Comments Add Comment

राष्ट्रपतिसँग सीएनआईले भन्यो : कोभिड सँगसँगै व्यवसाय खुल्न दिनुपर्छ

२८ भदौ, काठमाडौं । उद्योगी, व्यवसायीहरुले लकडाउन र निषेधाज्ञा लगाएर कोरोना संक्रमण रोकथामको प्रयास गर्नुभन्दा कोभिडको साथमा नै उद्योग, व्यवसाय र बजार सञ्चालन गर्नुपर्ने बताएका छन् ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा उद्योगी व्यवसायीको संस्था नेपाल उद्योग परिसंघ (सीएनआई) का पदाधिकारीले कर्मचारी र कामदारको मनोबल उच्च बनाई सुरक्षाका उपाय अपनाएर उद्योग, व्यवसाय र बजार सञ्चालन गर्नु उपयुक्त हुने बताएका हुन् ।

कोभिडको महामारीपछि निजी क्षेत्र गम्भीर परिस्थितिबाट गुज्रिरहेको भन्दै परिसंघका पदाधिकारीले आर्थिक समृद्धि र अर्थतन्त्र चलायमान बनाउनको लागि लकडाउन वा निषेधाज्ञा बन्द गर्नुपर्ने धारणा राखेका छन् । संक्रमण फैलिएको ठाउँमा मात्र निषेधाज्ञा गर्ने र संक्रमितको राम्रो उपचारको व्यवस्था गरेमा उद्योग व्यवसाय चलायमान राख्न सकिने र अर्थतन्त्रमा नकारात्मक असर पनि नपर्ने परिसंघका पदाधिकारीको सुझाव दिएका परिसं‌घले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

उनीहरुले लकडाउन र निषेधाज्ञाका कारण सिर्जना भएको असहज परिस्थितिलाई मध्यनजर गरी कर तिर्न तोकिएको समयभन्दा एक महिना बढी समय दिन पनि राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् ।

परिसंघले उद्योगमा कार्यरत कर्मचारी र कामदारको हौसला बढाई काममा लगाउने भन्दै संक्रमण भेटिएमा कन्ट्याक्ट ट्रेसिङको आधारमा परीक्षण गराएर बाँकी कर्मचारी तथा कामदारबाट उद्योग सञ्चालन गर्ने व्यवस्था मिलाउन राष्ट्रपतिसमक्ष अनुरोध गरेको छ ।

परिसंघका पदाधिकारीले कोभिडको समयमा पनि होटल तथा पर्यटक गन्तव्यहरुलाई पूर्णरुपमा सञ्चालन गर्न दिन अनुरोध गरेको छ । नेपाल घुम्न आउने पर्यटकलाई १४ दिनको सट्टा तीन दिन क्वारेन्टिनमा राखेर पीसीआर रिपोर्ट नेगेटिभ आएमा घुमफिर गर्न दिनुपर्ने परिसंघको धारणा छ ।

संक्रमण रोकथाम गर्न सुविधा सम्पन्न उपचार केन्द्रको स्थापना, राम्रो क्वारेन्टिन र आइसोलेसनको व्यवस्था गर्नुपर्ने भन्दै परिसंघले यस काममा निजी क्षेत्रबाट सञ्चालित अस्पताल र होटललाई प्रयोग गर्न सकिने बताएको छ ।

छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोर, वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्षहरु क्रमशः अनुज अग्रवाल र निर्वाण चौधरी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment