Comments Add Comment

चितवनमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी

१०, भदौ, चितवन । चितवनमा कोभिड–१९ संक्रमित भएर जटिल अवस्थामा रहेको बिरामीको प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । त्यसका लागि अस्पताल तथा क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले तयारी गरिसकेका छन् ।

निषेधाज्ञा र लकडाउन गरिए पनि कोरोनाका गम्भीर बिरामी थपिने क्रम बढ्दै गएको छ । करिब तीन सातामा आईसीयूमा उपचार आवश्यक पर्ने बिरामीको संख्या तीन गुणा भन्दा धेरैले बढेको छ ।

भरतपुर अस्पतालका कोभिड उपचार संयोजक डा. प्रमोद पौडेलले अस्पतालले आईसीयूमा रहेका संक्रमित बिरामीको उपचारमा प्लाजा थेरापी विधि अवलम्वन गर्ने तयारी गरेको बताए । भरतपुर अस्पतालको आईसीयूमा अहिले ७ जना संक्रमित राखिएका छन् । तीमध्ये एक जनाको अवस्था जटिल तर सुधारउन्मुख छ ।

‘अस्पतालले अहिलेसम्म उपचारमा म्यानेज गरिरहेको छ तर, प्लाज्मा थेरापीबाट पनि उपचार गराउने तयारीमा लागिरहेका छौं’ डा. पौडेलले भने, ‘त्यसका लागि क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरलाई पनि तयारी गर्न भनेका छौं ।’

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले संक्रमण निको भएर १४ दिन कटेका बिरामीको रगतबाट प्लाज्मा निकालेर उपचार गरिने बताए । अहिले संक्रमित भएर निको भएकाहरुको नाम, सम्पर्क नम्बर र रगत समूहको सूची बनाउने काम भइरहको छ ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेश पौडेलले प्लाजा थेरापीका लागि पूर्वतयारी सकेको बताए । केन्द्रले विहान ८ बजेबाट साँझ ५ बजेसम्म प्लाज्मा निकाल्ने र दिने काम गर्ने गरी तयारी गरेको पौडेलले बताए ।

‘हामीसँग संक्रमित भएर निको भएकाहरुको विवरण छैन, उनीहरुको रगत समूह पनि थाहा छैन, त्यसको विवरण भरतपुर अस्पताल वा सम्बन्धित निकायले दिनुपर्छ’ केन्द्रका प्रमुख पौडेलले भने, ‘केन्द्रका तर्फबाट गर्नुपर्ने सबै तयारी सकेका छौं ।’

यो विधिमा एउटै रगत समूह भएको बिरामीलाई कोरोना निको भएको व्यक्तिबाट दिइने रगतबाट निकालिने प्लाज्मा दिएर उपचार गरिन्छ । रगतबाट प्लाज्मा निकाल्न एक घण्टा लाग्छ । एक पोका ३५० एमएल रगतबाट ५५ प्रतिशत प्लाज्मा निकाल्न सकिने केन्द्रका प्रमुख पौडेलले बताए ।

‘कोरोना निको भएको व्यक्तिको स्वास्थ्य परीक्षण, मनो परामर्श लगायतका कामका लागि एक जना चिकित्सक पनि उपलब्ध गराउनुपर्छ, मुखले वा भावनाले मात्रै भनेर त भएन’ केन्द्रका प्रमुख पौडेलले भने, ‘हामीले त मिडिएटरको काम गर्ने हो, कुन बिरामीलाई आवश्यक हो, सबै जानकारी उहाँहरुले नै राख्नुपर्ने हुन्छ ।’ भरतपुर अस्पतालले डा. कल्याण सापकोटालाई रेडक्रससँग समन्वय गरेर निको भएका संक्रमितको जाँच र परामर्श गर्ने जिम्मा तोकेको छ ।

सबैभन्दा धेरै ११ जना कोरोना संक्रमितलाई आईसीयूमा राखेको चितवन मेडिकल कलेजले पनि प्लाज्माथेरापीबाट उपचार गर्न मन्त्रालयसँग स्वीकृति माग गरेको छ । ११ जनामध्ये ४ जना भेन्टिरलेटरमा छन् ।कलेजका अध्यक्ष एवम् प्रवन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले क्रिटिकल अवस्थाका बिरामीको उपचारमा प्लाज्मा थेरापीबाट उपचार गराउन आवश्यक तयारी गरिरहेको बताए ।

चितवनमा १३० जना कोरोना संक्रमणमुक्त बनेका छन् । तर, निको भएकाहरु रगत दिन इच्छुक नहुने समस्या आउन सक्ने देखिएको छ । स्वास्थ्यकर्मीहरु प्लाज्मा दिन तयार भए पनि अन्य निको भएका संक्रमित त्यसमा त्यति सकारात्मक देखिएका छैनन् । भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार निको भएका संक्रमित रगत दिन डराउने, हिच्चकिच्चाउने नमान्ने अवस्था छ ।

‘भर्खरै यति ठूलो संक्रमणबाट निको भएको छु कहाँ रगत दिने भन्नुभएको पाएँ’ डा. अधिकारीले भने, ‘उहाँहरुको स्वास्थ्य जाँच गरेर, मनोपरामर्श गरेर मात्रै रगत निकाल्छौं, गम्भीर ब्यक्ति जोगाउन उहाँहरुको पनि दायित्व हुन्छ जस्तो लाग्छ ।’

कहिले आउँछ चितवनमा रेमडिसिभिर औषधि ?

कोराना संक्रमित गम्भीर बिरामीहरुको उपचारमा चलाइने गरिएको रेमडिसिभिर औषधिलाई चितवन ल्याएर चलाउने तयारी गरिएको छ । गएको भदौ ५ गते नेपाल भित्रिएको औषधिलाई औषधि व्यवस्था विभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले परीक्षणका लागि चलाउने अनुमति दिएका छन् ।

भारतबाट ल्याएको रेमडिसिभिर औषधि ह्याम्स अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नर्भिक अस्पताल, बीएण्डबीलगायत १२ भन्दा बढी अस्पतालमा वितरण भइसकेको छ ।

चितवनमा भरतपुर अस्पतालले पनि औषधीका लागि पत्रचार गरिसकेको छ । अस्पतालका कोभिड संयोजक डा. प्रमोद पौडेलले अस्पतालका लागि आवश्यक औषधिको माग गरिएको बताए । अब केहीदिनमा नै औषधि आउने विश्वास डा. पौडेलको छ ।

श्वासप्रश्वासको समस्या भई आईसीयूमा उपचारमा रहेका संक्रमितलाई मात्र रेमडिसिभर औषधि चलाइने चिकित्सकले बताएका छन् ।

यस्तै, चितवन मेडिकल कलेज भरतपुरले पनि रेमडिसिभिर औषधि बिरामीलाई चलाउन स्वीकृति र औषधीको माग गरेको छ । अस्पतालका प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानले आजभोलिमा नै अनुमति प्राप्त हुने बताए ।

यसअघि गम्भीर अवस्थाका कोभिड–१९ का बिरामीका लागि उनका आफन्तहरुले आफ्नै प्रयासमा यो औषधि ‘जुगाड’ गरी प्रयोग गर्दै आएका थिए । एक भाइल औषधिको ७ हजार ६०० नेपाली रूपैयाँ पर्ने बताइएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वीकृत दिएका कोभिड अस्पतालले मात्र बिरामीमा औषधिको परीक्षण गर्न पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment