Comments Add Comment

कोरोनाबाट ७ जनाको मृत्यु, ७४३ संक्रमित थपिए

८ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । काठमाडौंका २ जना, सुनसरी, मोरङ, पर्सा, सिराहा, धनुषा र रुपन्देहीका एकएक जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १६३ पुगेको छ ।

  • काठमाडौंको कागेश्वरी–९ की ४८ वर्षीया महिलाको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । मुटु, मिर्गौला र पित्तथैलीको समस्या लिएर २८ साउनमा अस्पताल भर्ना भएकी उनलाई त्यहीदिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • काठमाडौंकी ७४ वर्षीय कोरोना संक्रमित पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनी भदौ ६ गते अस्पताल भर्ना भएका थिए ।
  • मोरङको विराटनगर–८ का ६५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । आइतबार कोरोना पुष्टि भएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि त्यही दिन अस्पताल भर्ना भएका थिए ।
  • पर्साको बिन्दबासिनी गाउँपालिका–३ की ७० वर्षीया बुद्धाको मृत्यु भएको छ । क्षयरोगबाट पीडित उनलाई श्वासप्रश्वासमा समस्या भएपछि शनिबार नारायणी अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा कोरोना पुष्टि भएपछि नारयणीकै आईसीयूमा सारिएको थियो ।
  • सिराहाका २२ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । श्वास प्रश्वासको समस्या लिएर २ भदौमा भर्ना भएका उनको संक्रमण पुष्टिपछि आईसीयूमा उपचार भइरहेको थियो ।
  • धनुषाका ७६ वर्षीय कोरोना संक्रमित पुरुषको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनी साउन २५ गते अस्पताल भर्ना भएका थिए ।
  • रुपन्देही, बटवलका ५४ वर्षीय पुरुषको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मृत्यु भएको छ । उनी मिर्गौला रोगबाट पीडित थिए ।

७४३ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । उनीहरुमध्ये १८ हजार ८०६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७५ जना डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment