Comments Add Comment

परबर खेती गर्ने किसानलाई बजार अभाव   

फाइल तस्वीर

२९ भदौ, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकाका किसानले बजार अभवाका कारण परबर खेती गर्न छाड्दै जान थालेका छन् । नगरपालिकाका छ भन्दा बढी वडाका सय बढी किसान परिवारले परबर खेती गर्दै आएकामा हाल घटेर दुई वडाका २० देखि ३५ परिवारले मात्रै खेती गर्ने गरेका छन् ।

नगरपालिकाको दोधाराको परबर भारतको नयाँदिल्लीसम्म निर्यात हुँदै आएको थियो । भारतीय बजारमा निर्यात हुँदै आएको परबर भारतीय सीमा सुरक्षा बलले लैजान रोक लगाएपछि परबर खेती गर्ने किसान घट्दै गएका हुन् ।

विगतमा एउटै किसानले दैनिक ३० देखि ३५ क्विन्टल परबर उत्पादन गर्दथे । बजार नभएपछि हाल ३५ बढी परिवारले मुश्किलले दैनिक १५ क्विन्टल परबर उत्पादन गर्ने गर्दछन् । उत्पादित परबर हाल स्थानीय बजारसँगै महेन्द्रनगर र धनगढीसम्म बिक्री हुने गरेको छ । परबर प्रतिकिलो रु ५० का दरले बिक्री भइरहेको नगरपालिका–८ का किसान रामबहादुर खडकाले बताए ।

महाकाली नदीमा रहेको झोलुङ्गे पुलबाट साइकल र मोटरसाइकलमा परबर लैजानु पर्ने यहाँका किसानको बाध्यता छ । ढुवानी गर्न नसक्दा समेत उत्पादित परबरले बजार पाउन नसकेको किसानहरुको भनाइ छ । पहिले दश कठ्ठादेखि एक विघा क्षेत्रफलमा गरिदै आएको परबरखेतीबाट वार्षिक रुपमा यहाँका कृषकले विगतमा एक लाखदेखि पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका थिए । हाल किसानले परबर बेचेर रु ४० हजारदेखि ७० हजारसम्म आम्दानी हुने गरेको उनीहरुको भनाइ छ । माघ, फागुनको महिना रोपेको परबलले वैशाखदेखि कात्तिकसम्म उत्पादन दिने गर्दछ ।

परबर खेती प्रर्वद्धनका लागि योजना ल्याउन लागेको नगरपालिकाका नगर प्रवक्ता दिलबहादुर सिंजालीले बताए । उनका अनुसार वडामार्फत परिचालन हुने गरी रु ३० लाख र नगर प्रमुख कृषि प्रर्वद्धन कार्यक्रमअन्तर्गत कृषि क्षेत्रमा परिचालनका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment