Comments Add Comment

रक्सी खान नदिएको रिसमा बाबुले गरे छोराको हत्या

३० भदौ, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाका ७० वर्षीय लक्ष्मी साह रक्सीको कुलतमा फसिसकेका थिए । छोरा ३५ वर्षीय मधो साह भने बुवाको रक्सीको लत छुटाउन चाहन्थे । सम्झाउँदा नमानेपछि गाउँका पसलवालाई बुबालाई रक्सी नदिन आग्रहसमेत गर्थे । कतिपयले उनको आग्रहलाई मान्दै लक्ष्मीलाई रक्सी दिन बन्द पनि गरिदिए ।

लक्ष्मीलाई यो कुरा पटक्कै मन परिरहेको थिएन । आफूले रक्सी सहजै नपाएको झोंकमा उनले छोराको हत्या गरे ।

घटना हो भदौ २९ गतेको । त्यो दिन पनि लक्ष्मी रक्सीले मातिएर घर आए । साँझ घर आइपुगेका उनलाई छोराले किन रक्सी पिएको भनेर कराउँदै थिए । बाबु–छोराबीच विवाद बढ्यो । लक्ष्मीले आफ्नो साथमै बोकेर हिँडेको चक्कु छोरामाथि प्रहार गरे ।

साँझ सवा सात बजे भएको यो घटनामा छोरा मधो गम्भिर घाइते भए । नेशनल मेडिकल कलेजमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भयो ।

चक्कु प्रहार गर्ने लक्ष्मी साहलाई नियन्त्रणमा लिएर आवश्यक अुनसन्धान र कारबाही प्रक्रिया शुरु गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा पनि रक्सी पिउने विषयमा नै बाबु–छोराबीच मतभेद थियो ।

‘लक्ष्मीले अत्यधिक मापसे सेवन गर्ने गरेका रहेछन्,’ छोराले छोड्न दबाब दिँदै आएका थिए, धेरै ठाउँमा त बुबालाई रक्सी बेच्नै बन्द गराउन पनि सफल भएका रहेछन्,’ प्रहरी निरीक्षक सिंहले भने, ‘सोमबार साँझ पनि बाबु रक्सीले मातेर आएपछि दुवै जनाबीच विवाद भयो, बुबाले चटपटे बनाउनका लागि बनाइएको चक्कुले छोरालाई हानिदिएछन् ।’

प्रारम्भिक अनुसन्धानका क्रममा बाबु–छोराबीच अरु विषयमा विवाद खासै नरहेको पाइएको प्रहरीले जनाएको छ ।

वडा सदस्य मदन ठाकुरका अनुसार केही दिन पहिले रक्सी खान नपाएको झोँकमा लक्ष्मीले घर छोड्ने निर्णय गरेका थिए । गाउँलेले सम्झाइबुझाइ गरेपछि एक साता जति रक्सी छोडेका उनले फेरि पिउन थाले ।

‘छोराले रक्सी नखानुस् बुवा बरु दूध खानुस् भनेर सम्झाउँदै आएका थिए, नमानेपछि पसलहरुमा रक्सी दिन रोक लगाए,’ उनले भने, ‘लक्ष्मी मेरो सम्पत्ति खाने तैले खर्च गर्दा मेरो हात रोक्ने ? भन्दै छोरामाथि आक्रोश पोख्थे ।’

सोमबार लक्ष्मी रक्सीले मातेर आएपछि छोरासँग विवाद भएछ । मातेको सुरमा ‘तँलाई मारिदिन्छु’ भन्दै कोखामा चक्कुले हानिदिएको उनी बताउँछन् । लक्ष्मीले पहिला भाँजा अर्थात चटपटे बेच्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment