Comments Add Comment

क्यानले खेलाडीको खातामा तलब पठायो, कुन खेलाडीले कति पाउँछन् ?

२५ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सिनियर क्रिकेट खेलाडीको एक वर्षको तलब पठाएको छ । आईसीसीबाट प्राप्त एक वर्षको रकम क्यानले बुधबार खेलाडीको बैंक खातामा जम्मा गरिदिएको हो ।

२२ जना खेलाडी र एक टेक्निकल एनालिस्टसहित २३ जनाको तलब क्यानले पठाइसकेको स्रोतले जनाएको छ । तर क्यानले भने अहिलेसम्म २०१९ को ग्रेडिङ लिस्ट र तलब पठाएकोबारे केही सार्वजनिक गरेको छैन ।

क्यानले यसअघि आईसीसीको मागअनुसार २२ खेलाडी र एक जना टेक्निकल एनालिस्टसहित २३ जनाको विवरण आईसीसीमा पठाएको थियो । त्यहीअनुसार सेप्टेम्बर १ मा आईसीसीले रकम निकासा गरेको थियो ।

पछिल्लो पटक नेपाली खेलाडीले २०१७ र २०१८ को तलब २०१९ को फेब्रुअरीमा एकुमष्ट प्राप्त गरेका थिए ।

यसपटक तीन ग्रेडमा रहेका सबै खेलाडीहरुले १० हजार बढी तलब पाउनेछन् । क्यानले १० हजार बढाउन गरेको प्रस्ताव आईसीसीले स्वीकार गरेर तलब पठाएको हो ।

कुन ग्रेडका खेलाडीले कति तलब पाउँछन् ?

हरेक ग्रेडका खेलाडीले पाउने तलबमा १० हजार वृद्धि भएपछि अब ‘ए’ ग्रेडमा रहेका खेलाडीले मासिक ४५ हजार रुपैयाँको दरले प्राप्त गरेका छन् । यस्तै ‘बी’ ग्रेडमा रहेकाले ३५ र ‘सी’ ग्रेडमा रहेकाले २५ हजार पाउनेछन् । यसअघि ‘ए’ मा हुनेले ३५ हजार ‘बी’मा हुनेले २५ हजार र ‘सी’ मा हुनेले १५ हजार पाएका थिए ।

अब ‘ए’ ग्रेडका खेलाडीले एक वर्षको एकमुष्ट ५ लाख ४० हजार पाएका छन् । यस्तै ‘बी’ ग्रेडका खेलाडीले ४ लाख २० हजार र ‘सी’ ग्रेडका खेलाडीले ३ लाख पाएका छन् ।

यस्तै टेक्निकल एनालिष्ट रमन शिवाकोटीले ‘सी’ ग्रेडका खेलाडीको बराबर तलब पाउनेछन् ।

कुन ग्रेडमा कुन खेलाडी ?

पछिल्लो पटक २०१७ र २०१८ को तलब पाउँदा तीन ग्रेडमा २१ जना खेलाडी थिए । २०१९ को लागि अपडेट भएको ग्रेडिङ लिस्टमा २२ जना छन् । जसमा ‘ए’ र ‘बी’ ग्रेडमा समान ८ जना छन् भने ‘सी’ ग्रेडमा ६ जना छन् ।

२०१९ मा नखेलेका खेलाडीहरु ग्रेडिङबाट बाहिरिएका छन् भने २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका खेलाडीहरुले इन्ट्री पाएका छन् ।

कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित ८ जना ‘ए’ ग्रेडमा छन् ।

‘ए’ ग्रेड : ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषावकर, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र विनोद भण्डारी ।

‘बी’ ग्रेड : अभिनाश बोहोरा, आरिफ शेख, बसन्त रेग्मी, ललितनारायण राजवंशी, रोहित पौडेल, पवन सराफ, सन्दिप जोरा र सुशन भारी ।

‘सी’ ग्रेड : राजु रिजाल, प्रदीप ऐरी, रसिद खान, इशान पाण्डे, कुशल मल्ल र कुशल भुर्तेल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment