Comments Add Comment

माल्दिभ्समा किन चल्दैछ ‘इन्डिया आउट’ अभियान ?

१ असोज, काठमाडौं । पछिल्लो समय छिमेकी मुलुकहरुसँगको सम्बन्ध कमजोर बनिरहेको भारतको विरुद्धमा माल्दिभ्समा पनि आवाज उठ्न थालेको छ ।

अहिले सामाजिक सञ्जालमा माल्दिभ्सका नागरिकले ‘इन्डिया आउट’को अभियान चलाएका छन् । भारतीय सेना हटाइनुपर्ने भन्दै माल्दिभ्समा भारतविरुद्धको अभियान चलाइएको हो ।

पछिल्लो साता माल्दिभ्समा चलेको यो अभियानमा जोडिनेको संख्या बढेको छ । माल्दिभ्सको मुख्य विपक्षी पार्टीले पनि यो अभियानलाई साथ दिएको छ । उसले भारतीय सेनाको उपस्थिति माल्दिभ्सको सम्प्रभुता र स्वतन्त्रताविरुद्ध रहेको बताएको छ ।

माल्दिभ्सका विदेशमन्त्री अब्दुल्लाले भने भारतसँगको बलियो बन्दै गएको सम्बन्धलाई स्वीकार गर्न नसक्नेहरुले यो अभियान चलाएको आरोप लगाएका छन् ।

यद्यपि अहिले जेलमा रहेका पूर्वराष्ट्रपति अब्दुल्लाह यामिनको नेतृत्वमा रहेको प्रोग्रेसिभ पार्टी माल्दिभ्स पिपुल्स नेशनल कांग्रेस (पीपीएम–पीएनसी)ले भने माल्दिभ्सको भूमिमा विदेशी सेनाको उपस्थिति स्वीकार्य नहुने बताउँदै आएको छ ।

विपक्षीहरुले अहिलेको सरकारले माल्दिभ्सलाई नै भारतलाई बेच्न लागेको आरोप लगाउँदै आएका छन् । यद्यपि माल्दिभ्सका पूर्वराष्ट्रपति तथा सभामुख मोहम्मद नासिदले भने यो अभियानको विरोध गर्दै आएका छन् । उनले भारतसँग ऐतिहासिक सम्बन्ध रहेको भन्दै अहिलेसम्म माल्दिभ्सले आफ्नो स्वतन्त्रतालाई कायम राखेको बताएका छन् ।

हालैमात्र माल्दिभ्समा एक समूहले विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनको क्रममा प्रहरीले अनावश्यक शक्ति प्रदर्शन गरेको र शान्तिपूर्ण मोटरसाइकल ¥यालीमा पक्षपाती ढङ्गले धेरै मानिसहरुलाई पक्राउ गरिएको पीपीएम–पीएनसी पार्टीले आरोप लगाएको छ ।

यो अभियान चलाउने मानिसहरुले माल्दिभ्सको हाफु ढालु टापुको हनीमाधुमा भारतीय सेना पुग्न सक्ने बताएका छन् । उनीहरुका अनुसार माल्दिभ्समा अहिले पनि अतिरिक्त भारतीय अधिकारीहरु छन्, जो भारतीय सेनाले माल्दिभ्स नेशनल डिफेन्स फोर्सलाई उपहारमा दिएको हेलिकप्टर सञ्चालन गर्न आएका हुन् ।

यद्यपि माल्दिभ्सको डिफेन्स फोर्सका जनरल अब्दुल्ला शमाल भने माल्दिभ्समा कुनै पनि विदेशी सुरक्षा बल नरहेको बताउँछन् ।

पछिल्लो केही सातामा माल्दिभ्सका मानिसहरुले ह्यासट्याग इन्डिया आउट राखेर ट्वीट गरेका छन् । यो ह्यासट्याग ट्रेन्डिङमा पनि आएको थियो । सत्तारुढ पार्टीले भने यो अभियान विपक्षी पार्टीले राजनीतिक मुद्दाको लागि गरेको बताएको छ ।

यसअघि माल्दिभ्समा विपक्षीको सरकार हुँदा भारतसँगको सम्बन्ध राम्रो थिएन । तर, अब्हुल्लाह यामिनको सरकार ढलेसँगै माल्दिभ्स र भारतको सम्बन्धमा सुधार आएको छ । जसको फाइदा अहिले भारतले उठाइरहेको इन्डिया आउट अभियानका समर्थकहरुले बताएका छन् ।

उनीहरुका अनुसार भारतले माल्दिभ्सको आन्तरिक मामिलामा हस्तक्षेप र सांस्कृतिक धरोहरलाई कमजोर पार्ने प्रयास गरिरहेको छ ।

साथै ट्वीटरमा इन्डिया आउट ह्यासट्यागको प्रयोग गरिरहेका मानिसहरुले भारतले आफ्नो सीमा नाघेर माल्दिभ्समा आँखा गाडेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment