Comments Add Comment

वीरगञ्जका मेयर विजय सरावगीलाई पितृशोक

१५ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीका बुवा चिरञ्जीविलाल सरावगीको मृत्यु भएको छ । ७८ वर्षीय उनको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा गएराति १२ः५ मृत्यु भएको हो ।

नगर प्रमुख सरावगीले सकेको कोसिस गर्दा पनि बुवालाई बचाउन नसकिएको बताए । ‘लगातार दुईवटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो, १० दिन अगाडि नै कोभिड वार्डबाट जनरलमा सारिएको थियो,’ उनले भने, ‘अन्य दीर्घ रोगबाट गलिसक्नुभएको रहेछ, चिकित्सकले सकेको प्रयास गरेका हुन् तर बचाउन सकिएन ।’

साउन १४ गते नगर प्रमुख सरावगीमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा पीसीआर परीक्षण गराउँदा साउन २२ गते उनका बुवामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई उपचारका लागि वीरगञ्जबाट काठमाडौं लगिएको थियो ।

स्थिति गम्भिर बन्दै गएपछि साउन २४ गते उनलाई काठमाडौंस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । भदौ २ गते गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएका थिए । तर मुटु र मिर्गौलामा जटिल समस्या देखिएपछि अस्पतालको अति सघन कक्षमा राखेर उपचार चलिरहेको थियो ।

भदौ १५ गते सोमबार बिहान १० बजे काठमाडौंस्थित पशुपति आर्यघाटमा उनको दाहसंस्कार गर्ने कार्यक्रम तय गरिएको छ । वि.सं. २००० सालमा जन्मिएका चिरञ्जिवी सरावगी वीरगञ्जमा समाजसेवीको रुपमा परिचित छन् ।

व्यापार व्यवसायसँगै उनले वीरगञ्ज उधोग वाणिज्य संघको अध्यक्ष, मारवाडी परिषदको केन्द्रीय अध्यक्ष, लायन्स क्लबको गभर्नर लगायत दर्जनौं सामाजिक संघ संस्थाको जिम्मेवारी सम्हालेका थिए ।

उनका नगर प्रमुख विजय कुमार सरावगीसहित दुई छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment