News Summary
Generated by OK AI. Editorially reviewed.- वीर अस्पतालमा टोमोथेरापी मेसिन मर्मतपछि दुई साता अगाडि पुनः सञ्चालनमा आएको छ।
- टोमोथेरापी मेसिनको एलाइन्मेन्ट प्रणालीमा समस्या आएपछि आवश्यक पार्ट्स अमेरिकाबाट मगाउनुपरेको थियो।
- टोमोथेरापीले क्यान्सर सेललाई मात्र विकिरण दिएर नष्ट गर्छ र दैनिक १५ देखि २० जना बिरामीलाई सेवा दिन सकिन्छ।
९ चैत, काठमाडौं । वीर अस्पतालमा टोमोथेरापी मेसिन मर्मत भएपछि पुनः सञ्चालनमा आएको छ । नेपालमै एक मात्र रहेको अत्याधुनिक मेसिन बिग्रिएपछि गरिब तथा न्यून आय भएका बिरामी सबैभन्दा बढी मारमा परेका थिए ।
अस्पतालले मर्मत गरी दुई साता अगाडिदेखि सेवा सञ्चालनमा ल्याएको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्र बस्नेतले टोमोथेरापी मेसिनमा आएको प्राविधिक समस्याका कारण केही समय सेवा अवरुद्ध भए पनि अहिले पूर्ण रूपमा सञ्चालनमा आएको बताए ।
यसपटक मेसिनको पोजिसन मिलाउने (एलाइन्मेन्ट) प्रणालीमा समस्या आएपछि आवश्यक पार्ट्स अमेरिकाबाट मगाउनुपरेको र इन्जिनियर भारतको मुम्बईबाट बोलाउनुपरेका कारण मर्मतमा ढिलाइ भएको बस्नेतको भनाइ छ ।
‘टेमोथेरापीमा मुख्य समस्या बिरामीलाई राख्ने पोजिसन र रेडिएसन जाने बिन्दुबीचको मिलान नमिल्दा आएको रहेछ,’ डा. बस्नेतले भने, ‘क्यान्सर सेलमा ठीक रूपमा रेडिएसन पुर्याउन बिरामीको पोजिसन मिलेको हुनुपर्छ । त्यही प्रणाली बिग्रिएको थियो ।’
हाल भने टेमोथेरापीबाट दैनिक १० देखि १५ जना बिरामीले सेवा लिइरहेका छन् । पूर्ण क्षमतामा सञ्चालन गर्दा दैनिक १५ देखि २० जनासम्म बिरामीलाई उपचार दिन सकिने डा. बस्नेत बताउँछन् ।
चिकित्सकका अनुसार टोमोथेरापी मेसिनले बिरामीको शरीरमा फैलिएका क्यान्सरका सेलहरु नष्ट गर्छ । टोमोथेरापीले क्यान्सरग्रस्त कोषमा मात्रै विकिरण दिने भएकाले क्यान्सर भएको भागको वरिपरिका स्वस्थ कोषमा विकिरणको प्रभाव पर्दैन ।
यसले हजारौं स–साना विकिरण प्रयोग गर्ने हुँदा जति मात्रा आवश्यक छ त्यति मात्र र जस्तोसुकै कोणबाट पनि रेडियसन दिएर उपचार गर्न सम्भव बनाउँछ ।
अंकोलोजी विभागका प्रमुख तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्यका अनुसार क्यान्सरको कोष गुणात्मक रूपमा तीव्र गतिमा फैलिने भएकाले त्यसलाई रोक्न रेडिएसन थेरापी अत्यावश्यक मानिन्छ । यो थेरापीले क्यान्सर कोषलाई मार्ने र अन्य अंगमा फैलन नदिने काम गर्छ । प्रारम्भिक चरणदेखि गम्भीर अवस्थामा पुगिसकेका क्यान्सरका बिरामीहरूलाई थप हानि हुन नदिन पनि रेडिएसन थेरापी अपरिहार्य हुन्छ ।

ट्युमरको आकार, प्रकार र स्थानका आधारमा चिकित्सकले रेडिएसन थेरापीको मात्रा र पटक निर्धारण गर्छ । औषधिको डोज जस्तै यसको पनि निश्चित मात्रा हुन्छ र यो निर्णय सीटी स्क्यान रिपोर्टका आधारमा लिइन्छ । चिकित्सकको योजनाअनुसार समयमै र सही ढंगले थेरापी नलिँदा क्यान्सर बल्झिने उच्च जोखिम रहन्छ ।
डा. बस्नेतका अनुसार टोमोथेरापीबाट उपचार सुरु गर्नु अघि बिरामीको विस्तृत योजना (प्लानिङ) गर्नुपर्ने हुन्छ ।
बिरामीलाई सिधै रेडिएसन दिने हुँदैन । पहिले सिटी सिमुलेटरमार्फत स्क्यान गरेर क्यान्सर भएको स्थान, डोज र विधि निर्धारण गरिन्छ । त्यसपछि मात्रै उपचार सुरु हुन्छ ।
डा. बस्नेतका अनुसार टोमोथेरापी क्यान्सर उपचारको अत्याधुनिक रेडिएसन प्रविधि हो । क्यान्सर उपचारमा सामान्यतया शल्यक्रिया, केमोथेरापी र रेडिएसन गरी तीन विधि प्रयोग हुने भए पनि यो प्रविधि रेडिएसनमार्फत क्यान्सर सेललाई नष्ट गर्ने विधिमा आधारित छ ।
‘टोमोथेरापीले मेसिनले क्यान्सर भएको भागलाई पहिचान गरी त्यही भागमा मात्र रेडिएसन दिन गर्छ,’ डा. बस्नेतले भने, ‘यसले क्यान्सर सेललाई मात्र नष्ट गर्छ । वरिपरिका स्वस्थ कोषहरूमा क्षति कम हुन्छ ।’
सरकारी तथ्यांक अनुसार नेपालमा वार्षिक ३० हजार जना क्यान्सरका नयाँ बिरामी थपिन्छन् । टोमोथेरापी मेसिन मस्तिष्क क्यान्सर र सामान्य ब्रेन ट्युमर, टाउको, घाँटी र मुखको क्यान्सर, स्तन क्यान्सर, फोक्सोको क्यान्सर, छालामा हुने क्यान्सरहरू, प्रोस्टेट क्यान्सर, भोजन नली र पाचन प्रणालीका क्यान्सर, सर्भाइकल, ओभ्यारियन, भेजिनल तथा भल्भ र गर्भाशय लगायतका क्यान्सरको उपचारमा प्रयोग गर्न सकिन्छ ।
वीर अस्पतालमा टोमोथेरापीको पूरै कोर्स डेढ लाख रुपैयाँमा हुन्छ भने भारतमा त्यही उपचार गर्न ५ लाखभन्दा बढी लाग्छ । निजी अस्पतालमा पनि कम्तीमा ३ लाख रुपैयाँ लाग्ने गर्छ ।
प्रतिक्रिया 4