+
+

स्वामी विवेकानन्द : पूर्वीय दर्शनका कुशल व्याख्याता 

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २६ गते १९:१९

सन् १८९३ को सेप्टेम्बर ११ को दिन अमेरिकाको सिकागोमा विश्वभरिका विभिन्न धर्मका धार्मिक चिन्तकहरूको  भेला हुँदै थियो । सबै धर्मका गन्यमान्य व्यक्तित्वलाई आफ्नो धर्मको विषयमा चर्चा गर्नको लागि बोलाइएको थियो ।

भारतबाट हिन्दु धर्मको विषयमा बोल्नको लागि असामान्य रूपमा गेरुवस्त्र धारण गरेर अमेरिका पुगेका थिए । झट्ट हेर्नेले उनलाई त्यो चामत्कारिक भाषणको लायक सम्झने गरेका थिएनन् । विश्वभरका धर्मगुरु भेला भएको ठाउँमा शान र आफ्नो दौलत देखाउनेको समेत भिड थियो । त्योबीचमा विवेकानन्दको त्यो गेरु वस्त्रधारी लवाइले सबैलाई अचम्ममा पारेको थियो ।

सोही क्रममा दुई जना भारतीय मूलका अमेरिकी आएर विवेकानन्दसँग परिचय गर्न तम्सिए । उनीहरूले विवेकान्दलाई गरेको प्रश्न हिन्दीमा थियो । तर विवेकानन्दले आफ्नो परिचय अँग्रेजीमा दिए । जब ती अमेरिकी नागरिकले फेरि अँग्रेजीमा प्रश्न सोधे विवेकानन्दले हिन्दीमा जवाफ दिए । अचम्म मान्दै उनीहरूले त्यसको कारण सोध्दा विवेकानन्दको जवाफ थियो ‘जब तपाईंहरूले मेरी आमा(आफ्नो भाषा)को सम्मान गर्नुभयो, मैले यहाँहरूको भाषाको सम्मान गरेँ । जतिबेला यहाँले आफ्नी आमाको सम्मान गर्नुभयो मैले पनि आफ्नै आमाको सम्मान गरेँ ।’ त्यसपछि ती दुवै जना विवेकानन्दको चेला बने भन्ने भनाइ छ ।

आज विवेकानन्दले यही ज्ञानद्वारा विश्वलाई पूर्वीय दर्शनको सकारात्मक पक्षको बारेमा बोध गराएको १२७ वर्ष पूरा भएको छ । आजकै दिन पूर्वीय दर्शनको बारेमा धेरैले जान्ने अवसर पाएका थिए ।

विद्वता कुनै पनि राजनीतिक सीमाभित्र अड्न सक्दैन । विवेकानन्दले अमेरिकामा गएर दिएको त्यो भाषणले ठूलो संख्यामा अमेरिकीलाई पूर्वीय शास्त्रको ज्ञान भयो र धेरै पूर्वीय दर्शनका अनुयायी समेत बने भन्ने उल्लेख छ ।

कोलकातामा १२ जनवरी १८६३ मा जन्मिएका नरेन्द्रनाथ पछि स्वामी विवेकानन्द बनेका हुन् । तिनै विवेकानन्दले सिकागोमा दिएको भाषणको केही विशेषतालाई यहाँ उल्लख गरिएको छ ।

१. प्यारा अमेरिकी भाइबहिनीहरू, तपाईंहरुले मलाई स्वागत गर्नुभएकोमा स्नेहले मेरो मुटु भरिदिएको छ । म विश्वको सबैभन्दा पुरानो सन्तपरम्परा र सबै धर्मको आमाको तर्फबाट धन्यवाद दिन चाहन्छु । म सबै जाति र सम्प्रदायका लाखौं हिन्दुहरूको तर्फबाट धन्यवाद दिन चाहन्छु ।

२. म यो फोरममा बोलेका वक्ताहरुलाई पनि धन्यवाद दिन चाहन्छु, जसले विश्वमा सहिष्णुताको धारणा पूर्वीय संस्कृति  र तिनै संस्कृति जोगाउने देशहरुबाट फैलियो भनेर स्पष्ट पार्नुभयो ।

३. म गर्व गर्दछु कि म त्यस्तो धर्मसँग सम्बन्धित छु जसले संसारलाई सहिष्णुता र विश्वव्यापी स्वीकृतिको पाठ सिकायो । हामी केवल विश्वव्यापी सहिष्णुतामा विश्वास गर्दैनौं, तर हामी सबै धर्महरूलाई सत्य मान्छौं ।

४. म गर्व गर्दछु कि म त्यस्तो धर्मबाट हुँ, जसले पारसी धर्मका मानिसहरूलाई आश्रय दिए र अहिले पनि उनीहरूलाई मद्दत गरिरहेको छ ।

५. यही अवसरमा म बाल्यकालदेखि नै कण्ठ गरेको एउटा श्लोक यहाँ सुनाउन चाहन्छु, जुन दैनिक करोडौं मानिसहरूले गुनगुनाउने गर्छन् । ‘जसरी नदीहरू विभिन्न ठाउँबाट उत्पत्ति भएर विभिन्न बाटो हुँदै अन्तमा समुद्रमा पुग्ने गर्छन्, त्यसरी नै मान्छेले आफ्नो इच्छाले विभिन्न मार्गहरू छान्छ ।’ यद्यपि यी मार्गहरू फरक देखिन्छन् तर ती सबैको गन्तव्य आखिर भगवान्सम्म मात्रै हो ।

६. अहिलेको यो सम्मेलन सम्भवतः अहिलेसम्मकै सबैभन्दा पवित्र जमघट हो र यो सभा आफैँमा गीतामा भनिएको उपदेशको एउटा प्रमाण हो । ‘जो सुकै मान्छे मसँग आउँछ, चाहे ऊ जस्तोसुकै होस्, म ऊसम्म पुग्ने गर्छु, मान्छे अलगअलग बाटो चुन्ने गर्छन्, समस्या झेल्ने गर्छन्, तर आखिरमा मकहाँ आउने गर्छन् ।’

७. साम्प्रदायिकता, कट्टरता र यसको भयानक वंशको धार्मिक दृढताले यस सुन्दर पृथ्वीलाई लामो समयदेखि जरा गाड्दै आएको छ । तिनीहरूले यस पृथ्वीलाई हिंसाले भरिदिएका छन् र कति पटक यो पृथ्वी रगतले रातो भएको छ । थाहा छैन कति सभ्यताहरू ध्वस्त भए, कति देशहरू ध्वस्त भए ।

८ यदि यी खतरनाक राक्षसहरू नभएको भए मानव समाज अहिलेको भन्दा बढी राम्रो हुने थियो । तर उसको समय सकियो । मलाई आशा छ कि यस सम्मेलनको बिगुलले सबै कट्टरपन्थ, कुटिलता र दुः खहरूलाई नष्ट गर्दछ । चाहे यो तरबारसँग हो वा कलमसँग ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?