Comments Add Comment

नेपाल फर्किनेको दैनिक कोटा बढ्यो, तर नियमित उडानको भाडा नसस्तिने

१५ भदौ, काठमाडौं । अब विदेशबाट दैनिक ८ सय जना नेपाली स्वदेश आउन पाउने भएका छन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले दैनिक कोटालाई ५०० बाट बढाएर ८०० पुर्‍याएको हो ।

अब नियमित र उद्धार गरी दिनमा ८ सयसम्म नेपालीलाई भित्रिन दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

यसरी आउने यात्रुको व्यवस्थापनको सम्पूर्ण जिम्मा अब पर्यटन मन्त्रालयले पाएको छ । उडान संख्या, यात्रुको व्यवस्थापन र क्वारिन्टिन तथा आइसोलेसनको क्षमता हेरेर पर्यटन मन्त्रालयले यात्रुलाई व्यवस्थापन गर्ने गरी मन्त्रिपरिषदले जिम्मेवारी दिएको छ ।

सरकारले भोलि मंगलबारबाट नियमित फ्लाइट खुला गर्दैछ । यसरी हुने उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्नेछन् । आइतबारको निर्णयअनुसार मापदण्ड पुरा गर्ने गैरआवासीय नेपाली पनि आउन पाउनेछन् । उनीहरुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ ।

काठमाडौंमा आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । पीसीआर टेष्ट गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिनेछ र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्छ । मलेसिया, थाइल्याण्ड, हङकङ, अमेरिका, क्यानडा, चीन तथा यूरोपका विभिन्न मुलुकलाई पहिलो चरणमा उडान अनुमति दिइएको छ ।

टिकट नसस्तिने

विदेशस्थित दूतावासहरुले नियमित फ्लाइटको संख्या कम हुँदा एयरलाइन्सहरुले चर्को भाडा असुल्न थालेको जानकारी सरकारलाई दिँदै आएका छन् ।

फर्किन चाहाने यात्रु धेरै हुने तर फ्लाइट सीमित रहने कारण मँहगो मूल्यका टिकट किन्नुपर्ने अवस्था आएको भन्दै उनीहरुले सरकारलाई बाक्लो मात्रामा नियमित फ्लाइट गर्न सुझाएका छन् । सरकारले ३ सय मात्रै कोटा बढाएपछि तत्कालै नियमित फ्लाइटको भाडा घट्ने सम्भावना टरेको छ ।

अहिले एयरलाइन्सले महामारीअघिको भन्दा तेब्बरसम्म भाडादर राखेर नियमित फ्लाइटको टिकट काट्दैछन् । यस्तो टिकट काटेर समस्यामा परेका नेपाली फर्किनसक्ने अवस्था छैन । सरकारले प्रतिस्पर्धा हुने गरी फ्लाइट बढाउन भने निर्णय नगरेपछि यात्रुले मँहगो भाडा नै तिर्नुपर्ने अवस्था आएको छ ।

मलेसियको दूतावासले अहिले महिनामा १३ वटा रहेको नियमित फ्लाइटलाई कम्तिमा ६५ वटा बनाएर मात्रै यात्रुले नियमित फ्लाइटमा सस्तो टिकट पाउने बताउँदै पत्र नै लेखेको थियो ।

पीसीआर नहुने देशमा चार्टर्ड

कतिपय देशहरुमा पीसीआर रिर्पोट लिन सहज छैन । त्यस्ता देशका कम्पनीले टिकट काटिदिएमा वा कामदार आफैं टिकट काटेर फर्किन चाहेमा सरकारले नेपाल आउन अनुमति दिनेछ । यसका लागि चार्टर्ड उडान हुनेछन् । त्यस्ता देशमा नियमित उडान नखोलिने निश्चित भएको छ ।

साउदी अरब, कतार, कुवेत लगायतका मुलकुमा पीसीआर रिपोर्ट लिन कठीन छ । अब ती देशका दूतावासले सिफारिस गरेका व्यक्ति नियमित उडान नभएपनि चार्टर्डबाट फर्किन सक्नेछन् ।

त्यहाँबाट फर्किने नेपालीले पुरानै प्रक्रियाअनुसार चार्टर्ड विमान पर्खिनुपर्नेछ ।

कडा नियम

सरकारले बनाएको मापदण्ड अनुसार एउटै जहाजमा पीसीआर परीक्षण गरेका र नगरेका नागरिक ल्याउन पाइने छैन ।

ल्याएमा सबै यात्रुलाई होटेल क्वारेन्टिनमा राखेर त्यसको खर्च वायुसेवा कम्पनीबाट असुल गरिने भएको छ । टिकट लिनेले होटेल क्वारेन्टिन बुकिङ पनि गर्नुपर्नेछ । यस्तो रकम वायुसेवा कम्पनीले होटेललाई भुक्तानी गर्नेछन् ।

एनआरएनलाई सुविधा

सरकारले नेपाल आउन चाहने गैरआवासीय नेपाली (एनआरएन)का लागि आंशिक अनुमति खुला गरेको छ ।

नेपालमा रहेका एकाघरका परिवारको सदस्य गम्भीर बिरामी रहेको वा मृत्यु भएको अवस्थामा उनीहरुका आफन्तलाई नेपाल आउने अनुमति दिइने छ । यस्तो अनुमति भने सम्बन्धित मुलुकमा रहेको नेपाली कूटनीतिकि नियोगले दिनेछ ।

नियोगले साँच्चै समस्यामा परेको प्रमाणित गरेपछि गैरआवासीय नेपाली नागरिकले पनि नेपाल आउन पाउनेछन् । साथै, सरकारले अब नेपालमा अध्ययन गर्ने विदेशी विद्यालयलाई सम्बन्धित शिक्षालयको सिफारिसमा नेपाल आउन दिने निर्णय समेत गरेको छ ।

यस्तो हुनेछ अब उद्धार उडानको व्यवस्था 

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दैनिक आगमन यात्रु ८०० जनामा नबढ्ने गरी देहाय बमोजिम नियमित तथा उद्धार (चार्टर) अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन र सोको व्यवस्थापन सम्बन्धमा देहाय बमोजिम गर्ने व्यवस्था मिलाउनेछ ।
  • पीसीआर परीक्षण सहज भएका मुलुक तथा सहरहरू मलेसिया, यूएई दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अष्ट्रेलिया, अमेरिका, क्यानडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ तथा कर्मचारीहरू, संयुक्त राष्ट्र संघ, विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधि  र दूतावासले सिफारिस गरेका गैरआवासीय नेपालीलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान हुनेछ ।
  • पीसीआर परीक्षण सहज नभएका मुलुकहरु जस्तै साउदी अरव, कुवेत, कतार लगायतअन्य मुलुकबाट नियमित उडानबाट यात्रुहरू ल्याउन नपाइने व्यवस्था गरिएको छ ।  त्यस्ता मुलुक र नियमित उडानका लागि अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर उडान हुनेछन् ।
  • नियमित उडानका लागि २०७७ साल भाद्र १६ गतेदेखिको उडान तालिका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गर्ने भएको  छ । यसरी नियमित उडानमा आउनेले जहाज चढ्नु ७२ घन्टाभित्रको पीसीआर नेगेटिभ भएको भएको प्रमाणपत्र, कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को वेबसाइटमा रहेको नेपाल आउनेले भर्नुपर्ने अनलाइन र्फम भरेर सोको बारकोड वा प्रिन्ट कपी र कम्तीमा सात दिन होटल क्वारेन्टिनमा अनिवार्य बस्ने गरी होटल बुकिङ्गको प्रमाण साथमा लिई आउने शर्तमा उडान तालिका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गर्नेछ ।
  • पीसीआर नेगेटिभ भएको प्रमाणपत्र भएका यात्रु सबैलाई दर्ता र स्वास्थ्य परीक्षणको कार्य सकिएपछि कम्तीमा १४ दिनहोम क्वारिन्टिनमा बस्ने लिखित प्रतिबद्धतासहित जान दिने र यसको अनुगमन स्थानीय तहले गर्ने निर्णय छ ।
  • होटल क्वारेन्टिनमा बस्नु पर्नेगरी हवाई उडानबाट नेपाल आउने यात्रुलाई हवाई टिकट जारी गर्दाकै अवस्थामा होटल क्वारेन्टिनमा कम्तीमा ७ दिन बस्दा लाग्ने खर्च समेत सम्बन्धित यात्रुबाट लिइनेछ । यसरी उठाइएको होटल क्वारेन्टिन वापतको रकम सम्बन्धित होटललाई भुक्तानी गर्ने दायित्व सम्बन्धित एअरलाइन्सको हुने भएको छ ।
  • नियमित उडानमा पीसीआर परीक्षण नगराएका, होटल बुकिङ्ग नगरेका वा अन्य शर्त पूरा नगरेका कुनै यात्रुहरू लिएर आएको वा अन्य कुनै अनियमितता गरेको पाइएमा सम्बन्धित वायुसेवा कम्पनीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रचलित कानूनबमोजिम कारबाही गर्ने निर्णय पनि भएको छ ।
  • वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिहरू बाहेक अन्य तरिकाले उद्धार उडानबाट नेपाल आउने नेपाली नागरिकहरू काठमाडौं उपत्यका भित्रका होटलमा आफ्नै खर्चमा कम्तीमा ७ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ । तर पीसीआर नेगेटिभ मात्र भएका उडानबाट आएका नेपाली नागरिकलाई १४ दिन होम क्वारिन्टिनमा बस्ने लिखित प्रतिबद्धतासहित जान दिने र यसको अनुगमन स्थानीय तहले गर्नेछन् ।
  • एउटै उडानमा पीसीआर नेगेटिभ  भएका र पीसीआर परीक्षण नभएका व्यक्तिलाई मिसाएर ल्याउन नपाइने व्यवस्था गरिएको छ । पीसीआर नेगेटिभ भएका र पीसीआर परीक्षण नभएका व्यक्तिलाई एउटै उडानबाट ल्याएमा सबै यात्रु होटल क्वारेन्टिनमा बस्नु पर्ने र होटल क्वारेन्टिनमा लागेको खर्च सम्बन्धित एअरलाइन्सले नै व्यहोर्नु पर्नेछ ।  यो  व्यवस्थाको प्रतिकूल हुने गरी एअरलाइन्सले कुनै काम कारवाही गरेको पाइएमा प्रचलित कानूनबमोजिम सम्बन्धित एयरलाइन्सलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कारबाही गर्ने निर्णय भएको छ ।
  • उद्धार उडानबाट पीसीआर परीक्षण नगरी अन्य परीक्षण गरेर नेपाल आएका व्यक्तिहरू आफ्नै खर्चमा कम्तीमा सात दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाट सूचीकृत होटलमा अनिवार्य रूपमा क्वारेन्टिनमा बस्नुपर्नेछ । यसरी आएका व्यक्तिहरूलाई क्वारेन्टिनमा बसेको ५ दिनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउने र नतिजा नेगेटिभ आएमा थप ७ दिन होम क्वारिन्टिनमा मा बस्ने गरी जान दिइनेछ ।
  • डीसीसीएमसीबाट होटल क्वारेन्टिनका लागि सूचीकृत होटलहरूको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस परराष्ट्र मन्त्रालयस नेपाल नागरिक उड्डयन प्राधिकरण र कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको वेबसाइटमा सार्वजनिक गरिएकोछ ।  विदेशस्थित सबै नेपाली नियोगहरू तथा सम्बन्धित सबै वायुसेवाहरूलाई जानकारी गराइएको छ । उपयुक्त बमोजिमको उडान व्यवस्थापन गर्दा अन्य आवश्यक कुराहरू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्धारण गर्नेछ ।
  • वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिहरूलाई एकीकृत क्वारेन्टिनमा राख्ने र क्वारेन्टिनमा रहँदाको खर्च वैदेशिक रोजगार कल्याणकारी कोषबाट जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को सिफारिसमा क्वारेन्टिन रहेको स्थानीय तहलाई उपलव्ध गराउने व्यवस्था गर्ने निर्णय भएको छ । वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार भएका बाहेक एकीकृत क्वारेन्टिनमा बस्ने अन्यको हकमा क्वारेन्टिनमा रहँदाको खर्च वापतको रकम डीसीएमसीको सिफारिसमा क्वारेन्टिन रहेको स्थानीय तहलाई कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट उपलव्ध गराउने व्यवस्था मिलाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment