका हुन् । इमानदार शिक्षकले आफ्ना शिष्यहरुलाई माया गर्छ । तर, यसको अर्थ गलत मूल्याङ्कन कदापि गर्दैन ।

शिक्षक, बिद्यालय, सरकार वा परीक्षाफल प्रकाशन गर्ने निकायहरुलाई कुनै न कुनै बहाना बनाएर दोषी देखाउन सकिएला, किनकि हामीहरु “अरुमा खोट देख्न” खप्पिस् हुन्छौं । तर, बिद्यार्थीहरुलाई कसरी खोट देखाउने हो ? ल नजान्ने बिद्यार्थीको जीपीए–४ आयो रे, के बिद्यार्थीले आफुले आफैलाई अंक दिएको हो, के बिद्यार्थीहरुले नतिजा स्व–घोषणा गरेको हो ?वा नतिजा प्रकाशन गर्नेलाई कुनै परिवन्धमा पारेको हो ?

शिक्षाकै क्षेत्रमा लामो यस बिताएका, सामाजिक अभियन्ता भनेर पहिचान वनाएका व्यक्तिहरुले समेत परिस्थितिको ठोस् बिश्लेषणै नगरि एकोहोरो रुपमा बिद्यार्थीहरुको आत्मबल गिर्ने गरि, बिद्यार्थीहरुलाई अपाराधबोध हुने गरि सामाजिक सञ्जाल रंगाएकोप्रति दुःख छ ।

कतिपय बिद्यार्थीहरु परीक्षा दिन नपाएकोमा वा आफ्नो प्रतिभा देखाउन नपाएकोमा आफै पनि अप्ठेरो महसुस गरिरहेका छन् । उनीहरुलाई के के पो भयो भन्ने परेको छ । यस्तो अवस्थामा उनीहरुलाई हौसला दिनुको सट्टा, उनीहरुलाई भविश्यको बाटो पहिल्याउन मद्दत गर्नुको सट्टा, अभिभावकहरुलाई उत्साहित हुने गरी प्रतिक्रिया दिनुको सट्टा, झन उल्टो “अपराधी” प्रमाणित गर्ने गरी आइरहेका यी अभिव्यक्तिले हामीमा अब सकारात्मक सोच छैन भन्ने कुरा प्रमाणित गरेको छ ।

त्यसैले एकपटक सबैले सोच्न जरुरी के छ भने ती बालबालिका, जसले भर्खरै एसईई पूरा गरे, उनीहरु सबै हाम्रा भविश्य हुन्, हाम्रो भविश्य राम्रो बनाउनका लागि हामी सबै जिम्मेवार छौं भन्ने सोचौं । होच्याउने होइन, हौसला भरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?