Comments Add Comment

हिमालयको उत्पत्ति : टेथिस सागरको ठाउँमा कसरी बन्यो सगरमाथा ?

अहिले नेपालमा पर्ने सर्वाेच्च शिखर सगरमाथा सधैं सर्वाेच्च शिखर नै बन्ला ? या त निश्चित समयमा यसको उचाइ घटेर अरू नै हिमाल सर्वाेच्च शिखर बन्ला ? हिमालयदेखि समुद्रसम्मको पृथ्वीको बनावटको बारेमा स्कुल तहमा नै धेरैले पढेका होलान् । धर्मशास्त्रले पृथ्वीको यो उबडखाबड गराएको श्रेय ब्रह्मालाई दिने गर्छ । तर आधुनिक विज्ञानको मत फरक छ । आखिर कसरी बन्यो होला हिमालदेखि समुद्रसम्मको बनावट ?

नेपालको उत्तरी भागमा एउटा विशाल प्राकृतिक पर्खाल छ, करोडौं वर्षअघि बनेको जुन हिमालय सुन्दरता र जलवायु चक्रको लागि मात्रै नभएर राजनीतिक रूपमा समेत कैयौं वर्षदेखि सीमारक्षकको काम गरिरहेको छ । जति अद्भूत यो हिमालय पर्वत श्रृङ्खला छ, त्यति नै अद्भूत छ यसको इतिहास ।

हिमालयको परिचय

हिमालय विश्वकै सबैभन्दा अग्लो हिमश्रृङ्खला हो, जो पश्चिमदेखि पूर्वसम्म करिब २,४०० किलोमिटर लम्बाइमा फैलिएको छ । विश्वका अधिकांश अग्ला शिखरहरू यही हिमालयमा अवस्थित छन् ।

संसारको ५० वटा उच्च चुचुराहरूमध्ये ४६ वटा शिखरहरू हिमालय क्षेत्रभित्रै पर्दछन्, त्यसमा पनि सगरमाथा, अन्नपूर्ण, धवलागिरि, कञ्चनजङ्गा, गणेश, लाङ्गटाङ्ग, मनास्लु, गौरीशंकर जस्ता प्रमुख चुचुराहरू सहित १८ वटा हिमालहरू राजनीतिक नक्सामा नेपालको क्षेत्रभित्र नै पर्ने गर्छ ।

भू–वैज्ञानिकहरूका अनुसार यो हिमालयको उत्पत्ति धेरै पुरानो होइन । तर निश्चय पनि यसको उत्पत्ति तीव्रतर गतिमा भएको कुरालाई भने अधिकांश वैज्ञानिकहरूले मान्ने गरेका छन् । करिब ५ करोड वर्षमा सागरमुनिबाट उठेर सगरमाथा जस्ता चुचुराहरू करिब ९ किलोमिटरको उचाइमा पुगेको वैज्ञानिक खोजले पत्ता लगाएको छ । वास्तवमा हिमालयको उत्पत्ति भारतीय भू–खण्ड तथा इन्डियन प्लेट र युरेसिया भनिने दुई विशाल भू–भागहरूको टक्करका कारण भएको हो भन्ने कुरा पनि वैज्ञानिक अध्ययनबाट भेटिएको छ ।

यी दुई विशाल भू–भागबीच भएको टकरावले यी क्षेत्रहरू अनियन्त्रित भएर पुरानो अवस्थामा आउन असम्भव भएपछि, माथितिर उठ्न थाले र यही प्रक्रियाले हिमालयको उत्पत्ति भएको वैज्ञानिक मान्यता छ ।

सागर सुकेर हिमालयको उत्पत्ति

अहिले जुन ठाउँमा हिमाल ठडिएका छन्, त्यहाँ करिब ५ करोड वर्षअघिसम्म विशाल सागर थियो भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर यो पनि विज्ञानले पुष्टि गरेको कुरा हो । वैज्ञानिकहरूले त्यो सागरको नाम ‘टेथिस सागर’ राखेका छन् । भारतीय भू–खण्ड (प्लेट) उत्तरमा अवस्थित तिब्बती भू–खण्डसँग ठोक्किएपछि त्यो ठोक्किएको भाग बिस्तारै माथि उठ्दै गयो । जसको परिणाम सागर लोप हुँदै गयो भने हिमालहरू ठडिँदै गए ।

टेथिस सागर अहिले पूर्णतः लुप्त भइसकेको छ तर हिमालय क्षेत्रमा त्यसका केही प्रमाण अहिले पनि पाउन सकिन्छ । सगरमाथाको चुच्चो त्यही टेथिस सागरको पिँधमा रहेको चुना पत्थर (लाइमस्टोन) बाट बनेको वैज्ञानिक मान्यता छ । त्यस पत्थरमा पाइएको समुद्रमा पाइने जीवास्म (फोसिल्स)हरूले पनि माथि उल्लेखित विषयलाई पुष्टि गरेको छ ।

नेपालको मुस्ताङ क्षेत्रमा पर्ने कालीगण्डकीको किनारमा प्राप्त शालिग्राम(एमोनाइट) जस्ता पत्थरहरूमा समेत जलजीवहरूको प्रमाण पाउन सकिन्छ । शालिग्राम आफैँमा समुद्री किराको अवशेषयुक्त पत्थर हो । यही क्षेत्रको पहाडी खण्डमा समुद्रमुनि पाइने अपृष्टवंशी जीवको अवशेष समेत धेरै पाइएको छ ।

त्यस्तै, काठमाडौं नजिकैको फुलचोकी डाँडामा पनि ट्रइलोबाइट र क्रिनोइडजस्ता अति प्राचीन समुद्री पुराजीवको अवशेष पाइएको छ । यी सम्पूर्ण तथ्यहरूले अहिले हिमाल रहेको ठाउँमा पहिले सागर थियो भन्ने तथ्यलाई पुष्टि गर्छ ।

टेथिस सागरमा विचरीत सालिग्रामको काल्पनिक चित्र ।

अधिमहाद्वीप पाञ्जीय र यसको विघटन

करिब ३०–२५ करोड वर्ष पहिले पृथ्वीको सम्पूर्ण भू–भाग (७ वटै महादेश) एउटै विशालमहाद्वीपको रूपमा थियो । त्यो विशाल पुञ्जभूमिलाई ‘पाञ्जिया’ भन्ने गरिन्छ । त्यसबेला नेपाललगायत भारतीय भूभाग पनि यसैको दक्षिण–पूर्वी भागमा अवस्थित थियो । पछि पृथ्वीमा निरन्तर भइरहने कम्पनका कारण पाञ्जिया टुक्रा–टुक्रा भई फाट्टिन थाल्यो ।

भूगर्भविद्हरूका अनुसार करिब २७ करोड वर्ष पहिले पाञ्जिया सर्वप्रथम उत्तरमा लरेसिया र दक्षिणमा गोंडवानाल्याण्ड गरी दुई भागमा विभाजित भयो । उत्तरतर्पmको लरेसियामा हालको युरोप र उत्तरी एसिया पथ्र्याे भने दक्षिणमा पर्ने गोंडवानामा भारतीय उप–महादेश, अफ्रिका, अस्ट्रेलिया, दक्षिणी अमेरिका र अन्टार्कटिका जस्ता महादेशहरू पर्थे । यीनै दुई महाभूमिको बीचमा ‘टेथिस’सागर पर्दथ्यो ।

लगभग २१ करोड वर्षअघितिर दक्षिणको गोंडवानाल्याण्ड क्रमशः पूर्वी र पश्चिमी गोण्डवाना गरी दुई भागमा टुक्रियो । त्यसपछि, करिब १३ करोड वर्षअघि पश्चिमी गोण्डवाना फेरि भारत, अस्ट्रेलिया र अन्टार्टिका गरी धेरै टुक्राहरूमा टुक्रिए । भूगर्भविद्हरूका अनुसार १० करोड वर्ष पहिले पश्चिमी गोण्डवानाबाट टुक्रिएको भारतीय खण्ड बेजोड शक्तिका साथ(१०० वर्षमा १५ मिटरको गतिमा) उत्तरतिर सर्दै गयो ।

यसरी लगभग ६,४०० किलोमिटरको दुरी पार गरेपछि करिब ५देखि ४.५ करोड वर्षअघि भारतीय खण्ड तिब्बती खण्डसँग जुध्न पुगेको हो । तिब्बती भागको भन्दा भारतीय खण्डको भू–धनत्व बढी भएकोले तिब्बती भागतिर धकलिँदै गएपछि यो तिब्बती भाग तल धसिँदै गयो । फलस्वरूप सागर तल पर्दै गयो भने हिमाल चुलिँदै गयो ।

त्यसबेलादेखि अहिलेसम्म पनि भारतीय खण्ड ५ से.मि. प्रतिवर्षको गतिमा उत्तरतिर अघि बढ्दै छ । यसरी कमजोर सामुद्रिक भू–भागमध्ये र दक्षिण एसियाको बीच एउटा नवस्थलको सिर्जना भयो । जसलाई अहिले ‘हिमालय’ भनिन्छ।

किन हुन्छ प्लेटहरूबीच हलचल ?

पृथ्वीको माथिल्लो तहमा रहेको धरातल(जमिनमुनि)कयौैं टुक्राहरूमा विभाजित छ । जसलाई भू–विज्ञानको भाषामा प्लेट भनिन्छ । यी प्लेटहरूमध्ये ठूला प्लेटहरूको संख्या केवल सातवटा मात्र छन् । नेपाल तथा हिमालय रहेको प्लेटलाई ‘इण्डियन प्लेट’ को रूपमा सम्बोधन गर्ने गरिएको छ ।

यस्ता प्लेटहरू पाञ्जिको समयदेखि मात्र होइन, पृथ्वीमा महादेशहरूको निर्माण कालदेखि नै चलायमान रहेको भू–वैज्ञानिकहरू बताउँदछन् । तर प्रश्न के उठ्ने गर्छ भने ती प्लेटहरू किन र कसरी सर्छन् ? यसको पनि वैज्ञानिक कारण छ ।

वर्तमानमा पृथ्वीको बाहिरी आवरणमुनिको तह मेन्टल तातो–लेदोको रूपमा रहेको छ, त्यो अर्धतरल अवस्थामा छ । धेरै तातो हुनाले त्यो तह ठोस अवस्थामा रहन नसकेको भूगर्भविद्हरूको भनाइ छ । उनीहरूका अनुसार पृथ्वीको जतिभित्र गइन्छ त्यति बढी तातो हुन्छ । यस्तो अवस्थामा तातो भाग माथितिर आउने र चिसो भाग तलतिर जाने प्रक्रिया चल्छ ।

जस्तो कि चियादानीमा पानी तताउँदा सुरूमा पिँधको पानी तात्छ र त्यो तातेको पानी माथितिर आउँछ भने माथिको चिसोपानी तल जाने गर्छ । त्यही प्रक्रियालाई हामी पानी उम्लिनु भन्छौं । यो प्रक्रिया चियादानीको पानी तातेर पूर्ण रूपमा वाफ नबन्दासम्म चलिरहन्छ । यो प्रक्रियालाई विज्ञानको भाषामा संवाहन प्रक्रिया भनिन्छ । पृथ्वीको सतहमुनिको मेन्टलमा पनि यही संवाहन प्रक्रिया चलिरहन्छ ।

‘मेन्टल संवाहन’ प्रक्रियाको कारणले नै पृथ्वीको बाहिरी सतहका रूपमा रहेका विभिन्न ‘टेक्टोनिक प्लेट’हरू निरन्तर चलायमान भइरन्छन् । भूगर्भविद्हरूका अनुसार पृथ्वीको धरातलभित्रको मेन्टलमा तलबाट माथितिर निरन्तर तापको प्रवाह भइरहने हुनाले नै मध्यमहासागरीय पर्वतहरूमा कडा टेक्टोनिक प्लेटहरूको उत्पत्ति हुने गर्छ । यी प्लेटहरू एक अर्कोमुनि दबिएर जाने क्षेत्रहरूमा दबिँदै जाँदा क्रमशः नष्ट हुँदै जान्छन् ।

यसरी मध्यमहासागरीय पर्वतहरूमा उत्पन्न भएका प्लेटहरू सरेर सबडक्सन जोनमा पुरेर नष्ट हुने क्रममा त्यसमाथिको धर्ति नै सर्नेगर्छ ।

हाम्रो हिमालयको सन्दर्भमा पनि भएको यही भइरहेको छ । अफ्रिका र इण्डियाको बीचको मध्यमहासागरीय पर्वतहरूमा उत्पन्न भएको नयाँ प्लेटहरू पुराना प्लेटहरू क्रमशः पन्छाउँदै जाने क्रममा पुराना प्लेटहरु अघि बढ्नुबाहेक अरू उपाय रहेन । यसरी नयाँ बनेका प्लेटहरू बिस्तारै धकलिएका इण्डियन प्लेट अहिलेको हिमालयको मुनि घुस्दै गएर नष्ट हुने क्रम जारी छ ।

हिमालयको उदय र यसको उद्‍विकास 

यसरी नवस्थलमा अवस्थित नेपाल तथा यहाँ हिमालय आजभन्दा ५ करोड वर्ष पहिले टेथिस समुद्रको गर्भमा थियो । त्यसपछि लाखौं–करोडौं वर्ष लगाएर भूगर्भीय हलचलका कारण सागरको तलको विभिन्न क्रममा माथि उठ्न पुग्यो र कालान्तरमा मोडदार पर्वत श्रेणीहरू निर्मित भए । जसरी हिमालय पर्वत उठ्यो, त्यसैगरी क्रमशः महाभारत र यसका अन्य समकालीन अन्य पर्वतहरु पनि उठे ।

हिमालयको उदय भएपछि त्यहाँका नदीहरूले दक्षिणको जलाशयमा अवसादन गर्ने कार्य निरन्तर गर्न थाले । दोस्रो अवस्थाको भू–सञ्चालनमा निम्न वा लघु हिमालयको सिर्जना भयो । यसबाट पछि नदीले बगाएका पदार्थहरू दक्षिणको खाडलमा थिग्रिँदै गयो । तेस्रो अवस्थाको भू–सञ्चालनमा हिमालय अझै अग्लियो र यसै बेला चुरे (सिवालिक) जस्ता होचा पर्वतहरू निर्माण भए । पृथ्वीका पर्वतहरूमा हिमालय निर्माणको क्रम तरुणतम मानिन्छ र भनिन्छ यसको उत्थान अझै जारी छ ।

हिमालय उदयसँगसँगै दक्षिणको खुला मैदान बन्यो । हिमालय निर्माण कालमा उत्तरतिर आएको भू–सञ्चालन शक्तिले धस्सिएको भूमि पछि गएर हिमालयमा आविर्भाव भएका नदीहरू तथा उत्तर भारतबाट बहेका नदीहरूले ल्याएका अवसाद तथा पदार्थहरूले भरिन र पुरिन गए । कालान्तरमा यस मध्यवर्ती मधेसी भागमा विशाल मैदान बन्दै गयो, जुन अहिले उत्तर भारतस्थित गङ्गा मैदानको रूपमा छ ।

हिमालय उत्थानकालमा यो भेकमा थुप्रै प्राग् जीवहरू थिए । करिब तीन करोड वर्षअघि उठेको पहाडका खोंच र कापमा थुनिएका तालतलैयामा कयौं जीवहरू भएको पुष्टि काठमाडौं तथा चुरे पर्वतहरूमा प्राप्त जीवाश्महरूबाट हुन्छ । अतः त्यसबखत हिमाली र पहाडी भेकमा भौगोलिक अवस्थानुसार जीवन उपयुक्त थियो ।

भारतीय उपमहाद्वीप र नेपालको भूखण्डबीच (हालको गंगा मैदान) ठूलो जलाशय धेरै समयपछिसम्म पनि विद्यमान थियो । चुरे पर्वत निर्माण हुँदासम्म यो खडाल पूर्ण रूपले पुरिएको थिएन । त्यसबखत चुरेको तलसम्म झ्याउ, झारपात, झाडी र घना वनजंगल थियो भन्ने कुरा चुरेको विभिन्न स्थानहरूमा प्राप्त कोइला खानीहरू र अवशेषहरुबाट बुझिन्छ । उत्तरको हिम क्षेत्र र चिसो, दक्षिणको गर्मी क्षेत्र र तातो दक्षिण एसियाली अवस्थाले गर्दा चुरेको यही हरियो स्वच्छ न्यानो काखमात्र जीवनयोग्य कोख भएको हुन सक्छ ।

यसैकारण गंगाको यो खाडल र होचो चुरे पर्वतको छिपछिपे शान्त किनार नै न्यानो पारिलो जीवनदायिनीको रूपमा विकास भई नेपालमा मानव सभ्यताको पहिलो प्रकाश परेको अनुमान हुन्छ ।

हिमालय उठ्दै जाँदा ठाउँठाउँमा नदीको बहाबहरू छेक्किनाले यहाँका होचा भू–भागहरूमा पानीको मात्रा थपिँदै गएर काठमाडौं, सिन्धुली, चितवन, नवलपुर, पोखरा, दाङ, देउखुरी, सुर्खेत, जुम्ला आदि उपत्यकाहरू जलमग्न भए र प्राग्–तालहरूको निर्माण भयो । पछि कालान्तरमा यहाँबाट जल निष्कासन भएपछि त्यहाँ वनस्पति हुर्कंदै गयो । तातो चिसो समयानुकुल चराचर आए गए र घुमन्ता मानव यस भेकतिर आकर्षित भए ।

भारतीय उपमहाद्वीपमा अनेकौं राज्यहरू खडा भए । मध्यएसिया र दक्षिण एसियाको साँधमा रहेको नेपाल यस क्षेत्रमा जन्मैदेखि स्वतन्त्र रहँदै आएको छ । समय–समयमा नेपालको सीमामा केही हेरफेर भए पनि यो देश यस क्षेत्रकै लागि विशिष्ट राज्यका रूपमा विद्यमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment