Comments Add Comment

कांग्रेसमा सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव : पौडेल तयार, देउवा मौन

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहेका उपसभापति विमलेन्द्र निधिले सभापतिमा आफ्नो पनि दाबेदारी प्रस्तुत गर्दै एउटा नारा दिएका छन्, १४ औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन ।

निधिले पहिलो पटक साउन अन्तिम साता देउवालाई भेटेर आफू सभापतिका उम्मेदवार हुन चाहेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए । तर आफै सभापति लड्ने तयारी गरिरहेका देउवाले त्यसमा सहमति जनाएनन् ।

अरुले पनि निधिको दाबीलाई गम्भीर रुपमा लिएनन् । किनकी या त उनले देउवालाई रोकेर संस्थापन पक्षको सभापतिको उम्मेदवार हुनसक्नुपर्छ, या त त्यहाँबाट बिद्रोह गर्नुपर्छ । निधिका लागि दुबै विकल्प फलामको च्युरा सरह छ ।

त्यसलाई बुझेका उनले सभापतिमा आफ्नो दाबीलाई भन्न छाडेका छन्, र सर्वसम्मत नेतृत्व चयनको नारा दिएका छन् । बुधबार १०७ औं बीपी जयन्तीको अवसरमा कांग्रेस केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल कार्यक्रममा पनि उपसभापति निधिले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् ।

फेरि कम्युनिस्ट पार्टी सत्तामा आयो भने संविधानको रक्षा गर्न नसक्ने भन्दै उनले भने, यो संविधानको रक्षा गर्न १४औं महाधिवेशनमा एकता वैचारिक आधारमा गरौं ।’

सर्वसम्मत रुपमा पार्टीको नेतृत्व चयन गर्न सकियो भने कार्यकर्ता, मतदाता र जनताको विश्वास जित्न सक्ने भन्दै उनले वैचारिक एकताका लागि नौसुत्र अघि सारेका छन् । राष्ट्रिय, लोकतन्त्र, समाजवाद गणतन्त्र, संघीयता, मिश्रित निर्वाचन प्रणाली, समावेशीता, धर्म निरपेक्षता, अहिंसा र शान्तिलाई वैचारिक एकताको सुत्र बनाउनुपर्ने उपभापति निधिले बताएका छन् ।

निधिपछि बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले निधिको सर्वसम्मत नेतृत्व चयनको नाराबारे बोलेका छन्, तर सभापति देउवाले यो मुद्दालाई वास्तै गरेनन् ।

वरिष्ठ नेता पौडेलले आफू एकतवादी भएको बताए । उनले भने, ‘एकता चाहिन्छ तर निष्पक्ष र पारदर्शी मूल्यांकनका आधारमा एकता गरौं । सबै ढाकछोप गरेर चल्दैन ।’

संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवारमा दाबी गर्दै आएका पौडेलले उपभापति निधिको नाम नलिई भनेका छन्, ‘कहाँ, कसको नेतृत्वमा, कसरी हुन्छ एकएक तर्क अगाडि सारेर सर्वसम्मत गरौं । म त्यसका लागि तयार छु ।’

कार्यक्रमको सुरुमै बोलेका पार्टी महामन्त्री शशांक कोइरालाले भने १४ औं महाधिवेशनमा गुट–उपगुट रहने बताएका थिए । सभापतिमा दाबी गर्दै आएका उनले भने, ‘कांग्रेस एकजुट भएर अगाडि बढ्नुपर्छ । तर आगामीसम्म गुट–उपगुट रहन्छ । त्यसपछि एकजुट भएर अगाडि बढ्न सक्नुपर्छ ।’

महाधिवेशन कसरी हुन्छ ?

भर्चुअल कार्यक्रममा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी फागुनमा महाधिवेशन हुन नसक्ने सन्देश पाइसकेको भन्दै केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरे । ‘फागुनमा नभएपनि केही महिनापछि गर्नुपर्छ’ उनले भने, ‘यसका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएर जीवन्त छलफल गर्नुपर्छ ।’

कम्युनिस्ट सरकारले देश हितमा केही नगर्ने तर अबको चुनाव पनि निश्पक्ष हुन नदिन भएकाले पनि महाधिवेशन गरेर पार्टीलाई एक बनाउनुपर्ने उनले बताए । ‘अब आउने नेतृत्वले पार्टीलाई एकताबद्ध गरेर मात्र पुग्दैन, लोकतन्त्रमा विश्वासमा राख्ने सबैलाई साथ लिन सक्नुपर्छ’ उनले भने, ‘त्यसका लागि बैठक बसेर आन्तरिक समस्या हल गर्नुपर्छ, अविश्वासलाई हटाउनुपर्छ ।’

वरिष्ठ नेता पौडेलले समायोजन, क्रियाशील सदस्यता वितरण रोकिएको भन्दै असन्तुष्टि जनाए । महासमिति बैठकमा आफूले समयबद्ध योजना बनाएर काम गरौं भन्दा नसुनेको भन्दै उनले भने, ‘समयबद्ध योजना बनाएको भए चार वर्षमै महाधिवेशन भइसक्थ्यो । नभए पनि क्रियाशील सबै टुंगिसक्थ्यो ।’

सहज वातावरण भएको बेला असहज अवस्था भनेर कार्यसमितिको म्याद थपेको भन्दै उनले अहिले असहज अवस्था आएको बेला के गर्ने भन्ने प्रश्न गरेका छन् । उनले अघि भने, ‘महाधिवेशनलाई कसरी गर्न सकिन्छ भनेर ध्यान दिऊँ । समयमा गर्न सकेनौैं भने स्थानीय चुनाव आउँछ, त्यसलाई अठ्याउँछ ।’

देउवाको जवाफ : मैले कहिले नगर्ने भनेको छु र ?

भर्चुअल कार्यक्रममा सभापति देउवाले पनि पार्टीमा सबै एक हुन जरुरी रहेको बताए । तर उनले उपसभापति निधिका सर्वसम्मत नेतृत्व चयनको प्रस्तावबारे केही बोलेनन् ।

१४ औं महाधिवेशनबारे नेताद्वय पौडेल र सिटौलाले उठाएको प्रश्नतर्फ संकेत गर्दै सभपति देउवाले आफूले महाधिवेशन नगर्ने भनेर कहिल्यै नभएको बताए । संविधान अनुसार अब ६ महिना मात्र म्याद थप्न सकिन्छ भनेर अरुले भनिरहन नपार्ने भन्दै उनले भने, ‘सबै साथीहरूले जे भन्छन्, त्यही हुन्छ ।’

आफूले कम्युनिस्ट आयो भने दुःख पाइन्छ भन्दा नसुनेको तर अहिले कम्युनिस्टबाट प्रजातन्त्रमाथि नै खतरा भएको उनले बताए । त्यसविरुद्ध लड्नुपर्ने बेला आएको भन्दै देउवाले भने, ‘आन्दोलन गर्ने पक्षमा थियौं, कोरोनाले गर्दा भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment