Comments Add Comment

‘कोभिड र नन-कोभिड बिरामी कसले छुट्टाउन सक्छ ?’

११ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारी कोरोना संक्रमित भएर भरतपुर अस्पतालमै उपचाररत छन् । अस्पतालको क्याविन नं. १०७ मा उपचार गराइरहेका मेसु डा. तिवारीलाई अहिले पहिलको भन्दा स्वास्थ्य निकै राम्रो हुँदै गैरहेको छ । खोकी लाग्ने र घाँटीको समस्या पनि कम हुँदै छ ।

‘अहिले केही कम हुँदै गएको महसुस भएको छ, टाउको दुख्ने, थकाइ लाग्ने, जाँगर नहुने, ज्वरो आउने, खाने कुराको स्वाद थाहा नपाउने जस्ता समस्या कम भएको छ,’ डा. तिवारीले भने, ‘खोकी पनि कम भएको छ, केही दिनअघि त बोल्नसमेत मिलेको थिएन ।’

अस्पतालको दैनिक कार्य सञ्चालनमा खटिने क्रममा उनलाई अघिल्लो आइतवार कोरोना संक्रमण पुष्टि भएको हो । डा. तिवारी अस्पतालकै पुरानो क्याविनमा बसेर उपचार मात्रै गराइरहेका छैनन््, प्रशासनिक काममा सुझाव, परामर्श र निर्देशन दिने काम पनि गरिरहेका छन् । निमित्त मेसुको जिम्मेवारी डा.जगन्नाथ तिवारीलाई दिएका छन् । अस्पतालकै डा.प्रमोद पौडेल, अध्यक्ष डा.भोजराज अधिकारीले पनि अस्पतालका दैनिक कामकाजमा सहयोग गरिरहेका छन् ।

कोभिड र नन-कोभिड बिरामीलाई एकैठाउँमा मिसाएर उपचार गर्न नहुने भन्दै गरेको तर्क व्यवहारिक नभएको उनको धारणा छ

अस्पतालका सिनियर चिकित्सक र नर्सहरूलाई कोरोना संक्रमण देखिएपछि साउन ३२ गतेबाट प्रभावित बनेका अस्पतालका सेवाहरु पुनः सञ्चालनमा आएका छन् ।

अस्पतालका  चिकित्सक, नर्स, परामेडिक्स, प्राविधिक र कार्यालय सहयोगी गरी १५ जनामा कोरोना संक्रमण भएको छ । संक्रमित स्वास्थ्यकर्मी कोही होम आइसोलेसनमा छन् भने कोही अस्पतालमै छन् ।

अस्पतालका मेसु डा. तिवारीले बिरामीलाई उपचारमा कुनै खालको समस्या सकभर नहुने गरी सेवा प्रवाह गर्न निर्देशन दिइएको बताए । अनलाइनखबरसँग कुरा गर्दै मेसु तिवारीले अस्पतालको आइसोलेसनमा रहेका ठूलो संख्यामा चिकित्सक र नर्सहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि सेवा यथावत सञ्चालन भएको बताए ।

भरतपुर अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी आउने गर्दछन् । बिरामीबाट नै स्वास्थ्यकर्मीमा संक्रमण फैलिएको अनुमान गरिएको छ । अस्पतालका विभिन्न सेवा दिने ठाउँ निर्मलीकरणसमेत गरिसकिएको छ । ‘सुरक्षा सावधानी अपनाएर आएका बिरामीलाई सेवा दिएका छौं,’ डा. तिवारीले भने, ‘अहिलेको कोभिडको चाप सरकारी अस्पतालले मात्रै धान्न सक्दैन, सबैको साथ र सहयोग आवश्यक छ ।’

निजी मेडिकल कलेज तथा अस्पतालहरूले कोभिड र नन-कोभिड बिरामीलाई एकैठाउँमा मिसाएर उपचार गर्न नहुने भन्दै गरेको तर्क व्यवहारिक नभएको उनको धारणा छ । ‘कोभिड र नन-कोभिड बिरामी भनेर कसरी निजी अस्पतालले छुट्टाउन सक्छन् र ? लक्षण नभएका, अन्य रोगले उपचार लिएर आएकाहरुमा पनि कोरोना देखिएको छ,’ डा. तिवारीले भने, ‘अप्रेसन गर्न तयार गरेको बिरामीमा पनि कोरोना देखिएको छ, कोरोना भएको पहिल्यै थाहा भए त चेक गर्नु पनि पर्दैनथ्यो नि, निधार हेरेर त थाहा हुन्न ।’

सरकारले भनेजस्तै निजी अस्पतालले २० प्रतिशत र मेडिकल कलेजहरुले एक तिहाइ बेड कोभिडका लागि छुट्टाएर उपचार गर्नैपर्ने डा. तिवारी बताउँछन् ।

कोरोना पोजेटिभ भएका स्वास्थ्यकर्मीमाथि समाजमा भैरहेका व्यवहारले आफूलाई दुःखी तुल्याएको डा. तिवारीले बताए । ‘डाक्टर आफैँले रोग फैलाएको त हैन नि, तपाईंहरुकै आफन्त बिरामीको उपचार गर्दा लागेको हो, जसलाई पनि हुनसक्छ,’ उनले भने, ‘मलाई पनि कोराना लागेका बेला अरुले यस्तै व्यवहार गरे कस्तो होला भन्ने सोच्नुपर्ला की !’

घर परिवार र ससाना बालबच्चा छाडेर बिरामीको सेवामा अहोरात्र खटेका स्वास्थ्यकर्मीलाई थप हौसला, माया र ऊर्जा थप्न सबैसँग डा. तिवारीले अनुरोध गरे । छिट्टै संक्रमणमुक्त भएर दैनिक प्रशासनिक र बिरामीको सेवालाई सहज बनाउन जुट्ने विश्वास आफूमा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment