Comments Add Comment
वीर अस्पतालको बिजोग :

बीर अस्पतालमा उपचार गर्न जाने कि कोरोना संक्रमित हुन ?

एउटा ग्रुपमा एउटा मात्रै पीपीई, डाक्टर नै सूचनाविहीन

१८ भदौ, काठमाडौं । नेपालको सबैभन्दा जेठो सरकारी अस्पताल, वीर अस्पतालको हालत कस्तो छ ? कोरोना संक्रमितहरु र अन्य बिरामीहरुको उपचार के–कसरी चलिरहेको छ ? स्वास्थ्यकर्मीहरुको मनोबल कस्तो छ ? एकचोटि वीर अस्पतालभित्र पसौं–

उदाहरण १ : वीर अस्पतालको आकस्मिक कक्षको १२ नम्बर बेडमा काभ्रेबाट एकजना बिरामी आएका थिए । टाउको सम्बन्धी समस्या लिएर आएका उनमा कोरोनाको लक्षण थिएन । तैपनि आकस्मिक कक्षमै भर्ना भएपछि चिकित्सकले उनको उपचार त गर्नैपर्‍यो ।

देशमा कोरोना महामारी नभएको भए वार्डमा भर्ना भैसक्नुपर्ने बिरामी थिए उनी । तर, पीसीआर परीक्षणका लागि पठाइएको थियो, रिपोर्ट आएपछि मात्र वार्डमा सार्ने वीर अस्पतालको प्रचलन थियो ।

मंगलबार साझ मात्र उनको पीसीआर रिपोर्ट आयो । तर, कोरोना पोजेटिभ । त्यसपछि उनलाई आइसोलेसनमा सारियो । उनी सुतेको बेडको तन्ना फेरियो, डिस इन्फेक्सन स्प्रे हानियो र तुरुन्तै अर्को बिरामीलाई राखियो । तर, चिकित्सकलाई भने क्वारेन्टाइनमा राखिएन ।

उदाहरण २ : एक महिना पहिले सुत्केरी भएकी धादिङकी २३ वर्षीया महिला निमोनियाले थलिएर वीरको आकस्मिक कक्षमा आइपुगिन् । एक महिने शिशु पनि सँगै थिए । इमर्जेन्सीमा भर्ना लिएपछि पीसीआर परीक्षणका लागि स्वाब लिइयो ।

पहिलोचोटि उनको रिपोर्ट नेगेटिभ आयो । तर, उनलाई निमोनियाले च्याप्दै लगेको थियो । उपचारमा खटिएका एक डाक्टर भन्छन्, ‘उनको छातीको रिपोर्ट खराब थियो । लक्षणहरु हेर्दा पूर्णरुपमा कोरोनाकै जस्तो थियो ।’

ती महिलाको श्वासप्रश्वासमै समस्या भएपछि एम्बोब्याग (मुखबाट पाइप छिराएर श्वासप्रश्वास गर्न सहज गराउने) विधि गर्नुपर्‍यो । एक चिकित्सकले चार घण्टासम्म लगातार एम्बोब्याग गरेर बस्नुपर्‍यो । उनी भन्छन्, ‘मसँग एउटा पीपीई थियो । तर, ग्लोब्स थिएन । धेरै चिकित्सकहरुसँग त त्यही पीपीई पनि थिएन । तर, उपचारमा नटिइकन सुख थिएन ।’

उनलाई थाहा थियो, यसरी उपचार गर्नु जोखिमपूर्ण छ । उनी भन्छन्, ‘आफैँलाई खतरामा राखेर ग्लोब्सविनाको हातले एम्बोब्याग (ब्यागिङ) गर्नुपर्‍यो ।’

नभन्दै, सोमबार ती बिरामीको पनि पीसीआर रिपोर्ट पोजेटिभ आयो । बिरामीलाई आइसीयुमा पुर्‍याइयो । एकजना चिकित्सकलाई अस्पतालले क्वारेन्टिइनमा राख्यो ।

उदाहरण ३ : आकस्मिक कक्षको बेड नम्बर १७ र २० मा दुईजना बिरामी थिए । उनीहरु कोरोनाको लक्षणसहित अस्पताल पुगेका थिए । परीक्षणका क्रममा उनीहरुमा निमोनिया देखिएको थियो । १७ नम्बर बेडका बिरामी प्रहरी थिए भने अर्का सर्वसाधारण । दुवै काठमाडौंबाटै वीर अस्पतालमा पुगेका थिए । आइसोलेसनमा बेड अभाव भएपछि उनीहरुको उपचार वीरको आकस्मिक कक्षमै भैरहेको थियो ।
आकस्मिक कक्षका चिकित्सकले उनीहरुसँगै अरु सबैखाले बिरामीलाई हेर्नुपर्थ्यो ।

अस्पताल पुगेको चौथो दिनमा मंगलबार साँझ ती दुई विरामीको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

****

यी तीन उदाहरणले मात्र पनि वीर अस्पतालको आकस्मिक कक्षमा भएको लापरवाहीको चित्र प्रस्तुत गर्छ । अहिलेसम्म अस्पतालका आकस्मिक कक्ष २२ जना मेडिकल अफिसरले धानेका छन् । तर, कमजोर व्यवस्थापन र सुरक्षा सामाग्री अभावका कारण एकातिर चिकित्सकहरु त्रासमा उपचार गर्न बाध्य छन् भने अर्कातर्फ आकस्मिक कक्ष नै कोरोनाको हटस्पटतर्फ उन्मुख भइरहेको छ ।

आकस्मिक कक्षमा उपचारमा खटिने चिकित्सकका लागि भनेर एउटा ग्रुपका लागि एउटा मात्र पीपीई उपलब्ध गराइएको चिकित्सकहरु बताउँछन् । एउटा ग्रुपमा पाँच जना मेडिकल अफिसर हुने गर्छन्

इमरजेन्सीका अर्का चिकित्सकले भने, ‘हस्पिटलले दिनको एउटा सर्जिकल मास्क उपलब्ध गराउँछ र हप्तामा एउटा एन–९५ मास्क । न फेस सिल्ड दिन्छ, न पीपीई । इमरजेन्सी वार्डमा ग्लोब्स नभएको त एक महिना भैसक्यो ।’

वीर अस्पतालमा पुग्ने सम्पूर्ण बिरामी इमरजेन्सीबाटै भित्र प्रवेश गर्छन् । अस्पतालले कोरोनाको लक्षणसहितका बिरामीलाई युरोलोजी विभागमा पठाउने गर्छ । किनकि उक्त विभागलाई आइसोलेसन गराइएको छ ।

बिरामीमा कोरोना पुष्टि भएमा कोभिड वार्डमा लगिन्छ । पहिले कार्डियो र ग्यास्ट्रोलाई आइसोलेसन बनाए पनि अहिले भने उक्त दुईवटा वार्डमा पनि कोभिडका बिरामी राख्न थालिएको छ ।

तर, युरो ट्रान्जिट (लक्षणसहितका बिरामी राख्ने ठाउँ) मा बेड अभाव भएको अवस्थामा लक्षणसहितका बिरामीलाई पनि आकस्मिक कक्षमै राख्ने गरिएको छ ।

आकस्मिक कक्षमा कोभिडका शंकास्पद बिरामी राख्नका लागि ६ वटा बेड छुट्याइएको छ । एक चिकित्सकले अनलाइनखबरसँग भने, ‘पर्याप्त सुरक्षा सामग्री नभए पनि लक्षणसहितका बिरामीलाई हेर्नु परिरहेको छ । ती बिरामीलाई हेरेर अरु बिरामीलाई पनि हामीले नै हेर्ने गरेका छौँ । खासमा छुट्टाछुट्टै स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने हो ।’

त्यति मात्र होइन, कोरोना पोजेटिभ भएका बिरामी राखेको बेडमै तन्ना फेरेर अर्का बिरामीलाई राख्ने गरिएको छ ।

यस्तै कमजोर व्यवस्थापनका कारण चिकित्सक मात्र होइन, संक्रमण नभएका बिरामीसमेत कोरोनाको उत्तिकै जोखिममा पर्ने गरेका छन् ।

बुधबार मात्रै वीर अस्पतालमा आकस्मिक कक्षका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक चिकित्सकले भने, ‘तीन हप्तादेखि आकस्मिक कक्षमा नियमित संक्रमित देखिँदै आएका छन् ।’

अहिलेसम्म वीरको आकस्मिक कक्षमा एकजना कन्सल्ट्यान्ट, दुईजना मेडिकल अफिसर र एकजना नर्ससहित चार जनामा कोरोना संक्रमण देखिएको छ । वीर अस्पतालमा मंगलबारसम्म कुल ७१ जना कर्मचारी, स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

एउटा ग्रुपमा, एउटा मात्र पीपीई

आकस्मिक कक्षमा उपचारमा खटिने चिकित्सकका लागि भनेर एउटा ग्रुपका लागि एउटा मात्र पीपीई उपलब्ध गराइएको चिकित्सकहरु बताउँछन् । एउटा ग्रुपमा पाँच जना मेडिकल अफिसर हुने गर्छन् । अहिले वीरमा एउटा ग्रुपले लगातार १२ घण्टा ड्युटी गर्नुपर्छ ।

एक चिकित्सकले नाम नखुलाउने सर्तमा अनलाइनखबरसँग भने, ‘एउटा ग्रुपमा एउटा मात्र पीपीई दिइएकाले त्यही पीपीईलाई डिसइन्फेक्टेड गरेर लगाउने गर्छौँ ।’

यस्तो फितलो व्यवस्थापनका कारण आफूहरुले उपचारका क्रममा निकै असुरक्षित अनुभव गर्ने गरेको पनि उनले बताए । फेस सिल्ड नै दिएको छैन त कसरी लगाउने ?’ अर्का डाक्टरले झर्किँदै भने, ‘सेनिटाइजरविना नै थुप्रैपटक नाइट ड्युटी गर्नुपरेको छ ।’

‘फेस सिल्ड, मास्क र ग्लोब्स लगाएर पोजेटिभ बिरामीसँगै एक्स्पोज भए पनि अनिवार्य अस्पताल आउन भनिएको छ । पोजेटिभ संक्रमित हेरेका स्वास्थ्यकर्मीले पनि क्वारेन्टिनमा नबसी अन्य बिरामी हेरिरहेका छन् ।

रिपोर्ट कुर्दाकुदै मृत्यु

रौटहटबाट रामप्रसाद महतो मष्तिष्क पक्षघात भएर वीरको आकस्मिक कक्षमा ल्याइए । पीसीआर रिपोर्ट नआउँदासम्म वार्डमा भर्ना नलिने भएकाले उनलाई इमरजेन्सीमै राखियो । तर, आफन्तले रिपोर्ट कुर्दाकुर्दै रामप्रसादलाई गुमाउनुपर्‍यो ।

रामप्रसादको मृत्यु भएको भोलिपल्ट अर्थात मंगलबार मात्रै उनको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आयो । नेगेटिभ रिपोर्ट आएपछि मात्र उनलाई अस्पतालको बेडबाट बाहिर निकालियो । उनको उपचारमा खटिएका चिकित्सकले भने, ‘यदि समयमै भर्ना भएको भए ऊ बाँच्ने बिरामी हो । रिपोर्ट ढिलो गरी आउँदा धेरै मानिसले यसैगरी अकालमा ज्यान गुमाउनु परिरहेको छ ।’

डाक्टर नै सूचनाविहीन

केही समय पहिला विनिता रञ्जित (नाम परिवर्तन) वीर अस्पतालको इमर्जेन्सीमा पुगेकी थिइन् । कोरोनाको त्यति ठूलो शंका वा लक्षण थिएन । तर, अर्को दिनदेखि उनी बेडमा देखिइनन् ।

तीन दिनपछि उनलाई उपचार खटिएका एकजना मेडिकल अफिसरले कुरुवालाई फोन गरे । उताबाट जवाफ आयो, ‘उहाँलाई त कोरोना संक्रमण भएर एपीएफ अस्पतालमा ल्याएका छौँ ।’

यो सुनेर वीर अस्पतालका ती चिकित्सक जिल खाए । उनी भन्छन्, ‘कम्तिमा आफ्नो प्यासेन्टलाई उपचार गरेको डाक्टरलाई त कुन बिरामीलाई कोरोना लागेको छ, छैन भनेर जानकारी दिनुपर्छ कि पर्दैन ? हामीले हेरेको बिरामीको पोजेटिभ रिपोर्ट आयो भन्ने हामीलाई नै थाहा हुँदैन । सूचना नै नदिए हामीले परिवारमा कसरी सावधानी अपनाउन सक्छौँ ?’

पछिल्लो समयमा भने यसबारे आफैँ सचेत हुन थालेको ती चिकित्सकले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment