
१० भदौ, वीरगञ्ज । वीरगञ्जमा एकैदिनमा ६६ जनाले कोरोना संक्रमण निको भई घर फर्किएका छन् ।
वीरगञ्जस्थित दुई वटा कोभिड अस्पताल, सेमी तथा सामुदायिक आइसोलेसन सेन्टर र होम आइसोलेसनमा बसेका ६६ जनाको पछिल्लो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ ।
यो सँगै पर्सामा ४ सय ४४ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् ।
वीरगञ्जमा अस्थायी कोभिड अस्पताल गण्डक, वीरगञ्ज हेल्थ केयरमा संक्रमित उपचाररत छन् । कलवार धर्मशाला, होटल रानीपोखरी लगायतका सामुदायिक आइसोलेसन सेन्टर र होम आइसोलेसनमा संक्रमितलाई राखिएको छ ।
विभिन्न उमेर समूहका ६६ जनाले कोरोना जितेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।
वीरगञ्ज हेल्थ केयरबाट मात्रै ३३ जना डिस्चार्ज भएका छन् । कलवार धर्मशालामा रहेका १६ जना प्रहरी कर्मचारी पनि डिस्चार्ज भएका पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।
१९ जना संक्रमित थपिए
पर्सामा बुधबार १९ जना संक्रमित थपिएका छन् । योसँगै पर्सामा संक्रमितको संख्या १ हजार ९ सय ९८ जना पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ५४ छ । पर्सामा कोभिड–१९ का कारण ३१ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया 4