Comments Add Comment

जंगलमा लगेर हत्या, भोलिपल्ट आफैंले दिए हराएको निवेदन

२१ भदौ, ललितपुर । अल्का अस्पतालकी कर्मचारी गीता केसीको हत्या उनकै भतिजाले गरेको पाइएको छ ।

प्रहरीले गीताका भतिजो निर्मललाई शनिबार पक्राउ गरेको छ । अनुसन्धानका क्रममा पक्राउ परेका निर्मलले गीतासँग अवैध सम्बन्ध रहेको बयान दिएका हुन् ।

महानगरीय प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी टेकप्रसाद राईले दुईबीच अवैध सम्बन्ध रहेको कुरा आएपनि हत्याको कारण स्पष्ट भइनसकेको अनलाइनखबरलाई बताए ।

प्रहरीका अनुसार गीता १७ भदौमा अस्पताल जान्छु भनेर घरबाट निस्किएकी थिइन् । तर उनी अस्पताल नगई निर्मलसँग लेलेको जंगलमा पुगेको पाइएको छ । त्यहाँ गीताले आफू मर्नु न बाँच्नुको स्थितिमा रहेको भन्दै आत्महत्या गर्ने प्रयास गरेको निर्मलको बयान छ । त्यहीक्रममा विवाद भएको र आफूले घाँटी थिचेको उनले बताएका छन् ।

तर हत्याको कारण लेनदेन वा अरु पनि हुन सक्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

आफैंले दिए जाहेरी

१७ गते आफैंले मोटरसाइकलमा राखेर लेलेको जंगलमा लगेर हत्या गरेका निर्मलले भोलिपल्ट गीता हराएको भन्दै प्रहरीमा उजुरी दिए । उनको श्रीमानले खासै वास्ता नगरेपछि निर्मल आफैंले महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो ।

प्रहरीले ललितपुर–२५ भैसेपाटीकी गीताको खोजतलास थाल्यो । शुक्रबार गोदावारी नगरपालिका–१०, मूलडोलस्थित लेलेको जंगलमा महिलाको शव भेटिएको थियो ।

त्यो शव गीताकै भएको शनिबार पुष्टि भयो । शवको पाटन अस्पतालमा पोष्टमार्टम गरिएको छ तर रिपोर्ट आउन बाँकी छ । निर्मल महानगरीय प्रहरी वृत्त, चापागाउँको हिरासतमा छन् ।

अभियुक्तलाई ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि म्याद थप गरेर विस्तृत सोधपुछ गर्ने चापागाउँका डीएसपी कृष्णराज ओझाले बताए । उनले भने, ‘म्याद थप गर्नुअघि कोरोना जाँच गर्नुपर्छ, परीक्षण गरिसकेका छौं, रिपोर्ट आएपछि बयान लिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment