Comments Add Comment

लमजुङका कोरोना संक्रमितको पोखरामा मृत्यु

१२ भदौ, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रको आइसोलेसन कक्षमा शुक्रबार एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बिहीबार प्रतिष्ठानमै स्वाब दिएर घर फर्किएका लमजुङको मध्यनेपाल नगरपालिका- ७  करापुटारका ५२ वर्षीय पुरुषलाई शुक्रबार उपचारका लागि ल्याउँदै गर्दा दिउँसो सवा १२ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

‘उहाँमा श्वासप्रस्वासमा धेरै नै समस्या भइसकेको थियो । प्रतिष्ठानको आइसोलेसन ल्याउँदै गर्दा उहाँ गेटमै ढल्नुभएको रहेछ, डेढघण्टा जति आइसोलेसनमा राखेपछि मृत्यु भयो,’ डा. अचार्यले भने ।

उनी उपचारका लागि ५ दिनअघि पोखरा आई पोखरा महानगरपालिका-१६ स्थित आफन्तकोमा बसेका पोखरा महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष जीवन आचार्यले बताए ।  बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब दिन पुगेका उनी स्वाब दिएर फेरि आफन्तकोमा नै फर्किएका थिए ।

शुक्रबार बिहान फेरि आफन्तसहित ५ जना महेन्द्र गुफादेखि एउटै गाडीमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेको वडाध्यक्ष आचार्यले बताए । ती ५ जनामध्ये मृतक र अर्का एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती व्यक्तिसँगै अस्पताल आउने जाने गरेका अरुको पनि परीक्षणको तयारी भइरहेको छ ।

मृतक पुरुष ५ दिन अगाडि टाउको दुखेको भन्दै उपचारका लागि लमजुङदेखि पोखरा आएका मध्य नेपाल नगरपालिका-७ का वडाध्यक्ष गगन घिमिरेले जानकारी दिए । उनी पूर्व भारतीय सैनिक हुन् । ‘उहाँको खुट्टामा अर्ध प्यारालाइसिस थियो । खुट्टा खोचाउँदै मर्निङ वाकमा हिँड्नुहुन्थ्यो,’ वडाध्यक्ष घिमिरेले भने ।

योसँगै पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि पोखरा महानगरपालिका- १६ का ८७ वर्षका वृद्ध र पोखरा महानगरपालिका- १९ का ६२ वर्षका पुरुषको मृत्यु भएको थियो ।

गण्डकी प्रदेशमा भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment