Comments Add Comment

नेपालीको युरोप सपना

लाखौं ऊर्जाशील नेपाली बाध्यता वा रहरले विदेशमा छन् । अधिकांश युवाहरु जो अशिक्षा, गरिबी र बहिष्करणका कारण भारत  र खाडी देशहरुमा सस्तो मूल्यमा श्रम बेच्न बाध्य हुँदै आएका छन् भने हजारौं शिक्षित, निम्न मध्यम वर्गीय वा शहरीया युवाहरु अष्ट्रेलिया, अमेरिका, बेलायत र युरोपेली देशहरुमा अनगिन्ती सपना बोकेर पलायन हुने क्रम जारी छ ।

उता सरकार रेमिटेन्स अर्थतन्त्रमा मख्ख पर्दै स्वदेशमै युवा रोजगारीको प्रवद्र्धन, दिगो स्वाधन अर्थतन्त्रको बिकास तथा श्रम बजारको बिस्तार र व्यवस्था परिवर्तनको रुपरेखा कोर्न असफल हुँदै गएको छ ।

कोरोना संक्रमणसँगै संसारमा देखिएको आर्थिक संकटसँगै लाखौं नेपालीले भोग्नुपरेको समस्या र जटिलताप्रति सरकार बेखबर वा उदासिन छ । सरकारसँग सही तथ्याङ्क र सम्पर्क संजालसमेत नहुँदा हजारौं नेपालीको मृत्युको खबर र शवसमेत नेपाल लैजान कठिन बनेको छ ।

यस लेखमा विशेषतः युरोपका नेपाली कथा, खासगरी पोर्चुगलका नेपाली समुदायले भोगेका समस्या र तिनका युरोप सपनाबारे संक्षिप्त चर्चा गरिएको छ ।

राम भण्डारी

पोर्चुगलमा झण्डै ३० हजार नेपाली आप्रवासी नेपाली रहेको अनुमान छ । यहाँको आप्रवासन नीति तथा अन्य युरोपेली देशको तुलनामा सहजै हुने प्रवेश, दर्ता, नवीकरण, आवासीय अनुमति पाएसँगै परिवार ल्याउन पाइने र निरन्तर पाँच बर्षको नवीकरणपछि नागरिकता÷पासपोर्ट निवेदन दिन पाइने कारणले अन्य युरोपेली देशमा आएर बसेको कार्ड नभएका वैध, अवैध सबैखाले नेपालीको युरोप सपनाको अन्तिम गन्तव्य पोर्चुगल बनेको छ ।

थरीथरी नेपालीको जमघट

विभिन्न रुटबाट पोर्चुगल आइपुगेका नेपालीहरुमा आ–आफ्नै वर्ग र सम्बन्धहरु देखिन्छन् । तिनका कमाइ, जीवनशैली, सामाजिक–साँस्कृतिक व्यवहार नियाल्दा ठ्याक्कै नेपाली गाउँघरकै चित्र अगाडि आउँछ । पोर्चुगलमा औसत मासिक कमाइ ६ सय युरोदेखि १ हजार युरोसम्म हुन्छ, त्यही पनि औपचारिक आवासीय अनुमति नभएकालाई सजिलो छैन ।

सामान्य गुजारा गर्नेदेखि थोरै सम्पन्न परिवारहरु मेहनत गरेर सामान्य जीवनयापन गर्दै आएका छन् । केही व्यवसायिक र थोरै सफल उद्यमीहरु पनि भेटिन्छन् । अधिकांश युवाहरु जे पृष्ठभूमिका भएपनि ३÷४ थरी मजदुरी गर्नेहरु नै छन् । होटल, रेष्टुरेण्ट, घरायसी काम, कृषि, ट्याक्सी÷उवर र साना पसल नेपाली समुदायका पेसा हुन् ।

पोर्चुगल पर्यटनमा धेरै आकर्षक गन्तव्य हो । कोरोना संक्रमणसँगै पर्यटन व्यवसाय तहस–नहस भएपछि थृुप्रै होटल, होस्टेल, रेष्टुरेण्टहरु बन्द हुने स्थितिमा छन् । हजारौं नेपालीले रोजगारी गुमाउनु परेको छ । यसको असर देखिने क्रम जारी छ । अभाव, बेरोजगारी, वितृष्णाले उब्जाएका व्यक्तिगत, पारिवारिक तथा मानसिक तनाब र छटपटी सतहमा देखिन थालेका छन् ।

५ देखि १५ लाखसम्म खर्च गरेर पोर्चुगल आएका शिक्षित, अशिक्षित युवाहरुको युरोप सपना जब अन्तहिन संघर्षमा प्रवेश गर्छ, अनि बल्ल आफ्नो देश, समाज र स्वाधिनता गफगाफका विषय बन्छन् । त्यहीनेर केही टाठाबाठाहरु राजनीति, ठगी र बेइमानी शुरु गर्न थाल्छन् । १० बर्षदेखि निरन्तर संघर्ष गरिरहेका, एकपटक पनि नेपाल नफर्केका अमन (नाम परिवर्तन) यसरी गुनासो गर्छन् ।

‘पोर्चुगलका नेपाली दलालहरुले हामी नेपालीलाई यसरी फसाए कि जसको ठगीको जालो नेपालसम्मै छ ।’ अमन भन्छन्, ‘१०–१५ लाख खर्च गरेर आएपछि हाम्रो जीवन फेरि फर्कने नसक्ने गरी भासिन्छ । अनि उठ्न गाह्रो पर्छ । त्यसैले म न त देश फर्कन सकें, न त युरोप सपना नै पूरा भयो । बर्षौंदेखि काममा घोटिएकै छु । ऋण तिर्नै सकिएन । यति हुँदा पनि न यो श्रृङ्खला रोकियो, न त ठगीको जालो नै तोडियो ।’

यस्ता सयौं कथाहरु छन् । काठमाडौं, दिल्ली र लिस्वनको ठगी धन्दा माल्टा, ग्रीस, टर्की, दुबई, इटली, स्पेन, पोल्याण्ड हुँदै सिंहदरबारसम्मै जोडिएका कुरा एनआरएनका पात्र र प्रवृत्तिले पनि उजागर गर्छ । हालसालै ठगी धन्दाकै आरोपमा माल्टास्थित सिंगो एनआरएनले राजीनामा दिएको छ ।

गत एक महिनाको अवधिमा माल्टाबाट झण्डै २ हजार नेपाली कामदार पोर्चुगल आएको देखिन्छ । त्यसैगरी पोल्याण्ड, ग्रीस, इटली, स्पेन हुँदै पोर्चुगल आएकाहरुसँग सोध्दा हरेक प्रक्रियामा ठगिएको बताउँछन् । युरोपमा बेलायतपछि सबैभन्दा धेरै नेपाली भएको पोर्चुगलमा अहिलेसम्म नेपाली दूतावास छैन । दूतावास नहुँदा नेपालीले भोग्नुसम्म समस्या भोगेका छन् ।

नेपाल सरकार, परराष्ट्र मन्त्रालय यहाँका समस्यासँग बेखबर रहनु, नेपाली समुदायको हितमा काम गर्न नसक्नु तथा नेपालदेखि ठगी धन्दा रोक्न पहल नगर्नु ठूलो बिडम्बना हो ।

त्यसैगरी भर्खर स्तरोन्नती भएको महावाणिज्यदूतको कार्यालय प्रभावकारी नहुनु, नेपाली समुदायले भोगेका समस्याप्रति बेसरोकार बन्नु दुःखद पक्ष हो । झण्डै पाँच दर्जन बढी संघ÷संस्थाहरु विभिन्न दल, क्षेत्र, वर्गसँग संवन्धित छन् । तर, यहाँ आइपुगेका, बसोबास गरिरहेका समस्याग्रस्त नेपालीका बारेमा प्रतिनिधित्व गर्नेहरु नगण्य छन् ।

ठगी र शोषणका कहानी, सामाजिक विकृति तथा पारिवारिक विघटनका कथा, बालबच्चाका शिक्षा, सीप, प्रविधि, भाषा तथा युरोपेली समाजको लयमा अन्तर्घुलित हुने तर्फ बेलैमा सबै समुदाय तथा सम्वन्धित निकाय सचेत हुनुपर्छ ।

सरकारले बेलैमा युरोपका नेपालीले भोग्नुपरेका अवर्णनीय समस्या समाधान गर्न गम्भीर भएर लाग्नुपर्छ । होइन भने नेपालीको युरोप सपना भत्किरहने मात्र होइन, अन्तहिन यात्रामा फस्न जाने निश्चित छ ।

(भण्डारी पोर्चुगलमा बसोबास गर्छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment