Comments Add Comment

सहचालक बनाएर ल्याइन्छन् बिहारबाट श्रमिक

कोरोनाले औद्योगिक क्षेत्रकै बेहाल

११ भदौ, काठमाडौं । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको हुकुम फुडले पहिलो चरणको लकडाउन खुलेपछि आफ्ना कामदार फ्याक्ट्रीमा ल्यायो ।

आटा, मैदा र पिठोका परिकारहरु उत्पादन गर्ने उद्योगको कच्चा पदार्थ भारत र तराईका जिल्लाबाट काठमाडौंको फ्याक्ट्रीसम्म आउँथ्यो । खाद्यान्न उद्योग भएकाले सरकारले उद्योग चल्न दिएको थियो भने खुकुलो लकडाउनमा उद्योगबाट राम्ररी काम भएको थियो ।

एकाएक उद्योगका सवारी चालकलाई कारोनाको लक्षण देखियो । परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भयो । लगत्तै ती चालकका परिवारको परीक्षण गर्दा परिवारका सबै व्यक्तिमा संक्रमण देखियो ।

चालकको कन्ट्याक्ट ट्रेसिङ भइनसक्दै उद्योगका कामदारमा पनि कोरोनाको लक्षण देखियो । सबै कर्मचारीको पीसीआर परीक्षण गर्दा सात जना श्रमिकमा कोरोना पुष्टि भयो । यो घटना तीन साताअघि काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्रको हो ।

गहुँ बोक्ने ट्रकको खलासी बनेर काठमाडौं

एकै उद्योगका चालकदेखि अन्य सबै कर्मचारीलाई कोरोना देखिएपछि गरिएको खोजमा पत्ता लाग्यो– चालकबाहेकका सात श्रमिक भारतको बिहारबाट लुकीछिपी काठमाडौं आइपुगेका रहेछन् ।

उद्योग सञ्चालन गर्न कर्मचारी अभाव भएपछि सञ्चालकले लुकाइछिपाइ भारत र तराईका जिल्लाबाट कर्मचारी ल्याएको पाइएको ती उद्योगहरुको नियमनकारी संस्था औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।

‘तराईबाट आउने उद्योगको कच्चा पदार्थ गहुँ बोक्ने गाडीमा खलासी बनाएर भारतबाट संक्रमित भित्र्याएको र सोही सिलसिलामा चालक, उनको परिवार र उद्योगका अन्य कर्मचारी संक्रमित भएको पाइयो,’ लिमिटेडका एक अधिकारीले अनलाइनखबरसँग भने ।

सरकारी असहयोग

बालाजु औद्योगिक क्षेत्रमा ११७ वटा उद्योगहरु छन् । औद्योगिक कच्चा पदार्थदेखि अतिआवश्यक खाद्यान्न उत्पादन गर्ने उद्योगहरु यसै हातामा छन् ।

एउटा उद्योगका अधिकांश कर्मचारी संक्रमित भएपछि नमूनाको रुपमा कोभिड परीक्षण गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिए पनि सुनुवाइ नभएको औद्योगिक क्षेत्र उद्योगी महासंघले जनाएको छ । ‘औद्योगिक क्षेत्रमा त्रास फैलिएपछि उद्योग चल्ने वातावरण बनाउन हामीले परीक्षण माग ग¥यौँ तर सहयोग भएन,’ महासंघका अध्यक्ष देवराज तामाङले भने ।

ढिलै गरी भए पनि वडा कार्यालयको समन्वयमा एक सय किटबाट गरिएको परीक्षणमा संक्रमित फेला नपरे पनि पछिल्लो समय केही श्रमिकमा पुनः संक्रमण पाइएको तामाङले बताए । औद्योगिक क्षेत्रभित्रको बोटलर्स नेपाल र पूजा इन्टरनेश्नलका श्रमिकमा संक्रमण भेटिएको उनले बताए ।

…बरु तलब चाहिँदैन

औद्योगिक क्षेत्रभित्र लुकाइछिपाइ भित्र्याइएका श्रमिकका कारण जोखिम बढेपछि अन्य श्रमिक काम छाडेर हिँडेको औद्योगिक क्षेत्र उद्योगी महासंघले जनाएको छ । ‘बरु पैसा चाहिँदैन, जोखिममा काम गर्दैनौं भन्दै श्रमिकहरु हिँडे, लुकिछीपि आएका श्रमिक पनि दिनभरी उद्योगमा र राति कोठामा जान्छन्, हाम्रै उद्योगीले हामीलाई डुबाए,’ महासंघका अध्यक्ष तामाङले भने, ‘लुकेर आएकै श्रमिकले उद्योगबाट समुदायमा कोरोना पुर्‍याए, न उद्योग बच्यो न समुदाय ?’

कोभिड र श्रमिक हिँडेका कारण औद्योगिक क्षेत्रका ९० भन्दा धेरै उद्योगहरु बन्द भएका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।

‘पानी, दूध र केही बिस्कुटबाहेक अधिकांश उद्योग बन्द छन्,’ लिमिटेडका निर्देशक एवं सञ्चालन विभाग प्रमुख दिलिप श्रेष्ठले भने । सञ्चालनमा रहेका उद्योगको क्षमता पनि २५ प्रतिशतभन्दा धेरै नभएको उनको दाबी छ । ‘यस्तै अवस्था रहे मुख्य चाडपर्वमा अत्यावश्यक वस्तु पनि अभाव हुनसक्छ,’ श्रेष्ठले भने । श्रमिकको परीक्षण, आइसोलेसनसहितका सबै खर्च उद्योगी आफैंले व्यहोर्नु पर्ने भएपछि यसै त नचलेको उद्योगमा खर्च गर्नुभन्दा बन्द गर्न जाति भन्दै उद्योगमा ताला लगाएको लिमिटेडले जनाएको छ ।

देशैभरका औद्योगिक क्षेत्रमा संक्रमण

देशभरका १० वटा औद्योगिक क्षेत्रका ७५० अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगहरुमध्ये ४६५ वटा सञ्चालनमा आएको र तीमध्ये पनि करिब १० प्रतिशत मात्रै सञ्चालनमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । लकडाउन खुकुलो भएको बेला कूल उद्योगको ३५ प्रतिशत उद्योग सञ्चालन रहेको भएपनि उद्योगभित्रै संक्रमण फैलिएपछि धमाधम बन्द भएको सरकारी दाबी छ ।

भक्तपुर, बालाजु, राजविराज, धरान, हेटौँडा लगायतका औद्योगिक क्षेत्रका दर्जनौँ कर्मचारीहरुलाई कोरोना संक्रमण भएको पाइएको औद्योगिक क्षेत्र उद्योगी महासंघले जनाएको छ । संक्रमण भयावह भएको क्षेत्रबाट लुकीछिपी भित्र्याइएको श्रमिक नै उद्योगको मुख्य दुःख भएको र उद्योग हुँदै समुदायमा संक्रमण फैलिएको महासंघका अध्यक्ष देवराज तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment