Comments Add Comment

रौतहटमा ३ सातामा ४ जनाको ‘हत्या’

१५ भदौ, रौतहट । रौतहटमा एक महिलाको हत्या भएको छ । गढीमाई नगरपालिका-३ मुसरिया गाउँकी ४० वर्षीया मिन्त्रा देवी बैठाको हत्या भएको हो ।

आइतबार बिहान करिब १० बजेतिर घाँस काट्न भनेर उँखुबारीमा गएकी उनको त्यहीँ शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आइतबार साँझ घाँटीमा सारीले बाँधेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक रविराज खड्काले जानकारी दिए । घटनाको अनुसन्धानको लागि डीएसपी भरत श्रेष्ठको कमाण्डमा टोली खटिएको एसपी खड्काले बताए ।

तीन सातमा चार जनाको ज्यान गयो

रौतहट जिल्लामा पछिल्लो समय एकपछि अर्को हत्या हुँदै आएको छ । मिन्त्रा देवीको हत्यासँगै १६ दिनको अवधिमा दलित समुदायका चारजनाको ज्यान भएको छ ।

साउन ३१ गते राति निरन्जन रामको हत्या भएको थियो । रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका २० वषर्ीय निरञ्जन रामको घाँटी रेटेर हत्या भएको चार दिनपछि भदौ ३ गते राति रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियामा हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको थियो ।

पुजारी हत्याको अनुसन्धान अझै निष्कर्षमा पुग्न नसकेकै बेला निरन्जन रामको हत्याको अभियोगमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका गरुडा जिगंडवाका १९ वषर्ीय विजय रामको ज्यान गयो । प्रहरी हिरासतमा रहँदा निर्मम यातना भोगेका विजयको मृत्युपछि स्थानीयले प्रहरीविरुद्ध गरेको प्रदर्शनको क्रम सेलाउन नपाउँदै आइतवार साँझ मिन्त्रा देवी बैठाको शव फेला परेको हो ।

ज्यान गुमाएका चारमध्ये निरन्जन, विजय र मिन्त्रा देवी बैठा तीनै जना दलित समुदायका हुन् । हिरासतमा ज्यान गुमाएका विजय रामको विषयमा पछिल्लो समय गरुडामा परिवारजन, स्थानीय र दलित अगुवाहरुले प्रहरीविरुद्ध लगातार प्रदर्शन गरेका छन् ।

विरोध प्रर्दशनकै कारण इलाका प्रहरी कार्यालय गरुडाका इन्चार्ज डीएसपी ज्ञान कुमार महतोको जिम्मेवारी खोसेर उनलाई प्रदेश प्रहरी कार्यालय तानिएको छ भने घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment