Comments Add Comment

सिमानामा भारतीयको समूहबाट कुटिएका रामदेवको मृत्यु

२२ भदौ, सप्तरी । नेपाल-भारत सीमा क्षेत्रमा भारतीय नागरिकको समूहले कुटपिट गर्दा एकजना नेपाली नागरिकको मृत्यु भएको छ ।

भारतीय नागरिकले गत भदौ ६ गते कुटपिट गर्दा सप्तरीको डाक्नेश्री नगरपालिका वडानम्बर ६ औरही निवासी रामदेव यादव घाइते भएका थिए ।

६५ वर्षीय यादवको उपचारको क्रममा आइतबार राति बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले बताए ।

यादवले लगाएको धानबालीमा भैंसी चराउन आएका भारतीय समूहलाई गाली गर्दा यादवमाथि कुटपिट भएको थियो ।

स्थानीयका अनुसार यादवले सीमा नजिकैको आफ्नो जग्गामा लगाएको धानबालीमा भारत बिहारको मधुवनी जिल्ला लौकहीका ७/८ जना युवक भैंसी चराउन आएका थिए ।

धानबालीमै भैंसी चराइरहेको देखेर यादव र उनका छोरा ललनले गाली गर्दा भारतीय समूहले लाठी तथा बाँसको भाटाले कुटपिट गरेको स्थानीयको भनाइ छ ।

विराटनगरका कुनै अस्पतालले लिएन भर्ना

कुटपिटबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइए पनि यहाँबाट विराटनगर रेफर गरिएको थियो । तर ५ दिनसम्म विराटनगरका सबै अस्पताल घुमाउँदासमेत कुनै अस्पतालले भर्ना नलिएको मृतक यादवका छोरा ललनले बताए ।

विराटनगरका अस्पतालले भर्ना नलिएपछि उनलाई धरान लगिएको थियो । धरानको अस्पतालले भर्ना लिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने एकजवना पक्राउ

कुटपिटमा संलग्नमध्ये एकजना भारतीयलाई नेपालतर्फ नै भैंसी चराउन आएको अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् ।

पक्राउ परेका भारतको लौकहीका १९ वर्षीय प्रदीपकुमार यादवलाई इलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखेर कुटपिट शीर्षकमा मुद्दा चलाइए पनि अब ज्यान मुद्दा शीर्षकमा मुद्दा चलाइने प्रहरी प्रबक्ता तिवारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment