Comments Add Comment

काठमाडौंमा सबै पसल खुल्ला, सीडीओको आदेश रद्दीको टोकरीमा !

सीडीओ भन्छन्– पसल खुलेको थाहा छ, आफैं सचेत हुने हो

२८ भदौ, काठमाडौं । भनिन्छ– समाजमा जुन कानून लागू हुँदैन, त्यस्तो कानून बनाउनु नै बेकार छ । जुन आदेशको पालना हुँदैन, त्यस्तो आदेश दिने शासकहरु नै मूर्ख हुन् ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले पसल व्यवसाय सञ्चालन गर्ने सम्बन्धमा तोकेका शर्तहरु यस्तै अव्यवहारिक ठहरिएका छन् ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले कुन बार कुन पसल खोल्ने र कुन बन्द गर्ने भन्ने सूची सार्वजनिक गरेका थिए । तर, लामो लकडाउन र निषेधाज्ञाबाट निस्सासिएका काठमाडौंबासीले जिल्ला प्रशासनको त्यो आदेशलाई रद्दीको टोकरीमा मिल्काइदिएका छन् ।

व्यवसायीको प्रश्न– कहिलेसम्म बन्द गर्ने ?

आइतबार बिहान झिसमिसैमा न्यूरोडका पसलहरु खुल्न शुरु भए । न्यूरोडको रञ्जना ट्रेड सेन्टर, नेपाः कम्प्लेक्स जस्ता ठूला सपिङ मलहरु पनि खुला भए । न्यूरोडमा लामो समयदेखि व्यापार गर्दै आएकी सुस्मिताले पनि बिहान ९ नबज्दै सटर खुला गरिन् ।

ग्राहक आए कपडा दिन तयारी अवस्थामा बसेकी उनको पसलमा यति चाँडै कोही ग्राहक पस्ने सम्भावना कम थियो । फुर्सदमा के गर्ने ? यही त हो साथी मोबाइल ! सुस्मिता मोबाइलमा अल्मलिइन् ।

नियमको कुरा गर्ने हो भने आइतबार उनले कपडा पसल खुलाउन पाउँदिनन् । उपत्यकका प्रमुख जिल्ला अधिकारीहरुले व्यापार व्यवसाय खुला गर्न अनुमति त दिएका छन् । तर, शर्त छ– तोकिएको बारअनुसारमात्रै पसल खोल्ने ।

प्रमख जिल्ला अधिकारीहरुको आदेश मान्ने हो भने भाँडा भान्साजन्य सामाग्रीमात्रै खोल्न पाइन्छ । तर, सुस्मिताले जस्तै अन्यले पनि सबैखाले पसलहरु खोलेका छन् ।

नजिकैको इलेक्ट्रोनिक्स पसल पनि पुरै खुलेको छ । शनिबार पनि यसैगरी सबै प्रकारका पसलहरु खुलेकै थिए । शनिबार प्रशासनले कपडा पसल, जुत्ता पसल, कस्मेटिक, पसलहरु मात्र खुलाउनू भनेको छ । तर, सबै प्रकारका पसलहरु खुलेका छन् । सिडियोको आदेश कागजमा सीमित भएको छ ।

‘बन्द बन्द बन्द ! सधैं बन्द गरेर हुन्छ ? हामीलेचाहिँ पेट पाल्नुपरेन ? न्यूरोडको संकटा मन्दिर जाने बाटोमा एक इलेक्ट्रोनिक्स पसलेले भने, ‘सधैं बन्द गर्दा व्यापार त ठप्प भयो भयो, सामान बिग्रिएर ठूलो नोक्सानी हुँदैछ, के यसको क्षतिपूर्ति कसैले दिन्छ र ?’

न्यूरोडकै अर्का जुत्ता पसलेले २५ गतेदेखि नै पसल सञ्चालन गरिररहेको बताए । जुत्ता पसल खोल्नका लागि सोमबार, बिहीबार र शनिबारमात्र तोकिएको छ । तर, आफूले बार तोकिएको समाचार पढे पनि कुन दिन के खोल्ने भन्ने क्यालेन्डर नबनाएकोे बताए ।

‘सरकारले नै खुला भएको भनेपछि मैले २५ गते आएर पसल खोलें, त्यसपछि सधैं खोलिरहेको छु,’ ती व्यापारीले भने, ‘हुन त खोले भन्नुमात्रै हो, ग्राहक भने कोही आउँदैनन् हिजो शनिबार धन्न बोहोनी भयो, नत्र बोहोनी हुन पनि गाह्रो छ ।’

न्यूरोडमा जस्तै भोटेबहालतिरका होलसेल पसलहरु पनि सबै खुलेका छन् । उनीहरुले पनि पसल खोल्नका लागि जिल्ला प्रशासन कार्यालयले तोकेको बार हेर्दैनन् । उनीहरु सबैको एउटै जवाफ छ, ‘सरकारले बन्द गर् भन्दा लामो समय गरेकै हो, अझै कति दिन बन्द गर्नु र ?’ बार अनुसार खोलेर केही नहुने उनीहरु बताउँछन् ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य अहिले कोरोना संक्रमण भएर आइसोलेसनमा छन् । उनको सचिवालयका अनुसार उनी होम आइसोलेसनमा छन् ।

मेयर शाक्यको घरसँगै टाँसिएका थुप्रै कपडा, फेन्सी, जुत्तालगायतका पसल पनि निर्वाधरुपले सञ्चालनमा आएकै छन् ।

सधैं बन्द गरेर नहुने भन्दै आवश्यक सुरक्षा सतर्कता अपनाएर व्यापार व्यवसायहरु पूर्णरुपमा खोल्नुपर्ने व्यवसायीको माग छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल यतिबेला व्यवसायीहरु निकै ठूलो अप्ठ्यारो झेलिरहेको बताउँछन् ।

‘व्यापार–व्यवसाय ६ महिनाभन्दा बढी ठप्प भए, यति लामो समय सटर बन्द हुँदाको पीडा व्यवसायीलाई कस्तो पर्‍यो होला ?’ कटुवालले भने, ‘सरकारले घरभित्रै थुन्ने हो भने कोरोनाबाट त बचिएला तर भोकबाट बच्न सकिँदैन । यसबारेमा सरकारले नसोच्नु दुःखद हो ।’

काठमाडौं उपत्यकामा प्रशासनले पसलहरुलाई मात्र शर्त तोकेको छैन, यातायातमा पनि जोर–बिजोर प्रणाली घोषणा गरेको छ । तर, यो जोरबिजोर प्रणाली पनि कार्यान्वयनमा आएको छैन ।

तर, १६ सिटभन्दा कम यात्रु चल्ने माइक्रो र टेम्पुमाथिको प्रतिबन्ध भने जबरजस्त कार्यान्वयनमा आएको छ । साना सवारी चालकहरुले सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

सकेसम्म आफैं सचेत हुने हो : सीडीओ दाहाल

बन्द गराउने आदेश दिएका प्रमुख जिल्ला अधिकारी पनि आदेश पालना नभएको स्वीकार गर्छन् । अहिले काठमाडौंमा सबै प्रकारका पसलहरु प्रायः खुलेका छन् । केही सटरहरु बन्द पनि देखिन्छन् ।

बार अनुसार पसल व्यवसाय सञ्चालन गर्न दिएको आदेश उलंघन भएको भन्ने विषयमा प्रशासन पनि जानकार छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले धेरै ठाउँका पसलहरु सबै खुलेको आफूलाई पनि रिपोर्टिङ भएको बताए ।

‘केही ठाउँहरुमा सबै पसलहरु खुलेको छ भन्ने रिपोर्टिङ पनि आएको छ, हामीले निर्णय गर्‍यौं, हामी नै अनुगमन पनि गराउँछौं,’ सीडीयो दाहालले भने, ‘एकैचोटि भन्दा पनि विस्तारै सहज बनाउँदै जाने हो, आफैं पनि सचेत हुन जरुरी छ ।’

उनले अनुमगन गरेर सचेत हुन सबैलाई आग्रह गरिने उनले बताए । आदेश कसैले कसैका लागि दिएको नभई आफ्नै लागि भएकाले पालना गर्नेतर्फ ध्यान दिनुपर्ने दाहालको भनाइ छ ।

शुक्रबार काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले फुटपाथका पसलहरु बन्द गराउनुपर्ने भन्दै सीइडीयो दाहाललाई ज्ञापन पत्र बुझाएकी थिइन् । यसबारे के गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको उनले बताए ।

‘उपमेयरज्यूले ज्ञापनपत्र नै बुझाउनुभएको छ, के गर्ने भन्ने अहिले नै भएको छैन, हामी छलफल गरिरहेका छौँ’  प्रमुख जिल्ला अधिकारी दाहालले भने ।

फोटो  : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment