Comments Add Comment

सीपीएल : ट्रिनबागो र जुक्सको लगातार तेस्रो जित

८ भदौ, काठमाडौं । ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा लगातार तेस्रो जित हात पारेको छ ।

कप्तान किरण पोलार्ड कोलिन मनरो र डारेन ब्राभोले उत्कृष्ट ब्याटिङ गरेको खेलमा ट्रिनबागोले साविक विजेता बार्बेडोस ट्राइडेन्ट्सलाई १९ रनले पराजित गरेको हो । यस्तै सेन्ट लुसिया जुक्सले पनि गायनालाई हराएर लगातार तेस्रो जित हात पारेको छ ।

लगातार ३ खेल जितेको ट्रिनबागो ६ अंकसहित शीर्ष स्थानमा उक्लेको छ । ट्रिनबागो यस सिजन अपराजित एक्लो टिमसमेत हो । साविक विजेता बार्बेडोसको भने यो लगातार दोस्रो हार हो । ३ खेल खेल्दा बार्बेडोसले एक खेल मात्र जितेको छ ।

ट्रिनबागोले दिएको १८६ रनको लक्ष्य पछ्याएको बार्बेडोसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो । ओपनर जोहनसन चार्ल्सले अर्धशतक प्रहार गरेपछि बार्बेडोसले लक्ष भेट्न सकेन । चार्ल्सले ३३ बल खेल्दै ४ चौका ३ छक्का मद्दतमा ५२ रन बनाए । यस्तै अर्को ओपनर शाई होपले ३६ रन जोडे । कप्तान ज्यासन होल्डरले अविजित ३४ रन बनाए । एस्ले नर्सले २१ रन जोडे ।

त्यअघि ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा पहिले ब्याटिङ गरेको ट्रिनबागोले २० ओभरमा ३ विकेट गुमाएर १८५ रन बनाएको थियो । ट्रिनबागोका लागि कोलिन कनरो र डारेन ब्राभोले अर्धशतक प्रहार गरे । मनरोले ३० बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा ५० रन बनाए ।

यस्तै डारेन ब्राभोले अविजित ५४ रन जोडे । उनले ३६ बल खेल्दै ४ चौका र ४ छक्का प्रहार गरे । यस्तै कप्तान पोलार्डले आक्रमक ब्याटिङ गर्दै अविजित ४१ रन बनाए । उनले १७ बल खेल्दै १ चौका र ४ छक्का प्रहार गरे ।

ओपनर लेन्डन सिमोन्सले २१ रन जोडे । यसअघि लगातार दुई अर्धशतक प्रहार गरेका सनिल नारिन भने ८ रन बनाएर आउट भए ।

जुक्सको रोमाञ्चक जित

पहिलो खेलमा पराजित भएपनि लगातार तेस्रो जित हात पार्ने क्रममा सेन्ट लुसिया जुक्सले गायाना अमेजन वारियर्समाथि १० रनको रोमाञ्चक जित हात पारेको छ ।

गएराति भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जुक्सले रोस्टन चेसको अर्धशतक मद्दतमा २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको थियो । चेसले ६६ रन बनाए । यस्तै मोहम्मद नावीले २७ रन योगदान गरे । गायानाको इमरान ताहिरले ३ र ओडेन स्मिथले २ विकेट लिए ।

जवाफमा निकोलस पुरनले अर्धशतक प्रहार गरेपनि गायानाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । गायनाका लागि पुरनले सर्वाधिक ६८ रन बनाए । तर अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा यस सिजन दोस्रो हार बेहोरेको छ ।

जुक्सका लागि स्कट कुगेलाइनले ३ तथा केमार होल्डर केसरिक विलियम्सले २-२ विकेट लिए । गायानालाई हराएर लगातार तेस्रो जित हात पारेको जुक्सले ४ खेलबाट ट्रिनबागो समान ६ अंक नै जोडेको छ । तर रनरेटमा ट्रिनबागो अघि रहँदै पहिलो स्थानमा छ भने जुक्स दोस्रो स्थानमा छ । ४ खेलबाट ४ अंक नै रहेको गायना तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment