Comments Add Comment

मकवानपुरमा निषेधाज्ञाको स्वरुप परिवर्तन गरिने

१२ भदौ, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मनहरि गाउँपालिकामा जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञाको स्वरुप परिवर्तन गर्ने भएको छ ।

कडा निषेधाज्ञाले सर्वसाधारणको जनजीवन कष्टकर भएको गुनासो आएपछि यसलाई परिवर्तन गर्ने निश्कर्षमा स्थानीय प्रशासन पुगेको छ ।

साउन २६ गतेदेखि हेटौंडा उपमहानगरभरि र मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा प्रशासन कार्यालयले अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नपाइने गरी निषेधाज्ञाको आदेश जारी गरेको थियो । शुक्रबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले पनि निषेधाज्ञाको स्वरुप परिवर्तन गर्न सुझाव दिएको छ ।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बैठकको सुझावअनुसार निषेधाज्ञाको स्वरुप परिवर्तन गर्ने जानकारी दिए । हालको निषेधाज्ञा भदौ १५ गतेसम्मका लागि छ । त्यसपछि स्वरुप परिवर्तन हुने उनको भनाइ छ ।

केही दिनअघि नेपाली कांग्रेसले निषेधाज्ञाकै समयमा हेटौंडामा सार्वजनिक कार्यक्रम राखेको थियो । शुक्रबारको बैठकमा कांग्रेस जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले सधैंभरि निषेधाज्ञा राख्न नहुने भन्दै हेटौंडाका होटललाई क्वारेन्टिन र आइसोलेसनका रुपमा प्रयोग गर्नुपर्ने, परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने, तुरुन्त रिपोर्ट दिनुपर्ने, जसका लागि मेसिन खरिद गर्नुपर्ने, दक्ष र भरपर्दो चिकित्सक प्राविधिकको व्यवस्था गर्नुपर्ने बताए ।

बैठकमा नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ठले संक्रमित व्यक्ति नै बजारमा किनमेल गर्न जाने गरेको पाइएको भन्दै यसले झन् संक्रमण फैलिने खतरा बढेको बताए ।

पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप बिष्टले विहान ६ बजेदेखि साँझ ६ बजेसम्मको सिफ्टमा उद्योग संचालन गर्नुपर्ने, सार्वजनिक यातायात पूर्ण रुपमा रोक लगाउनुपर्ने, सीमा नाकामा कडाइ गर्नुपर्ने, स्वास्थ्यसम्बन्धी मापदण्डको कडा रुपमा प्रयोग गर्न लगाउने साथै स्थानीय तहहरु अहिले भन्दा बढी खटिनुपर्ने बताए ।

बैठकमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रणय उपाध्यायले कोरोना संक्रमण समुदायमै गइसकेकाले थप सजगता अपनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment