Comments Add Comment

मल किन्न सहकारीमै ओच्छ्यान ! महंगोमा बेच्नेलाई कारवाही भएन

कृषि ज्ञान केन्द्र र सहकारीवीच आरोप–प्रत्यारोप

२२ भदौ, चितवन । भरतपुर महानगरपालिका वडा नं. ५ को नवचन्द्रमा कृषि सहकारी संस्थाले सोमबार मल बाँड्ने चर्चा एक साता अघि नै चलेको थियो । त्यो सुनेका किसान आइतबार साँझ खाना खाएर सहकारीमै सुत्न म्याट बोकेर हिँडे । कोही राति ११ बजे सहकारीमा आएर सुते । कोही रातको अढाई बजेतिर लाइन लाग्न आइपुगे ।

बिहान उज्यालो हुँदासम्म सहकारी अगाडि झण्डै एक हजारभन्दा बढी किसान हातमा बोरा बोकेर उभिइसकेका थिए । कोरोना भाइरसको बढ्दो संक्रमणको समेत बेवास्ता गर्दै किसानहरु मलका लागि उभिएको दृश्यले सरकारलाई गिज्याइरहेको थियो । भरतपुर वडा नं. ५ मा कोरोना संक्रमितसमेत भेटिएकाले सहकारी यसअघि एक साता बन्द गरेर खोलिएको सहकारीका अध्यक्ष कृष्ण चापागाईले बताए ।

चितवनका विभिन्न सहकारी अगाडि हिजोआज यस्तै ठूल्ठूला भिडहरु देख्न पाइन्छ ।

आइतबार रातिदेखि मल लिन सहकारीमा लाइन लागेका किसानमध्ये सहकारीका शेयर सदस्य २२५ जनाले १० केजी र सहकारी बाहिरका १५० जना किसानले ५ केजीका दरले मल पाए । लाइनमा बसेका झण्डै ५ सय किसान भने रित्तै हात घर फर्किए ।

यो सहकारीले सोमबार जम्मा ६० बोरामात्रै मल बाँडेको अध्यक्ष चापागाई बताउँछन् । ‘हाम्रोमा माग ६ सय बोराको छ, अहिलेसम्म जम्मा ८० बोरा बाड्यौं, आफ्नै शेयर सदस्यहरुले समेत मल पाउनुभएको छैन’ चापागाईले भने, ‘मल पाउने आशामा किसानहरुको हैरानी देख्दा निकै दुःख लाग्छ । फोन गर्नुहुन्छ, छैन भनेर पठाउनुपर्ने अवस्था छ ।’

सहकारी र ज्ञान केन्द्रवीच आरोप–प्रत्यारोप

सहकारीका अध्यक्ष चापागाईले मल उपलब्ध गराउने निकायले पक्षपातपूर्ण व्यवहार गरेको बताए । ‘कुनै सहकारीलाई एक हप्तामा नै दुईपटक मल दिएर बाँडेको पनि देखियो, कसैले पाएकै छैनन्’ उनी भन्छन्, ‘यो त राज्यको निकम्मापन हो नि । पहुँच हुनेहरुले पाइरहेकै छन् ।’

उता कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकाल किसानले मल समयमा र भनेजति नपाएको सत्य भए पनि पहुँच भएकालाई बढी दिएको भन्ने आरोप गलत भएको बताउँछन् ।

‘हामीले कसैलाई पनि पक्षपात गरेका छैनौं, अघिल्ला बर्षहरुमा बाँडेको परिणाम, किसानहरुको संख्या र क्षेत्रफल सबैलाई हेरेर वितरण गर्न भनेका छौं’ ज्ञान केन्द्रका प्रमुख ढकाल भन्छन्, ‘बरु सहकारीहरुले नै मल लुकाउने, आफन्त र नातागोतालाई बाँड्ने, किसानलाई दुःख दिने, भौतिक दूरी नराखी वितरण गर्ने, बढी रकम लिने जस्तो देखिएको छ, त्यो कारवाहीको विषय बन्न सक्छ ।’

कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख ढकालले मल बाँड्दा भौतिक दूरी कायम गरेर मात्रै बाँड्न सहकारीहरुलाई स्पष्ट निर्देशन दिइएको भए पनि त्यसको पालना नगरेको पाइएको बताए ।

उनले किसानलाई पोका–पोका बनाएर मल दिन सहकारीहरुलाई निर्देशन दिइएको बताए ।

चितवन जिल्लामा २७ हजार चार सय ४५ हेक्टरमा धान खेती हुँदै आएको छ । यतिबेला किसानका खेतमा धान पोटाउने बेला भएको छ । अबको १५ दिनमा धान निस्कन्छन् । त्यो भन्दा अगाडि नै मल हाल्न सके उत्पादन राम्रो हुने थियो भन्ने आशा किसानको छ ।

तर, मल पाउन भने कोरोनाको डर लिएर महाभारत नै लड्नुपर्ने जस्तो अवस्था यहाँ छ । जिल्लामा साउनयता ४२६ मेट्रिक टन युरिया मल वितरण भएको छ ।

चितवनमा प्रत्येक वर्ष १५ हजार मेट्रिक टन मल आवश्यक पर्छ । माग हरेक बर्ष बढ्दै गएको छ । धानको सिजनमा जिल्लामा २१ सय मेट्रिक टन युरिया आवश्यक हुन्छ ।

जिल्लामा कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले मल बाँड्दै आएका छन् । अघिल्लो बर्ष युरिया बाँडेको कृषि सामाग्री कम्पनी लिमिटेडमा यस बर्ष मल आएको छैन । मल आउने सम्भावना पनि निकै कम रहेको कृषि सामाग्री कम्पनी लिमिटेडका प्रमुख रविन्द्र गौतमले बताए ।

जिल्लामा विगत ६ बर्षदेखि साल्ट ट्रेडिङ कर्पोरेसनले पनि मल वितरण गर्दै आएको छ । १०३ सहकारी मार्फत कुल मागको ३० प्रतिशत मल कर्पोरेशनले वितरण गर्छ । कर्पोरेशनका चितवन शाखा प्रमुख बुद्धिविनोद दाहालले किसानहरूको मागअनुसार युरिया मल पुर्‍याउन नसकिएको बताउँछन् ।

बढी शुल्क नलिन सहकारीलाई चेतावनी

उता पूर्वी चितवनको रत्ननगर बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाले अनुदानमा प्राप्त गरेको रासायनिक मल निकै महंगो मूल्यमा किसानलाई बेच्ने गरेको तथ्य सार्वजनिक भएको छ ।

सहकारीहरूले साल्ट ट्रेडिङ कर्पोरेसनबाट प्रतिबोरा ७५२ रुपैयाँ ५० पैसामा खरिद गरेको १ हजार २५० रूपैयाँसम्म बिक्री वितरण गर्दै किसानलाई ठग्न थालेको गुनासो आउन थालेको छ ।

कर्पोरेशनका चितवन शाखा प्रमुख बुद्धिविनोद दाहालले सहकारीले बढीमा २० रूपैयाँप्रति केजी तथा प्रतिबोरा एक हजार रुपैयाँभन्दा बढी मूल्यमा विक्री बितरण गर्न नपाउने बताए ।

कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख ढकालले पनि सहकारीहरूले लगेको अनुदानको मलमा बढी मूल्य किसानसँग लिएको गुनासो आएको बताए ।

ज्ञान केन्द्रले किसानहरूसँग मलमा बढी रकम लिएको गुनासो आएपछि सोमबार एक सूचना जारी गरी तोकिएको भन्दा बढी शुल्क नलिन सहकारीहरुलाई चेतावनी दिएको छ ।

ज्ञान केन्द्रले जारी गरेको सूचनामा भनिएको छ ‘हालको अप्ठ्यारो परिस्थितिमा समेत सिफारिस भएर लगिएको रासायनिक मल पनि सहकारीका पदाधिकारीहरुले आफ्ना नातागोता, ईस्टमित्र एवं चिनेजानेको व्यक्तिहरुका लागि भनेर दिने, मल लुकाउने, बढी मूल्यमा बिक्री गर्ने र कालोबजारी गर्ने गरेको गुनासो सुनिनु आफैंमा दुःखद तथा कानूनीरूपमा दण्डनीय विषय हो ।’

केन्द्रले यस्ता गैह्रकानूनी क्रियाकलाप गर्नेलाई प्रचलित कानूनबमोजिम कारवाही गर्ने चेतावनी दिएको छ । केन्द्रले केही दिनभित्रै थप २५० मेट्रिक टन मल आउने र समन्यायिक वितरण गरिने भएकाले अनावश्यक भिडभाड नगर्न र नआत्तिन किसानहरूलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment