Comments Add Comment

निद्रा खलबलियो, रोगले घेरा हाल्यो

काठमाडौं । झण्डै ४०० वर्ष अघि विलियम सेक्सपियरले निद्रालाई वरदान र अनिद्रालाई कष्टको रूपमा वर्णन गरेका थिए । निद्रा शारीरिक स्वास्थ्यको लागि समेत अत्यावश्यक छ । तर यसले संज्ञानात्मक सिपहरू जस्तै ध्यान, सिक्ने कार्य, सम्झिने शक्ति, र भावनात्मक नियमनलाई बढाउन सहयोग गर्ने गर्छ ।

निद्रा र स्वास्थ्यबीच एकअर्कामा अन्योन्याश्रित सम्बन्ध छ । निद्रा कम भयो भने स्वास्थ्य अवस्था खराब हुन्छ, स्वास्थ्य खराब भयो भने निद्रा आफैँमा कम हुने गर्छ । मान्छेको दुःखको पहिलो संकेत भनेकै बिग्रिएको निद्राले गरिरहेको हुन्छ ।

कोरोना भाइरसका कारण सिर्जित बेचैनीले धेरैको निद्रामा अवरोध सिर्जना गरेको विभिन्न अध्ययनको निष्कर्ष छ । पछिल्लो समय संयुक्त अधिराज्यमा गरिएको अध्ययनले त झण्डै ७५ प्रतिशतमा निद्राको समस्या रहेको उल्लेख गरेका छन् निद्रामा समस्या पुगेको बताउनेमध्ये पनि ७७ प्रतिशतले निद्राका कारण आफूहरुको दैनिकीमा समेत असर पु¥याएको बताएका छन् ।

निन्द्राको अभावले धेरै मानसिक र शारीरिक स्वास्थ्यका समस्याहरू निम्तिन सक्छ भन्ने चिकित्सकहरू बताउँछन् । जस्तै डिप्रेसन, मधुमेह, हृदय रोग र मोटोपना जस्ता समस्याहरू पर्याप्त निद्राको अभावका कारण सिर्जना हुन सक्छन् । पर्याप्त निद्राको अभावका कारण आँखामा समेत समस्या सिर्जना हुन सक्ने आँखा चिकित्सकहरू बताउँछन् ।

पछिल्लो समय विद्युतीय उपकरणहरूको बढी प्रयोगका कारण पनि हामीहरूको आँखा र शरीरको लागि समेत निद्राको आवश्यकता बढ्दै गएको छ । सामान्यतया उमेर समूह अनुसार चिकित्सकहरूले समेत सुत्ने समय यकिन गरेका छन् । जसअनुसार जन्मेदेखि ३ महिनासम्मका बच्चाको लागि १४ देखि १७ घण्टासम्म सुत्नु आवश्यक रहेको बताइन्छ । ४ देखि १२ महिनासम्मका बच्चाहरूलाई दैनिक १२ देखि १६ घण्टासम्म सुत्नुपर्छ, २ वर्षसम्मका बच्चाहरू ११ देखि १४ घण्टा, ३ देखि ५ वर्ष उमेर समूहका बच्चालाई १० देखि १३ घण्टा, ६ देखि १२ वर्ष उमेर समूहका बच्चालाई ९ देखि १२ घण्टा, १८ वर्षसम्मका किशोरका लागि ८ देखि १० घण्टा सुत्नुपर्छ भने बाँकी १८ देखि ६० वर्षसम्म उमेर समूहकाले ७ घण्टा कम्तीमा सुत्नुपर्ने चिकित्सकहरू बताउँछन् । ६० वर्षभन्दा माथिकालाई भने ८ या सोभन्दा धेरै समय सुत्नुपर्ने चिकित्सकको सुझाव छ ।

निद्रालाई असर गर्ने ४ तत्वहरू

निद्रालाई विभिन्न तत्वले असर गर्ने गर्छ । जसमध्ये मुख्य चार तत्वहरू निम्नानुसार छन् ।

स्वास्थ्य

हामीलाई थाहा छ कि खराब स्वास्थ्यले निन्द्रालाई असर गर्छ । त्यसैमाथि मानसिक समस्याको लागि त सबैभन्दा मुख्य कारण नै अनिद्रा रहेको विभिन्न अध्ययनहरूले देखाएको छ । डिप्रेसन र चिन्ताले नै मानसिक स्वास्थ्यमा समस्या निम्त्याउने गरेको छ । डिप्रेसन र चिन्ताको मुख्य कारण नै कम निद्रा रहेको पनि बेलायतबाट प्रकाशन हुने मेन्टलहेल्थ डटकमले जनाएको छ । स्वास्थ्यमा समस्या आउनुले मुख्यगरी निद्रामा समस्या सिर्जना गर्ने भएकोले निद्रालाई कन्जुस्याइँ गर्न नमिल्ने जानकारहरू बताउँछन् ।

वातावरण

वातावरणले पनि मान्छेको निद्रालाई प्रभावित गर्ने गर्छ । तपाईंको शयन कक्ष कस्तो छ ? टिभी हेर्ने समय र त्यहाँको वातावरण कस्तो छ ? खाना खाने ठाउँ आदिले पनि हाम्रो निद्रालाई प्रभाव पारिरहेको हुन्छ । तापक्रम, बाहिरी आवाज आदिले पनि पातलो निद्रा भएका व्यक्तिलाई असर गर्ने गर्छ ।

मनोवृत्ति

हाम्रो मानसिकताले हाम्रो निद्राको मुख्य कारण हो । दिउँसोको समस्यालाई रातभरि मनमा खेलाएर बस्ने कोही मान्छेको स्वभाव हुने गर्छ । त्यो आफैँमा निद्रा बिगार्ने कारण हो । मीठो निद्राका लागि दिनभरिको चिन्ता कार्यालयमा नै छाडेर आउनुपर्छ । यस्तो गर्न मान्छेको मनोवृत्तिले असर गरिरहेको हुनसक्छ । त्यसैले मनोवृत्ति पनि मानसिक समस्या वा अनिद्राको समस्या हो । समयमा सुत्ने र उठ्ने र कामको बीचमा पनि आरामको नीति लिन चिकित्सकहरू सुझाउँछन् ।

जीवनशैली

तपाईं के खाने र पिउने गर्नुहुन्छ ? त्यसले पनि निद्रामा असर गर्न सक्छ । सुत्ने बेलामा गह्रौं वा गुलियो खानेकुरा खानाले गहिरो निद्रालाई सहयोग गर्न सक्छ । झट्ट हेर्दा रक्सीका कारणले मान्छेले मीठो निद्रा पाएको अनुभव हुन सक्छ । तर यसले निद्राको गुणस्तरलाई भने कम गरिरहेको हुन्छ । दिनमा व्यायाम गर्नु पनि निद्रालाई सहयोग गर्ने राम्रो तरिका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment