Comments Add Comment

भक्तपुरमा नबिकेपछि सडकमा फ्याँकियो दूध

१३ भदौ, काठमाडौं । निषेधाज्ञाका कारण बिक्री नभएपछि भक्तपुरको सूर्यबिनायकमा दूध सडकमा फ्याँकिएको छ । सूर्यबिनायक नगरपालिका-८ सूर्यविनायक चोकमा रहेको रानीकोट डेरीका सञ्चालकले बिक्री नभए पछि सडकमा दूध फ्याँकेका हुन् ।

किसानबाट संकलन गरेको दूध बिक्री ठप्प भएपछि शुभमाया श्रेष्ठ सञ्चचालक रहेको  डेरीले सडकमा खन्याइदिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले अनलाइनखबरलाई बताए ।

‘आज बिहान दूध पोखिएको जानकारी आयो, कारण बुझ्दा नबिकेर फ्याँकिएको भनेर सञ्चालकले जानकारी दिए,’ प्रवक्ता प्रहरी नायव उपरिक्षक गिरीले भने ।

भक्तपुरमा निषेधाज्ञाको समयमा बिहान ९ः१५ बजेसम्म मात्रै दूध तथा खाद्यन्न पसल सञ्चालन गर्न पाइन्छ । त्यस बाहेकका समयमा पानी र औषधिजन्य व्यवसाय मात्रै सञ्चालन गर्न पाइने भएकाले दूग्ध पदार्थको संकलन र बिक्री प्रभावित भएको छ ।

निषेधाज्ञाका कारण बिक्री घट्दा किसान र व्यवसायी दुवै मारमा परेको नेपाल डेरी एशोसिएसनले जनाएको छ । चार महिना लामो लकडाउनका कारण समस्यामा परेका व्यवसायी र किसानले साउन पहिलो हप्तादेखि केही राहात पाए पनि निषेधाज्ञाका कारण फेरि दूग्ध पदार्थ खपत ओरोलो लागेको एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए ।

‘बिहान ९ बजेसम्म खुल्न दिने भने पनि प्रहरीले बिहानैदेखि धरपकड थाल्छ, मानिसहरु बाहिर निस्कनै डराएका छन्, बिक्री ५० प्रतिशतमा घटेको छ,’ सापकोटाले भने ।

काठमाडौंमा दैनिक ७ लाख लिटर दूध खपत हुने गरेकोमा निषेधाज्ञाका कारण अहिले तीन लाख लिटर हाराहारी मात्रै दूग्ध पदार्थ बिक्री हुने गरेको एशोसिएसनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment