Comments Add Comment

जनकपुरको मणिपाल मेडिकल कलेजको भवनमा आइसोलेसन बनाइने

१९ भदौ, जनकपुरधाम । प्रदेश २ सरकारले जनकपुरधामस्थित मणिपाल मेडिकल कलेजको भवनलाई आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने निर्णय गरेको हो । जनकपुरमा कोभिड विशेष अस्पताल नहुँदा संक्रमितको उपचारमा समस्या हुँदै आएको थियो ।

भारतीयको लगानीमा जनकपुरधाम उपमहानगरपालिका– १४ मुजेलियास्थित दुई दशकअघि निर्माण शुरु गरिएको मेडिकल कलेजको भवन निर्माण भएपनि सञ्चालनमा आउन सकेको थिएन ।

भारतको शैक्षिक संस्था मणिपाल टेक्निकल इन्स्टिच्युटले नेपाल सरकारबाट मान्यता लिई २०५१ सालमा चिकित्सा शिक्षण अस्पताल स्थापना गर्ने भन्दै गुठी संस्थान जनकपुरसँग लिजमा १७ विघा जग्गा लिएर भवन निर्माण गरेको थियो ।

यही भवनलाई प्रदेश सरकारले आइसोलेसनका लागि प्रयोग गर्न लागिएको हो ।

१० करोड थप्ने निर्णय

शुक्रबारको संकट व्यवस्थापन केन्द्रको बैठकले कोेरोना रोकथाम तथा नियन्त्रण कोषमा प्रदेश सरकारको तर्फबाट १० करोड रुपैयाँ थप गर्ने निर्णय पनि गरेको छ ।

प्रदेश सरकारले गत चैतमा २५ करोड रुपैयाँको कोष स्थापना गरेको थियो । रकमको आवश्यकता महसुस गरेर १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।

कोरोनाको महामारी रोकथाम र नियन्त्रण गर्नको लागि प्रदेश सरकारले प्रयोगशाला र अस्पताल व्यवस्थापनमा जोड दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment