
२२ भदौ, काठमाडौं । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीले चारजना कोरोना संक्रमित महिलालाई सुत्केरी गराएको छ । दुईजना सामान्य र दुईजनाको सिजरियनबाट सुत्केरी गराएको अस्पतालका डाइरेक्टर डा. संगीता मिश्रले जानकारी दिइन् ।
उनले भनिन्, ‘सुरुमा एकजना संक्रमितलाई पाटन अस्पतालमा रिफर गरका थियौँ । तर, सधैँ यसरी रेफर गरेर सम्भव नहुने निष्कर्षमा पुगेर संक्रमितको पनि डेलिभरी गराउन थालेका हौँ ।’ अस्पतालले गत जेठमा पहिलोपटक कोरोना संक्रमित महिलाको सुत्केरी गराएको थियो ।
अस्पतालले संक्रमित सुत्केरीको लागि १३ जना स्वास्थ्यकर्मीको टिम बनाएको बनाएको छ । संक्रमितको छुट्टै ब्लगमा राखेर सुत्केरी गराउँदै आएको पनि डा. संगीताले जानकारी दिइन् ।
‘एउटा टिमले १४ दिनसम्म काम गर्नुहुन्छ र १४ दिन क्वारेन्टाइनमा बस्नुहुन्छ । त्यसपछिको १४ दिन अर्को टिमले काम गर्छ ।’ स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न गाह्रो भए पनि नियमित सेवामा आँच आउन नदिएकोसमेत उनले बताइन् ।
अहिलेसम्म प्रसूति अस्पतालमा नौजना संक्रमित गर्भवति महिला भर्ना भैसकेका छन् । ‘पहिला लक्षणसहितका गर्भवतिलाई छुट्टै राख्ने गर्छौँ । कोरोना पुष्टि भएमा कोरोना डेलिभरी गर्ने ब्लकमा भर्ना लिन्छौँ,’ डाइरेक्टर डा. मिश्रले भनिन्, ‘अरु डेलिभरी जसरी हुन्छ संक्रमितको डेलिभरीको प्रक्रिया पनि त्यहीँ नै हो । यत्ति हो डेलिभरीमा संलग्न हुने स्वास्थ्यकर्मीहरुले पीपीई लगाउनुहुन्छ र अन्य सुरक्षाका सामग्रीको प्रयोग गर्नुहुन्छ ।’
विभिन्न ठाउँमा डेलिभरी गर्ने अस्पताल नै नपाएर गर्भवति महिला छटपटाइरहेको खबर आइरहेका बेला डा. मिश्रले भने संक्रमितको लागि प्रसूति अस्पतालको ढोका कहिल्यै पनि बन्द नहुने बताइन् ।
सुत्केरी हुने आमामा कोरोना संक्रमण भए पनि बच्चामा भने त्यसको कुनै असर नहुने पनि डा. मिश्रले बताइन् । उनले भनिन्, ‘आमा संक्रमित भए पनि बच्चामा त्यस्तो खतरा नहुँदो रहेछ । त्यसैले, जन्मिएका सबै शिशुको कोरोना परीक्षणको पनि आवश्यक छैन ।’
अहिले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल र प्रसूतिले संक्रमितको डेलिभरी गराउँदै आइरहेको छ ।
प्रसूति अस्पतालमा पछिल्लो पाँच महिना (चैत-साउन)मा ८ हजार ३९८ जना महिलाको सुत्केरी भएको छ ।
पछिल्लो समय ओपीडीमा नियमित जाँच गर्ने गर्भवति महिलाको संख्यामा १० प्रतिशतले कमी आए पनि सुत्केरी हुन आउनेको चाप भने उस्तै रहेको डा. मिश्रले बताइन् ।
प्रतिक्रिया 4