Comments Add Comment

कोरोनाबाट ८ जनाको मृत्यु, थपिँदैछन् गम्भीर बिरामी

१० भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

बाराका दुई जना तथा काठमाडौं, भक्तपुर, कैलाली, महोत्तरी, बाँकेमा एकएक जनाको मृत्यु भएको हो । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८० पुगेको छ ।

  • काठमाडौंका ५४ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
  • भक्तपुरको सूर्यबिनायक–८ की ५३ वर्षीया महिलाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई चार दिनअघि मात्र धुलिखेल रिफर गरिएको थियो ।
  • मोरङको बिराटनगर–११ का ४४ वर्षीया महिलाको बिराट मेडिकल कलेजमा मृत्यु भएको छ ।
  • कैलालीका ४५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा मृत्यु भएको छ । निसर्ग अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मंगलबार साँझ मात्र सेती अस्पतालको आईसीयूमा सारिएको थियो ।
  • महोत्तरीका ६० वर्षीय पुरुषको बिराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको छ । ३१ साउनमा अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको आइतबार पुष्टि भएको थियो ।
  • बाँकेको नेपालगञ्ज–१ का ३७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको ८ भदौमा पुष्टि भएको थियो ।
  • बाराको कलैया–१ का ६६ वर्षीय पुरुषको वीरगञ्ज हेल्थकेयर कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । स्वास्थ्य प्रश्वासमा समस्या भएपछि २ भदौमा अस्पताल भर्ना भएका उनलाई संक्रमण रहेको त्यही दिन पुष्छि भएको थियो ।
  • बाराकै बिश्रामपुर–१ का ४२ वर्षीय पुरुषको पनि वीरगञ्ज हेल्थकेयर कोरोना अस्पतालमै मृत्यु भएको छ । मिर्गौला रोगबाट पीडित उनलाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए र ९ भदौमा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।

थपिँदैछन् गम्भीर बिरामी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा गरी १४ जना भेल्टिलेटरमा छन् भने १५१ जना आईसीयूमा छन् ।

यसअघि बाग्मती प्रदेशमा मात्र संक्रिमितलाई भेल्टिलेटरमा राख्नु परेको थियो । तर बुधबार प्रदेश एकमा एक जना भेल्टिलेटरमा रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । बाग्मती प्रदेशमा १३ जना भेल्टिलेटरमा छन् ।

यस्तै प्रदेश १ मा १६ जना, २ मा ४४ जना, बाग्मतीमा ७१ जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश ५ मा १७ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ ।

जबकी साउन १९ मा १ जना मात्र भेल्टिलेटरमा थिए भने आईसीयूमा २६ जना संक्रमित थिए । भेल्टिलेटर तथा आईसीयूमा राख्नुपर्ने संक्रमितको संख्या बढेसँगै मृत्युदर पनि बढेको छ । साउन १९ मा ०.३ प्रतिशत रहेको मृत्युदर भदौ १० मा ०.५ मा पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

८५५ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार २५३ नमुना परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये काठमाडौं उपत्यकामा मात्र ३०१ जना संक्रमित थपिएका छन् ।

यससँगै संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । उनीहरुमध्ये १९ हजार ५०४ जना संक्रमणमुक्त भइसकेका छन् भने १४ हजार ७३९ आइसोलेसनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment