Comments Add Comment

भरतपुर कोरोना ल्याबका प्राविधिक : कोही संक्रमित, कोही बिरामी

पीसीआर परीक्षण प्रभावित हुने चिन्ता

२३ भदौ, चितवन । चितवनको भरतपुर अस्पताल मातहतको कोभिड–१९ प्रयोगशालामा काम गर्ने एक जना प्राविधिकलाई कोरोना संक्रमण भएको छ भने, केही प्राविधिकहरु बिरामी पर्न थालेका छन् । संक्रमितको सम्पर्कमा आएका अन्य प्राविधिकहरुको भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

एक सातापछि फेरि उनीहरुको जाँच गर्ने जनाइएको छ । प्रयोगशालामा दिनरात लगातार काम गर्ने प्राविधिकले न त आराम पाएका छन् न त सरकारले घोषणा गरेअनुसारको सुविधा नै ।

विगत ६ महिनादेखि होटलमा बसेर प्रयोगशालामा काम गरिरहेका प्राविधिकहरूलाई स्वास्थ्य समस्या देखिएपछि कामसमेत प्रभावित हुने देखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए । प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले पनि आफूलाई बिसन्चो भएको भन्दै आरामको जरुरत रहेको जानकारी अस्पताललाई गराएको मेसु डा. तिवारीले बताए ।

केही प्राविधिकहरूले सकिनसकी प्रयोगशालामा आएर काम गरिरहेका छन् । गएको चैत २१ गतेबाट सुरु भएको प्रयोगशालामा निरन्तर काम गर्ने सिनियर प्राविधिकहरूले आराम नपाउँदा बिरामी पर्न थालेका हुन् । ‘कामको अति नै चाप भयो, धपेडी पनि भयो, आराम पाइएन,’ प्रयोशालामा काम गर्ने एक प्राविधिकले भने, ‘दिनभर एसीको चिसो, बाहिर तातो मौसम, होटलको बास, मनोटोनस पनि भैयो, विगत ६ महिनादेखि बन्दी जीवन जस्तो बाँचिरहेका छौं, निकै समस्या भयो ।’

प्राविधिकहरुलाई टाउको दुख्ने, ढाड दुख्ने, रुघाखोकी लाग्नेलगायतका समस्या देखिएका छन् ।

प्रयोगशालामा हाल ९ जना प्राविधिकहरूले काम गरिरहेका छन् । दुई जना प्राविधिकहरुलाई भरतपुर क्यान्सर अस्पतालबाट ल्याइएको थियो ।

क्यान्सर अस्पताल आफैंले कोरोना परीक्षण ल्याब खोलेपछि उनीहरु भरतपुर अस्पतालको ल्याबबाट विदा भएका छन् । उनीहरुको ठाउँमा राख्नका लागि थप दुई जना प्राविधिकलाई तालिम दिइसकिएको अस्पतालका मेसु डा. श्रीराम तिवारीले बताए ।

अस्पतालका मेसु डा. तिवारीले प्राविधिकहरु बिसन्चो हुँदाहुँदै पनि आएर सकेको काम गरिरहेको बताए । प्रयोगशालामा दैनिक ३ सयभन्दा बढी नमूना परीक्षण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment