+
+

गोरखाकी कोरोना संक्रमित महिलाले जन्माइन् जुम्ल्याहा शिशु

सुवास पण्डित सुवास पण्डित
२०७७ भदौ १२ गते १७:२४

१२, भदौ, चितवन । चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् ।

भरतपुर अस्पतालको प्रसुति विभागका चिकित्सक डा. रामप्रसाद सापकोटाका अनुसार शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ ।

गोरखाको गोरखा नगरपालिका–१० छेवेटारकी ३७ बर्षकी गर्भवती महिलामा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी भदौ ८ गते अस्पताल भर्ना भएकी थिइन् । आमाको संक्रमण बच्चालाई नसरोस् भनेर अलग्गै राखिएको छ ।

आमाको कोरोना रिपोर्ट नेगेटिभ नआउँदासम्म आमा र बच्चालाई अलग्गै राखिने चिकित्सकहरुले बताए । प्रसुति विभागका चिकित्सक डा. सापकोटाले कोरोना संक्रमण नसरोस् भनी पूर्वतयारी गरेर अप्रेसन गरिएको बताए । अप्रेसनको नेतृत्व डा. जीवन परियारको टोलीले गरेको थियो ।

भरतपुर अस्पतालले कोरोना संक्रमित गर्भवतीको प्रसुतिका लागि अलग्गै अप्रेसन थिएटर, लेबर तथा वेटिङ रुप तयार गर्ने क्रममा रहेको डा. सापकोटाले बताए । ‘अब त यस्ता केसहरु आइ नै रहन्छन्, त्यसैले अलग्गै तयारी गर्नुपर्ने देखिएको छ’ डा. सापकोटाले भने ।

भरतपुर अस्पतालमा कोरोना संक्रमित महिलाको अप्रेसन गरिएको यो दोस्रोपटक हो । भरतपुर अस्पताल राजधानी काठमाडौंको प्रसुति गृहपछि सबैभन्दा बढी प्रसुति सेवा दिने अस्पताल हो । दैनिक औसत ४० जना महिलाले अस्पतालबाट प्रसुति सेवा लिँदै आएका छन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?