Comments Add Comment

कोरोनाले दलहरु पनि ‘आइसोलेसन’मा, कसैलाई चुनावको चिन्ता कसैलाई राजतन्त्रको

अनलाइनखबर फाइल तस्वीर

२४ भदौ, काठमाडौं । यतिबेला सिंगै देशको ध्यान कोरोना महामारीमा एकत्रित छ । सत्तारुढ दलको बारम्बार प्रकट हुने किचलो बिर्सने हो भने अहिले राजनीतिक दलहरु एक प्रकारले ‘आइसोलेसन’ कै अवस्थामा छन् । चुनाव आउन अझै अढाई वर्ष बाँकी नै भएकाले दलहरुलाई जनताबीच जान कुनै आतुरी पनि छैन ।

त्यसो त चुनाव आउँदा मात्रै गाउँ पस्ने गरेको आरोप पहिल्यैदेखि नेपालका दलहरुलाई लाग्दै आएको हो । अहिले त झन् कोरोनाले गर्दा गाउँ पस्ने कुरा नै आएन । त्यसैले सार्वजनिक ओहदामा नरहेका नेताहरु अहिले फुर्सदिला बनेका छन् । केही जल्दावल्दा युवा नेताहरुको पनि सामाजिक सञ्जालमा स्टाटस लेख्नेभन्दा अरु सक्रियता देखिँदैन ।

हुन त यस्तो संकटका बेलामा दलहरुले आआफ्नो तवरबाट भूमिका खेल्नुपर्ने हो । सत्तारुढ दलले सरकारलाई सही दिशामा डोर्याउने र विपक्षी दलहरुले सरकारको खबरदारी गर्ने संवैधानिक दायित्व पनि हो । तर, न सत्ताधारीले आफ्नो भूमिकामा न्याय गरेका छन् न विपक्षीले । सत्तारुढ नेकपाका नेताहरुलाई सरकार गिराउने र जोगाउने खेल खेल्दै फुर्सद न भने विपक्षी कांग्रेस चैनसित सुतिरहेको छ ।

साना दलहरुमा भने छटपटाहट् छ । कारण- कोरोनाको महामारी बढिरहे पार्टीका आन्तरिक काम सकाएर जनताका सामु जान नभ्याइएला कि भन्ने चिन्ता । अर्को चुनावलाई हेरेर रणनीति बनाइरहेका यी दलहरु जनताको ध्यान खिच्न विभिन्न उपाय लगाइरहेका छन् । जनता समाजवादी कांग्रेस र कम्युनिस्टको विकल्प बन्न खोजिरहेको छ । हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गर्दै आएको राप्रपा पनि एकजुट भएर अगाडि बढिरहेको छ । विवेकशिल र साझा पार्टी रफ्तार लिन खोज्दै छन् ।

नेपाली कांग्रेस आगामी चुनावमा ठूलो दल हुने दाउमा छ । तर, आफूले राम्रो गरेर होइन कि नेकपा नेतृत्वको सरकार अलोकपि्रय हुनुको फाइदा लिने चेष्टा कांग्रेसले गरिरहेको छ । नेकपाका नेताहरु भने २५ वर्ष, ५० वर्ष कम्युनिस्टको विकल्प नआउने दाबी गरिरहेका छन् ।

कोरोनाको महामारीका बीच मुख्य राजनीतिक दलका गतिविधिहरुलाई यहाँ समेट्ने प्रयास गरिएको छ :

नेकपा : शीर्ष नेताहरु जुध्दै ठिक्क

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तत्कालीन एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताले अझै पूर्णता पाएको छैन । माथिल्लो तहमा एकताका काम सकिए पनि जिल्ला कमिटीभन्दा तलका नेतृत्वले सपथ लिन बाँकी नै छ ।

गैरभौगोलिक प्रदेश संगठनको एकता, संगठित सदस्यता वितरण, बैचारिक तथा नीतिगत दस्तावेज निर्माण र त्यसमाथि बहस जस्ता कार्य हुन सकेको छैनन् । आगामी चैतमा महाधिवेशन गर्ने त भनिएको छ, त्यसको कुनै तयारी सुरु भएको छैन ।

कोरोनाले नेकपालाई जनताको काम गर्न रोके पनि शीर्ष नेताहरु आपसमा जुध्ने अवसर भने मज्जैले प्रदान गर्यो । दुईपटक सरकार ढल्नबाट जोगियो । पार्टी फुटको संघारमा पुगेर रोकियो । देशमा कोरोनाको संकट गहिरिएका बेला नेकपाका नेताहरु भने कुर्सी तानातानको खेलमा निर्लिप्त थिए । पार्टीको आन्तरिक विवाद र कोभिड -१९ कारण सरकारबाट भए गरेका कामको जनतालाई जानकारी दिन नपाएको ओली पक्षको गूनासो छ ।

३ जेठ २०७५ मा दुई पार्टी औपचारिक रुपमा एक भएका थिए । त्यसयता एकिकृत पार्टीको केन्द्रीय समितिको दुईवटा बैठक बस्यो । एउटा- सपथ खान र अर्को- पार्टी काम र सरकारको समिक्षा गर्न ।

गत माघ १५ देखि १९ गतेसम्मको केन्द्रीय समितिको दोस्रो बैठकले आगामी चैतमा महाधिवेशन गर्ने तय गरेको छ । तर, राष्ट्रिय महाधिवेशनको समग्र कार्यतालिका भने अझै बन्न सकेको छैन । बरु शीर्ष नेताहरुको झगडाको सिको तल्ला कमिटीहरुले गर्न थालेका छन् । विद्यार्थी संगठनका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङबीच त्यस्तै अभ्यास भइरहेको छ ।

पछिल्लो समय सहसंयोजक तामाङले शिक्षामन्त्रीलाई २१ बुँदे ज्ञापनपत्र बुझाए । थाहै नदिइ सहसंयोजकले संगठनको लेटरप्याड प्रयोग गरेको आरोप संयोजक महरले लगाएका छन् र कारबाहीको चेतावनी दिएका छन् । सहसंयोजक तामाङले पनि कारबाही गरेर देखाउन संयोजक महरलाई चुनौती दिएका छन् ।

नेपाली कांग्रेस : महाधिवेशनको माला जप्दै

प्रमुख विपक्षी नेपाली कांग्रेस १४ औं महाधिवेशनको तयारीमा छ । तर, कोभिड-१९ का कारण महाधिवेशनका केन्द्रित गतिविधि प्रभावित भएका छन् ।

२२ असारको केन्द्रीय समिति बैठकले तय गरेको कार्यतालिका अनुसार आन्तरिक समायोजन १० साउनसम्म सक्नुपर्ने थियो । तर, अझै २६ जिल्लाको संगठन समायोजनको काम बाँकी छ ।

महाधिवेशनका लागि महत्वपूर्ण काम हो- क्रियाशील सदस्यता वितरण र नवीकरण । यो पनि प्रभावित भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार ६५ जिल्लाले क्रियाशील सदस्यता लिएर गएका छन् । तीमध्ये ३५/३६ जिल्लामा हाल निषेधाज्ञा र लकडाउन छ ।

अनलाइनखबर फाइल

क्रियाशील सदस्यता वितरण नै रोकिएपछि अरु गतिविधि हुने कुरै भएन । कार्यतालिका अनुसार क्रियाशील सदस्यताको अन्तिम सूची मंसिरसम्म सार्वजनिक गर्नुपर्नेछ । क्रियाशिल सदस्यता वितरण र नविकरण सकिएपछि तल्लो तहबाट अधिवेशन सुरु हुन्छ । केन्द्रीय महाधिवेशनको मिति फागुन ७-१० का लागि तय भएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्, ‘अहिलेलाई चाँडै कोरोना साइजमा आउला, मान्छे मर्ने क्रम रोकिएला, जनजीवन सहज होला र तोकिएकै मितिमा अधिवेशन होला भन्ने आशा र अनुमान गरौं ।’

प्रवक्ता शर्माले भने जस्तै कांग्रेसको महाधिवेशन तोकिएकै समयमा हुने आशा मात्रै गर्न सकिन्छ । बढ्दो कोरोना संक्रमणको महामारी, आन्तरिक संरचनामा समायोजन, सदस्यता वितरण, वर्षायाम र चाडबाडले कार्यतालिकाअनुसार काम हुन गाह्रो हुने देखिन्छ ।

कांग्रेसको विधानअनुसार प्रत्येक चार वर्षमा महाधिवेशन भएर नयाँ नेतृत्व चयन हुनुपर्ने हो । २० फागुन ०७२ मा सम्पन्न महाधिवेशनबाट सभापति चुनिएका शेरबहादुर देउवाको नियमित चार वर्षे कार्यकाल गत १९ फागुनमा नै सकिएको हो । तर, विधानले दिएको विशेष अवस्थामा एक वर्ष कार्यकाल थप गर्न पाउने सुविधालाई टेकेर सभापति देउवाले पार्टीका सबै तहको कार्यकाल एक वर्ष थप गरे ।

थपिएको एक वर्षमा समेत महाधिवेशन गर्न गाह्रो हुने देखिन्छ । यस्तोमा संविधानले ६ महिना थप गर्न सकिने सुविधा दिएको छ । कोभिड-१९ लाई देखाएर सभापति देउवाले पुनः ६ महिना कार्यकाल थप गर्ने सुविधा लिन सक्छन् । कांग्रेसमा यो विषय अहिले छलफलमा छ ।

जसपालाई अर्को चुनावको चिन्ता

नेकपा र कांग्रेसपछिको तेस्रो ठूलो दल जनता समाजवादी पार्टीलाई भने आगामी चुनावको चिन्ताले सताउन थालेको छ । कोभिड-१९ का कारण समायोजनको काम सकाउन नपाउँदै चुनाव आउने हो कि भन्ने चिन्तामा नेताहरु छन् ।

गत वैशाख १० गते तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) एक भई जसपा गठन गर्ने घोषणा गरेका थिए । एकता हुनुअघि राजपामा ६ सदस्यीय अध्यक्षमण्डल थियो । विभिन्न ६ वटा पार्टी एकीककरण भएर बनेको राजपाको अध्यक्षमण्डलमा मात्र होइन, तल्ला कमिटीहरुमा पनि ६ जनासम्म अध्यक्ष छन् । राजपाले नै ६ वटा पार्टीको एकिकरण काम सकाइसकेको थिएन ।

यस्तै, समाजवादी पार्टीको विभिन्न कमिटीमा समायोजनको काम बाँकी थियो । समायोजन भएका कतिपय कमिटीमा दुई जना नेतृत्वमा थिए । केन्द्रीय कमिटीदेखि बिभिन्न तहका कमिटीमा अहिले पनि राजपाका ६ जना र समाजवादीका २ जना नेतृत्वमा छन् । उक्त टिमलाई एउटै बनाएर एक जना नेतृत्वमा ल्याउन जसपालाई निकै कसरत गर्नुपर्ने हुन्छ ।

कांग्रेस र कम्युनिस्टको विकल्पका रुपमा उदाएर देश हाक्ने जसपाको उद्देश्य छ । यो उद्देश्य पुरा गर्न सबैभन्दा पहिले त एकताको सन्देश लिएर जनतामा जानुपर्ने हुन्छ । कोभिड-१९ कारण जसपा जनतामा जान सक्ने अवस्था छैन । पार्टी एकता र संगठन समायोजनको काम प्रभावित भएको छ ।

जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठ भन्छन्, ‘कांग्रेस कम्युनिस्ट पार्टीका संरचना छन । तर, हाम्रो संरचना नै बन्न सकेको छैन । भएकोलाई थप मजबुत बनाउनुपर्ने छ । कोभिड-१९ ले गर्दा अर्को चुनावमा सोचेजस्तो नहुने हो कि भन्ने चिन्ता लाग्न थालेको छ ।’
कोभिड-१९ को जोखिम कम भएलगत्तै पार्टीको गतिविधिले रफ्तार लिने श्रेष्ठको भनाई छ । ‘जोखिम कम भएका स्थानीय तहमा अहिले पनि केही न केही गतिविधि भएका छन् । जोखीम कम भएपछि रफ्तारमा जान्छौं’ उनले भने ।

राजसंस्था फर्काउन बिलम्ब हुने भो : राप्रपा

संसदभन्दा बाहिर रहेको राप्रपाको आफ्नै चिन्ता छ । राप्रपाका नेताहरु कोरोना भाइरसका कारण नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गर्न र राजसंस्था फर्काउन बिलम्ब हुने भयो भनिरहेका छन् ।

‘कोभिङ-१९ ले पार्टीलाई ठूलो क्षति पुगेको छ । एकिकरण सकाउन पाएका छैनौं’ राप्रपाका नेता जनकराज पाठक भन्छन्, ‘अझ घाटा देशलाई हुने भयो । राष्ट्रलाई एकताबद्ध बनाउन सनातन हिन्दु राष्ट र राजसंस्था फर्काउन आवश्यक छ । जनतालाई बुझाउन नपाउँदा यी काममा विलम्ब हुने भो ।’

विगतमा राप्रपाका बिभिन्न धार थिए । गत २८ फागुनमा विभिन्न धारका बीचमा एकीकरण गरेर एउटै भएको घोषणा गरे । तर, एकीकृत पार्टीले निर्वाचन आयोगबाट वैधानिकता प्राप्त गरिसकेको छैन । पार्टी एकताको काम बाँकी नै छ ।

एकताको तयारीमा साझा-विवेकशील

सामाजिक सञ्जालमा अत्यधिक चर्चा पाउने तर चुनावमा राम्रो नतिजा निकाल्न नसक्ने दुई साना दल हुन् साझा र विवेशील नेपाली । विगतमा एकता भएर फुटेका यी दुई दल अहिले पुनः एकीकरणको प्रयासमा छन् ।

दुवैले संवाद समिति बनाएर एकता वार्तालाई अघि बढाएका हुन् । यद्यपि कोरोनाले उत्पन्न परिस्थितिका कारण उनीहरुको एकता प्रक्रियामा पनि गतिरोध आइरहेको छ । यसपालीको एकतामा जनतामाझ चर्चा कमाएका अन्य व्यक्ति र समूहलाई पनि समेट्ने यी दलको तयारी छ ।

साझा र विवेकशीलले जनताको ध्यान आकर्षण गर्न अरु पनि कसरत गरिरहेका छन् । अहिले कोरोनाका कारण अप्ठेरोमा परेकाहरुलाई उनीहरुले मिलेर खाना खुवाउने अभियान सुरु गरेका छन् । उनीहरुले यसलाई ‘तातो भात अभियान’ को नाम दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment