Comments Add Comment

भारत र चीनबाट नपाएपछि बंगलादेशबाट मल पैँचो

१९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग गत मंगलबार नेपाललाई खाँचो परेको भन्दै ५० हजार मेट्रिकटन मल पैँचो मागे । बंगलादेशकी प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको प्रधानमन्त्रीले सोही दिन ट्वीटरमार्फत जानकारी दिए ।

दुई देशका प्रधानमन्त्री तहमा भएको छलफलपछि किसानमा मल पाइने आशा जगाएको छ । तर कतिपयले भने निकट छिमेकी भारत र चीनलाई छोडेर नेपालले किन बंगलादेशको मल रोज्यो भन्ने चासो राखेका छन् ।

नक्सा जारी र राम जन्मभूमिको विवादपछि नेपाल र भारतको सम्वन्ध चिसिएको मात्रै छैन, संवाद पातलिएको अवस्था छ । यही भएर नेपालले भारतसित मुन्टो बटारेर बंगलादेशसँग पहल गरेको हो त ?

भारतमै मल अभाव

ठेक्का पाएको ठेकदारका कारण धानमा हाल्ने मल अभाव हुने निश्चित भएपछि कृषिमन्त्री धनश्याम भुसालले मलको तत्कालीन जोहोबारे व्यक्तिगत र कुटनीतिक छलफल थालेका थिए । नजिकको छिमेकी र सजिलै आयात गर्न सकिने भएकाले सबैभन्दा पहिले मल खरिद वा पैँचोका लागि भारतसँग नै नेपालले प्रस्ताव गरेको थियो ।

कृषि मन्त्री  भूषालको व्यक्तिगत सम्बन्ध तथा अन्य नेताको चिनजानको आधारमा नेपालमा मलका विषयमा भारतीय अधिकारीसँग कुराकानी भएको थियो । स्रोतका अनुसार दिल्लीस्थित नेपाली राजदूतले पनि नेपाललाई मल चाहिएको बारे अनौपचारिक छलफल गरेका थिए ।

‘भारतको मनोविज्ञान बुझ्ने र ऊ सकारात्मक भए औपचारिक च्यानलबाट प्रक्रिया थाल्ने नेपालको सोच थियो,’ एक अधिकारी भन्छन् ।

नेपालले प्रस्ताव गरेको विषयमा भारतीय पक्षबाट कुनै रेस्पोन्स नभएको स्रोतले बतायो । ‘हामीले कुरा राख्यौँ तर उहाँहरुले केही जवाफ दिनु भएन,’ ती अधिकारीले भने, ‘पछि बुझ्दा उहाँहरुलाई पनि २ लाख मेट्रिक टन मल अभाव रहेछ ।’

त्यसपछि अर्को विकल्पमा गएको कृषि मन्त्रालय स्रोत बताउँछ । मल खरिदका लागि भारतसँग विगतमा त्यस्तो कुनै समझदारी नभएको पनि मन्त्रालयले जनाएको छ ।

चीनसँग अप्ठेरो प्रक्रिया

नेपाललाई तत्कालै मल चाहिएको विषयमा चिनीयाँ सरकारसँग पनि कुरा पुगेको थियो । चीनले दुईवटा सरकारी स्वमित्वको कम्पनीले मल उत्पादन गरिरहेको भन्दै ती कम्पनीसँग नै डिल गर्न लिखित पत्रमार्फत आग्रह गर्‍यो ।

‘मल तत्काल चाहिएको छ, तर चीनबाट अमूर्त र प्रक्रियागत कुरा आयो, त्यसमाथि आयातका झन्झटका कारण नेपालले थप पहल गरेन,’ स्रोत भन्छ । कम्पनीमा बुझ्दा मलको भाउ पनि मँहगो देखिएपछि अन्य मुलुकमा बुझ्न थालियो ।

दुई ठूला छिमेकी मुलक भारत र चीनबाट मल नआउने भएपछि ओमन, रसिया, साउदी अरब, बंगलादेश लगायतका मुलुकसँग तत्काल नेपालको गर्जो टार्न छलफल गरेपनि बंगलादेश मात्रै मल दिन राजी भएको मन्त्रालय स्रोत बताउँछ ।

१४ दिनमा मल आइपुग्ने दावी

दुवै देशका प्रधानमन्त्रीबीच मल लिन र दिन सहमति भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल ल्याउने तयारी तीब्र पारेको छ । मन्त्रालयका अनुसार दुई प्रधानमन्त्रीले कुरा गरेको दिनको १४औँ दिनभित्र मल ल्याई पुर्‍याउने गरी कार्यदल बनाएर काम अघि बढाइएको स्रोतले बतायो ।

बंगलादेशलाई पछि फिर्ता दिन सजिलो होस भनेर मलको गुणस्तर र प्याकेजिङको लेबलसमेत समेटिने गरी सम्झौताको खाका बनाइँदै छ । मल लिने समझदारी दुई देशका कुन तह र निकायबाट गर्ने भन्ने विषयमा कार्यदलले काम गरिरहेको छ । ढाकास्थित नेपाली राजदूत, कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन वा वाणिज्यस्तरमा रहेको सहसचिव तहबाट बंगलादेशी समकक्षीसँग मल लिन सम्झौता गरिने मन्त्रालयले जनाएको छ ।

समझदारीको मोडालिटीमा बंगलादेशलाई कसरी मलको पैँचौ तिर्ने भन्ने पनि टुंग्याइने छ । ग्लोबल टेण्डर गरेर ढाकामै मल पुर्‍याइदिने वा बंगलादेशले मल किन्ने तर नेपालले पैसा तिर्ने विकल्पमा छलफल अघि बढेको छ ।

नेपालसम्म मल ल्याउनकालगि बंलगादेशको सरकारी आयातकर्ता एजेन्सी, निजी व्यापारी तथा ढाकासम्म पहुँच भएका कारण भारत रेल्वेसँग पनि छलफल भई रहेको मन्त्रालयले जनाएको छ ।

अहिले ल्याउने मल धानको लागि नभई कात्तिकदेखि सुरु हुने तरकारी, तोरी र गहुँखेतिको लागि भएको मन्त्रालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment