Comments Add Comment

नेपाल एयरलाइन्सको जहाज उठाउन खरिदकर्ताको आनाकानी

३२ वर्ष पुरानो जहाज कवाडी बन्ने खतरा

११ भदौ, काठमाडौं । नेपाल एयरलाइन्ससँग बोइङ ७५७ (गण्डकी) खरिदका लागि बोलपत्र जितेको कम्पनीले जहाज नउठाएपछि समस्या भएको छ । पोल्याण्डको एमबीएस एयरक्राफ्टले बोलपत्रबाट सबैभन्दा बढी मूल्य राखेर यो जहाज खरिदको अनुमति पाएको थियो ।

कम्पनीले अहिले आएर खरिद सम्झौताका लागि आनाकानी गर्न थालेको नेपाल एयरलाइन्सका एक उच्च अधिकारीले बताए । ५७ लाख १० हजार अमेरिकी डलरमा खरिद गर्न यो कम्पनीले अनुमति पाएको थियो । बोलपत्र आह्वान गर्दा खरिद सम्झौता भएको ४५ दिनभित्र जहाज लगिसक्नु पर्ने प्रावधान थियो । बोलपत्रको छिनोफानो गत वर्ष पुसमै भएको हो ।

व्यवस्थापनले जहाज खरिदको अनुमति प्राप्त गर्नासाथ खरिदकर्ता कम्पनीलाई नेपाल बोलाएर जहाज जिम्मा लगाउन सकेन । त्यसको तीन महिनापछि कोरोना भाइरसको महामारी शुरु भयो । अहिले सोही कारण देखाउँदै कम्पनीले जहाज खरिदमा अनाकानी गरिरहेको हो ।

नेपाल एयरलाइन्स संचालक समिति सदस्य डिमप्रसाद पौडेल जहाज किनेको कम्पनीलाई कोरोना बाहना बनेको बताउँछन् । उनले भने, ‘अब उसलाई बाहना पनि भयो, अर्कोतर्फ संसारभर सस्ता जहाज जति पनि बिक्रिमा छन्, यो भन्दा सस्तो अर्को पायो होला ।’

यो कम्पनीले खरिदको जिम्मा पाएसँगै ५ प्रतिशत बैना रकम नेपाल एयरलाइन्सलाई दिइसकेको छ । कम्पनीले जहाज उठाउन नआएमा यो रकम जफत हुनेछ । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्का भने अहिले पनि कम्पनी सम्पर्कमै रहेको र बोलपत्र अनुसार नै जहाज सोही कम्पनीको जिम्मा लगाउने प्रयास भइरहेको बताउँछिन् ।

‘खरिद सम्झौताको अन्तिम तयारी भइरहेको बेला नेपालमा लकडाउन शुरु भयो, उनले भनिन्, ‘त्यसपछिको समय न हाम्रो हातमा रह्यो, न उसको ।’

आजभन्दा ६ महिना अगाडि निकै राम्रो अवस्थामा रहेको हवाई उद्योग अहिले विश्वभर नै संकटमा रहेका बेला त्यसको प्रभाव देखिन थालेको उनको भनाइ छ ।

कवाडी बन्ने खतरा

बोइङ ५७५ जहाजमा रोल्सरोयल कम्पनीका दुई इन्जिन छन् । इन्जिनका कतिपय पार्टपूर्जाको आयु जहाज उडे पनि नउडे पनि निश्चित समयमा सकिन्छ । त्यसपछि फेर्नुपर्छ । सोही कारण अहिले ग्राउण्डेड भएको जहाज अब तत्काल उडानयोग्य अवस्थामा छैन ।

केही पार्टपूर्जाको मर्मत वा परिवर्तन गरेपछि मात्र जहाज उडान योग्य बन्न सक्छ । एक पटक उडाएर निश्चित गन्तब्यसम्म लैजान सक्ने क्षमता भने यी इन्जिनमा छ । तर, जहाजलाई पूर्ण रुपमा उडानयोग्य बनाउन दुबै इन्जिन फेर्नुपर्छ ।

खरिद गरेको कम्पनीले यो जहाज लगेमा सम्पूर्ण जिम्मा सोही कम्पनीको हुन्छ । तर, बैना नै माया मारेर खरीदकर्ता कम्पनी नेपाल आएन भने यो जहाजको या त बिक्री भएको भन्दा पनि बढी रकम खर्च गरेर इन्जिन किन्नुपर्छ, या कवाडीमा बेच्नुपर्छ । यो दुबै अवस्थामा कम्पनीले ठूलो नोक्सानी बेहोर्नुपर्नेछ ।

त्यसकारण पनि सकेसम्म खरिदकर्ता कम्पनीलाई नै जहाज लैजान दवाव दिइने व्यवस्थापनका अधिकारीहरुको भनाइ छ । खरिद प्रक्रिया टुंगिसकेको अवस्थामा समेत बेलैमा जहाज जिम्मा लगाउन नसक्दा समस्या आएको उनीहरु स्वीकार गर्छन् ।

यो जहाज अहिले त्रिभुवन विमानस्थलको रिमोट पार्किङ वेमा राखिएको छ । यो पार्किङ वे विमानस्थलमा कुनै जहाज अपहरणमा परेमा, कुनै जहाजमा विस्फोटक पदार्थ भएको पाइएमा आकस्मिक रुपमा जहाज राख्न बनाइएको हो ।

यो जहाज बिक्री गर्दा समेत नेपाल एयरलाइन्सलाई निकै सकस भएको थियो । तीन पटकको बोलपत्र आह्वानपछि मात्र जहाज खरीद गर्ने कम्पनीको टुंगो लागेको थियो । यो जहाज ३२ वर्षअघि १५ सेप्टेम्बर १९८८ मा बनेको हो । त्यसबेला निगमले कम्पनीमा बन्दाबन्दैको नयाँ जहाज किनेको थियो । १ सय ९० सीट क्षमता बनाएर निर्माण गरिएको यो जहाज पछिल्लो समय भने डिसेम्बर २०१८ देखियता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ग्राउण्डेड अवस्थामा रहेको छ ।

चिनियाँ जहाजको चिन्ता

अहिले नेपाल एयरलाइन्समा पुराना जहाजको व्यवस्थापन टाउको दुखाई बनेको छ । ४५ अर्बभन्दा बढी ऋण बोकेर बसेको कम्पनीले पुराना जहाज र उपकरणहरुको व्यवस्थापन बेलैमा गर्न नसक्दा एकातर्फ सञ्चालन घाटा बढिरहेको छ भने ती उपकरण र जहाजको बिक्रीबाट आउने आम्दानीसमेत गुम्दै गएको छ ।

नेपाल एयरलाइन्सले चिनियाँ जहाज चलाउन नसक्ने निर्णय गर्दै विमानस्थलमा ग्राउण्डेड गरेको छ । नेपाल सरकारले यसको टुंग्गो दिइसकेको छैन । यी जहाज पनि बेलैमा बिक्री गर्न नसक्ने हो भने भोली कवाडीमा बेच्नु पर्ने र त्यसबेला त्यसको कुनै मुल्य नहुने चिन्ता नेपाल एयरलाइन्सका अधिकारीहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment