Comments Add Comment

विश्व अर्थतन्त्र : ऋणको दलदल र बढ्दो गरिबी

कोरोना भाइरसको कारण विश्व अर्थतन्त्र ऋणको दलदल र बढ्दो गरिबीमा रुमल्लिएको छ । यसले मानव जातिको अस्तित्वलाई नै संकटमा पार्ने देखिएको छ । त्यतिमात्र होइन, पूँजीवादी अर्थ-राजनीतिको सम्पन्नतालाई अब्यवस्था, अपूर्णता र संकट थोपरिरहेको छ । यस्तो लाग्छ, यो व्यवस्था भित्रभित्रै मक्किसकेको छ, ढल्नमात्र बाँकी छ । पैसा भए पुग्छ भन्ने पूँजीवादी सोचाई एवं मान्यतालाई भत्काइदिएको छ ।

आर्थिक सम्पन्न भएका देशमात्र सबै क्षेत्रमा सक्षम हुन्छन् भन्ने आम मानिसको विश्वासलाई कोरोनाले गलत अथवा भ्रम सावित गरेको छ । पूँजीवादी विश्व अर्थतन्त्रमा धन जोगाउनु र नाफा कमाउनु विषय मुख्य हो, रोग र मृत्यु सामान्य हो भन्ने अमानवीय एव असामाजिक चरित्र प्रदर्शन भइरहेको छ । जसको नेतृत्व अमेरिकाले गरिरहेको छ । अहिले पनि उसले मानव स्वास्थ्य र मृत्युको क्षतिभन्दा अर्थतन्त्रको क्षति रोक्न भएभरको बल लगाइरहेको छ । तर ऊ सफल भइरहेको छैन ।

आज अरबौ मानिसको निन्द्रा हराएको छ । कोरोना भाइरसको माहामारीले मानव जातिकै अत्यन्त खराब शत्रुका रूपमा उपस्थित छ- यो भाइरस । अन्य कुनै कारण नभएर कोरोना मानव सिर्जित महाभारी हो । एउटा प्रतिवेदनअनुसार, जनवारबाट मान्छेमा सर्ने सरुवा रोगका कारण संसारमा वाषिर्क १० लाखभन्दा बढी मानिसको मृत्यु हुने गर्छ ।

‘प्लस वान’ जर्नलमा प्रकाशित लेखअनुसार सन १९८० देखि २०१३ सम्म विश्वमा २ सय १५ वटा महामारी फैलिएका थिए । जसले विश्वभर साढे ४ करोड मानिसलाई संक्रमित  बनाएको थियो ।  तीमध्ये ६० प्रतिशतभन्दा बढी रोगको उत्पत्ति स्रोत जनावर थिए र जसमध्ये दुईतिहाई रोग जंगली जनावरमा पाइने ब्याक्टेरिया, भाइरसलगायतका जीवाणुका कारण मानिसमा सरेका थिए ।

मानिसका अनौठा सोख र उपभोगका कारण वन्यजन्तुसँग मानिसको बढ्दो हिमचिम र वनविनाश लगायतका वन्यजन्तुको वासस्थानमा आएको ह्रासका साथै जलवायु परिवर्तनका कारण वन्यजन्तुबाट मानिसमा रोग सर्ने वातावरण बनिरहेको छ ।

कोरोना भाइरस (कोभिड-१९) विश्व आर्थिक र राजनीतिक ग्लोबलाइजेसन (वैश्विकरण) को उपज हो । अस्वस्थ पूँजीवादले ल्याएको महत्त्वपूर्ण संकट उपभोगवादी चरित्र हो । यसले पछिल्लो समयमा पूँजीको चरित्रलाई अधिकतम रूपले उपभोगवादी बनाइदिएको छ । उपभोगवादी चरित्रले मानवीय जीवनका मूल्य-मान्यता, आदर्श-संस्कार सबैलाई ध्वस्त पार्दै मान्छेलाई खेलौना बनाइदिएको छ । अतिरिक्त आयआर्जन र उपभोगका लागि मानव जातिले गर्दै आएका अस्वस्थ पूँजीवादी प्रतिस्पर्धाले यस प्रकारका सङ्कट निम्त्याउँदै छ ।

सौखीनहरूले संसार बनाउनेभन्दा पनि बिगार्ने काम गरेका छन् । एड्स अप्राकृतिक यौन सम्पर्कको परिणाम हो । यो रोगले संसारका लाखौं मानिसको ज्यान लिएको छ । तर पनि पूँजीवादी विश्वबजारमा यौन पैसाको लागि नाफामूलक व्यापार भएको छ । उपभोक्तावाद ‘ग्लोबलाइजेसन’को चरम अभिव्यक्ति हो । आजको सङ्कट ग्लोबलाइजेसनको परिणाम हो । प्रकृतिमाथिको अतिक्रमण र आक्रमणबाट उत्पन्न महामारी हो ।

आज विश्व अर्थतन्त्र ऋणको भारले ग्रसित हुन थालेको छ । यो ऋण दिन प्रतिदिन उत्कर्षमा पुगेको छ । ‘दि इन्स्टिच्युट अफ इन्टरनेशनल फाइनान्स’का अनुसार सन् २०१९ सम्ममा विश्वभरिका सरकारी, व्यवसायी तथा घरपरिवार क्षेत्रको कुल ऋण २५५ ट्रिलियन डलर पुगेको छ । जुन विश्वको कुल ग्राहस्थ उत्पादन भन्दा ३२२ प्रतिशत बढी हो । यसरी विश्वको कुल जनसंख्या करिब ७ अर्ब ७७ करोडमा प्रतिव्यक्ति ऋण ३२ हजार पाँचसय डलर हुन पुग्छ ।

विश्वको कुल उत्पादनभन्दा कुल ऋण ३.२ गुणाले वृद्धि भएको छ । यस्तो तीब्र गतिले बढेको ऋणलाई विश्व बैंकले अन्तराष्ट्रिय मुद्राकोषजस्ता संस्थाहरूले सतर्कता देखाएता पनि ऋणको वृद्धिदरमा भने कमी आउने देखिएको छैन । कोरोना भाइरसको कारणले गर्दा ऋणको भार अझ बढ्ने देखिन्छ । कोरोनाको कारण बहुआयामिक असर पर्दा विश्वको अर्थतन्त्रमा दोस्रो विश्वयुद्धभन्दा पछिको ठूलो संकट आउने देखिएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार कुनै पनि देशको कुल ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी) भन्दा बढी हुनुहँुदैन, अर्थात् कुल ऋण र जीडीपीको अनुपात १०० प्रतिशतभन्दा कम हुनुपर्दछ । यो अनुपात १०० प्रतिशतभन्दा कम रहेमा त्यस्तो देशमा आर्थिक समस्या कम हुन्छ । तर, यो अनुपात १०० प्रतिशतभन्दा बढी हुँदा देशमा वित्तीय सङ्कट बढ्न सक्ने सम्भावना अधिक रहन्छ ।

मुद्रा कोषका अनुसार नै सन् २०१९ सम्ममा सबैभन्दा बढी ऋणको भार जापानमा रहेको छ । यो देशमा कुल गार्हस्थ उत्पादनभन्दा कुल ऋण २३५ प्रतिशतले बढी छ । जापानमात्र होइन, आर्थिक रूपले सम्पन्न अन्य देशहरू इटालीमा १८५ प्रतिशत, अमेरिकामा १०४ प्रतिशत, फ्रान्समा ९८ प्रतिशत, क्यानडामा ९० प्रतिशत र बेलायतमा ८७ प्रतिशत ऋणको अनुपात रहेको छ ।

हाम्रो देश पनि ऋणको चङ्गुलमा दिन प्रतिदिन फस्दै गएको छ । आर्थिक वर्ष ०७६/७७ को अन्त्यसम्म आइपुग्दा ४२ हजार रूपैयाँ प्रत्येक नेपालीको टाउकोमा ऋण पुगेको छ । यो ज्यादै लज्जाको विषय हो । चालु आर्थिक वर्षमा १४ खर्ब ७४ अर्बको बजेट ल्याएकोमा सरकारको ऋण १४ खर्ब १८ अर्ब रूपैयाँ नाघेको छ । जसमा ५५ प्रतिशत अर्थात ८ खर्ब ५ अर्ब रूपैयाँ वैदेशिक ऋण रहेको छ भने ४५ प्रतिशत अर्थात ६ खर्ब १३ अर्ब रुपैयाँ आन्तरिक ऋण रहेको महालेखा नियन्त्रणकको कार्यालयले जनाएको छ ।

कोरोना माहामारीको कारण शक्तिशाली तथा आर्थिक सम्पन्न भएका मुलुकको जीडीपी वृद्धि पनि ऋणात्मक हुन थालेको छ । तर, चीन अब यो महामारीका साथै आर्थिक संकटबाट माथि उठ्न थालेको छ । चीनमात्रै यस्तो एक ठूलो देश हो जसको जीडीपी वृद्धि प्लस (धनात्मक) मा रहेको छ ।

चीनले आप\mनो अर्थव्यवस्थामा सुधार गर्यो र अन्य कयौं संकेत पनि देखिएको छ । जुन महिनामा चीनको म्यानुफ्याक्चरिङ क्षेत्रमा तीव्रता आयो र उसको आयात र निर्यातमा पनि वृद्धि भएको छ । अमेरिका, वेलायत, इटाली, फ्रान्स, क्यानाडा, जर्मनी, जापान र भारत लगायत थुप्रै देशको जीडीपी ऋणात्मक छ । अमेरिकामा कोरोना भाइरसबाट सर्वाधिक विनाश भएको छ ।

अमेरिकाको जीडीपीमा २०२० को दोस्रो त्रैमासमा ३२.९ प्रतिशतको गिरावट भएको थियो । कोरोना माहामारीभन्दा पहिला त्यो देशको आर्थिक वृद्धिदर सात देशमध्ये सबैभन्दा बढी थियो । त्यस्तै बेला यता पनि २०२० को दोस्रो  त्रैमासिकमा जीडीपीमा २०.४ प्रतिशतको गिरावट आएको थियो । इटालीको जीडीपीमा अपि्रल-जून त्रैमासिकमा १२.४ प्रतिशत गिरावत आएको थियो । १९९५ को पहिलो त्रैमासपछि यो सबैभन्दा ठूलो गिरावट हो । त्यस्तै गरेर फ्रान्सको जीडीपीमा अपि्रल-जून महिनाको त्रैमासमा १३.८ प्रतिशतको गिरावट दर्ता भएको थियो । क्यानाडामा पनि अपि्रल-जून महिनाको पहिलो त्रैमासिकमा जीडीपीमा १२ प्रतिशतको गिरावट आएको थियो । जर्मनीको दोस्रो त्रैमासिकमा पहिलो वर्षको सोही अवधिको तुलनामा जीडीपीमा १०.१ प्रतिशतले गिरावट आएको थियो । अर्को आर्थिक सम्पन्न भएको एसियाली मुलुक जापानको जीडीपीमा अप्रिल-जूनको त्रैमासमा ७.८ प्रतिशतको गिरावट आएको थियो ।

कोरोना भाइरसको कारण विश्वका झण्डै १.३ अर्ब जनसंख्या बहुआयामिक गरिबीको रेखामुनि पुगेको छ । अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले नोवेल कोरोना भाइरसका कारण विश्वभर सवा अर्ब श्रमिकले रोजगारी गुमाउने आकलन गरेको छ । यो महामारीले मानव स्वास्थ्यलाई मात्र होइन विश्व अर्थतन्त्रलाई समेत डामाडोल बनाएको छ  । जसको कारण आर्थिक असमानताको आडल झन डरलाग्दो हुने देखिएको छ ।

वर्तमान विश्व संकटको समयमा संसारकै ठूलो अनलाइन सपिङ प्लेटर्फम ‘अमेजन’का संस्थापक जेफ बेजोस महामारीकै बीचमा दुईसय अर्ब अमेरिककी डलर सम्पत्तिका मालिक बनेका छन् । त्यस्तै अर्को ठूलो चिनियाँ अनलाइन सपिङ प्लेटर्फम ‘अलिबाबा’ले पनि कोरोनाको कहरबीच डरलाग्दो कमाई गरेको छ । कोभिड-१९ को संक्रमणबाट जोगिन सामाजिक दुरी कायम गर्नुपर्ने  बाध्यताले विश्वभर नै अनलाइन सपिङ कल्चर ह्वात्तै बढेपछि इ-कमर्स कम्पनीहरूले यसको प्रर्याप्त लाभ लिइरहेका छन् ।

कोरोना भाइरसका कारण नेपालसहित दक्षिण एसियाको आर्थिक वृद्धिदर ४० वर्षयताकै सबैभन्दा कमजोर हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । बैंकले नेपालको आर्थिक वृद्धिदर त १.८ प्रतिशतभन्दा माथि नजाने जनाएको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा नेपाल सरकारले ७ प्रतिशत घोषणा गरेको छ ।

कोरोनाका कारण अहिले एउटा देशले अर्को देशलाई सहयोग गर्ने अवस्था छैन । त्यही भएर विश्वका देशहरू थप गरिब हुने विश्व बैंकको दावी छ । यसअघि विश्व बैंकले दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.३ प्रतिशत हने बताएको थियो । लकडाउन र निषेधाज्ञाको अवधि अझै बढेमा नेपालसहित दक्षिण एसिया क्षेत्रको अर्थतन्त्र झनै खराब हुने पनि विश्व बैंकको दाबी छ । धेरै अर्थशास्त्री  र अर्थविज्ञहरूले पनि यस्तै अनुमान गरेका छन् ।

कोरोनाले के प्रमाणित गरेको छ भने, भौतिक सम्पन्नता धन दौलतले मात्रै मानव जीवन सुरक्षित हुन सक्दैन । योभन्दा महत्त्वपूर्ण कुरा राजनीतिक, आर्थिक, सामाजिक चेतना तथा मान्यताहरू महत्त्वपूर्ण हुन्छन् । शक्तिसम्पन्न र सबल अर्थतन्त्र भएका देशभन्दा स्वास्थ्य, शिक्षा, सामाजिक न्याय, वैज्ञानिक चेतना, अनुशासन र सद्भाव भएका देशमा कोरोना कमजोर देखियो । पूँजीवादी सम्पन्ताले मानव जातिलाई प्राकृतिक प्रकोपबाट सुरक्षा दिन सक्दैन बरू भयावह, त्रास र संकट थोपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment