+
+

वलाङ गाउँका सूचना सम्वाहक अर्थात् कटुवाल बाजे

बिकास मरहट्टा बिकास मरहट्टा
२०७७ भदौ १२ गते ६:५५

१२ भदौ, गोरखा । ६९ औं बसन्त पार गरिसके उनले । अनुहारका छाला चाउरिसकेका छन् । बुढेसकालले छोए पनि अजिरकोट गाउँपालिका–२ वलाङका कृतिमान गुरुङको जोश र जाँगरलाई बुढ्यौलीले छोएको छैन । सूचनाको सम्वाहकको रुपमा उनी विगत २५ वर्षभन्दा बढी समयदेखि काम गर्दै आइरहेका छन् ।

गाउँमा उनी कटुवाल बाजे भनेर परिचित छन् । कटुवाल कराउँदै गाउँमा सूचना प्रवाह गर्नु उनको मुख्य काम हो । गाउँमा कुनै सूचना दिनुपरेमा सबैभन्दा पहिले उनकै खोजी हुन्छ । उनी छन् र त गाउँलेहरुले आवश्यक सूचना पाइरहेका छन् । उनी अहिले गाउँमा कोरोना भाइरस सम्बन्धी सचेतनामूलक सन्देश प्रवाह गर्न व्यस्त छन् ।

गुरुङ र तामाङको बसोबास रहेको वलाङ गाउँमा करिव ८४ घरधुरी छन् । सञ्चार माध्यमको सहज पहुँच छैन । सूचनाको स्रोत गुरुङ नै हुन् । गाउँघरमा हुने सामूहिक कार्यक्रम होस् वा जमघट, सबैलाई खबर गर्ने र जुटाउने जिम्मा उनकै हो । ‘गाउँमा कसैको विवाह व्रतवन्ध छ भने निम्तो दिने काम पनि उहाँले गर्नुहुन्छ,’ स्थानीय सुकमाया गुरुङले भनिन्, ‘सामाजिक काममा गाउँलेहरु जुट्नुपर्‍यो भने पनि कटुवाल कराउँदै सबैलाई खबर गर्दै हिँड्नुहुन्छ ।’ गाउँमा सामाजिक सुरक्षा भत्ता वितरणदेखि खोप लगायतका कार्यक्रम सञ्चालन हुनेबारे पनि कटुवालबाटै थाहा हुने उनले बताइन् ।

सूचना प्रवाह गर्दा उनी स्थानीय र नेपाली दुवै भाषा प्रयोग गर्छन् । ८४ घरधुरीसम्म सूचना पुर्‍याउन करिब दुई घण्टा लाग्ने कटुवाल गुरुङ बताउँछन् । ‘एकै ठाउँमा मात्र कराएर हुँदैन, चार ठाउँमा कराउनुपर्छ,’ उनले भने, ‘ठूलो गाउँमा एकपटक कराए पुग्छ, त्यसपछि स्कुल डाँडामुनि, स्कुल डाँडा र माथि सिरानमा गएर कराउँछु ।’ अन्य समयमा गाउँलेहरु कामका लागि घरबाहिर हुने भएकाले विहान भात खाने समय पारेर कराउनुपर्ने उनले बताए ।

माइक लगाएर कराउनुहुन्छ कि यत्तिकै भन्ने प्रश्नको जवाफ दिँदै उनी भन्छन्, ‘भए पो माइक लगाउने नि ! म मुखले यतिकै कराउने हो, नसुनेको जस्तो लाग्यो भने घरमै गएर पनि भनिदिन्छु ।’

सूचनाप्रवाह गरिदिन भन्दै गाउँका जेष्ठ तथा वुद्धिजिवी व्यक्तिहरुले भनेपछि मात्र कटुवाल गराउने उनी बताउँछन् । ‘जो कोहीले भन्दैमा म कराउदिनँ, गाउँलेहरुलाई मेरो विश्वास पनि हुनुपर्‍यो नि त ! त्यसैले गाउँका गन्यमान्य बुढाहरुले भनेपछि मात्र कराउने हो,’ उनले भने ।

कटुवाल कराएवापत यसअघि उनले अन्न पाउँथे । तर अहिले पैसा पाउँछन् । ‘पहिले वर्षमा एक घर बराबर एक पाथी कोदो पाउँथ्यो, तर अहिले एक घरले दुई सय ५० रुपैयाँ दिन्छन्,’ गुरुङले भने । कटुवाल पेशा गरेरै उनले छोराछोरी हुर्काइसके । अहिले गाउँमा गुरुङका बुढाबुढी बस्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?