Comments Add Comment

खराब माहोलले सर्वसाधारणमा हीनताबोध

नेपालमा २०७२ सालमा गएको महाभूकम्पको समयमा केही आकाशिएको आत्महत्याको समस्या त्यसको केही समयपछि बिस्तारै नियन्त्रणमा आएको थियो । यसको विपरीत जापान ताइवान जस्ता मुलुकमा हेर्ने हो भने भूकम्पको २ वर्षसम्म आत्महत्याको दर घट्दै गएर त्यही भूकम्पको असरले त्यो दर बढ्न सुरु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । नेपालमा पनि भूकम्पको समयमा कतिले आत्महत्या गरे भन्ने यकिन नभए पनि सामान्य अवस्थामा भन्दा त्यो समयमा आत्महत्या धेरै भएको कुरा निर्विवादित छ ।

अहिले कोरोना भाइरस कोभिड १९ का कारण जारी लकडाउन एवं निषेधाज्ञाको समयमा पनि आत्महत्याको दर डरलाग्दो रूपमा बढेको छ । भूकम्पको समयमा कतिबेला भूकम्प आएर ज्यान लिने हो कि भन्ने भयले मनमा बेचैनी हुँदाहुँदै यस्तो समस्या सिर्जना भएको थियो भने अहिलेको समयमा बाहिर तरकारी लिन जाँदा पनि कोरोना लाग्ने हो कि भन्ने भयका कारण नै मानसिक समस्या देखिने गरेको छ ।

भूकम्पको समयमा नेपालको केही क्षेत्र मात्रै यसबाट प्रभावित थियो । यसले यही क्षेत्रका केही मान्छेको रोजगारीमा समस्या थियो, विदेश हुनेहरूले उता निर्वाध रूपमा कमाउन पाएका थिए । तर भूकम्पको झण्डै ५ वर्षपछिकोे यो महामारीले विश्वलाई नै प्रभावित बनाएकोले यो महामारीमा मनोरोगीको समस्या पहिलेभन्दा धेरै रहेको अनुमान गरिएको छ । यद्यपि यसबारेमा स्पष्ट अध्ययन नभएका कारण यकिनका साथ भन्न भने सकिएको छैन ।

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्नुपूर्व नै देशभर झण्डै १२०० जनाले आत्महत्या गरिसकेको भन्ने तथ्यांक बाहिरिएको थियो । यो तथ्यांकमा समेटिएको मृत्युको आँकडा मात्रै हो । मृत्युको मुखमा पुगेका डिप्रेसनका बिरामी कति होलान् भन्ने यकिन तथ्यांक छैन, लकडाउनको समयमा कति बढे भन्ने कुरा त अनुमान गर्न पनि गाह्रो कुरा हो ।

लकडाउनको सुरुवातपछि दुई हजार जनाले आत्महत्या गरिसकेको भन्ने अपुष्ट सूचना आउने गरेको छ । यसरी ६ महिनामा २ हजार जनाले आत्महत्या गर्नु भनेको मानसिक समस्याको भयावह रूप हो । सुरुमा मानसिक समस्या किन हुन्छ र मान्छे कुन चरणमा पुगेपछि आत्महत्या गर्छन् भन्ने कुरा महत्वपूर्ण हुने गर्छ ।

मनोविज्ञानले मान्छेमा सबैभन्दा पहिले हीनताबोधले सताउनु नै डिप्रेसनको पहिलो चरण मानेको हुन्छ । केही काम सम्पन्न नहुँदा पनि जीवनको अस्तित्व नै छैन भन्ने भ्रम आफ्नो मनमा उब्जिन सक्छ । यदि त्यस्तो अवस्थामा नै हामीले मनोविज्ञ वा मनोपरामर्शदाताहरूसँग सम्पर्क ग¥यौं भने मानसिक समस्या सुरुमा नै समाधान हुन सक्छ । त्यसपछि क्रमशः समाजमा आफू बोझको रूपमा रहेको महसुस हुनु, मर्ने योजना बनाउनु, मर्ने प्रयास गर्नु, आत्महत्या नै गर्नु आदि चरणबद्ध रूपमा बढ्दै जाने मानसिक समस्याका अवस्थाहरू हुन् ।

अहिले जति पनि आत्महत्याका समस्याहरू हुन्छन्, यी सबै मानसिक स्वास्थ्यसँग जोडिएका विषयहरू हुन् । मान्छेले आत्महत्या गर्ने मुख्य कारण नै मानसिक समस्या हो । त्यसैले मानसिक समस्या समाधानका लागि सुरुदेखि नै समाधानको बाटो खोज्दै जानुपर्छ ।

कस्ता–कस्ता क्षेत्रमा परेका छन् बढी समस्या ?

विस्तृत अध्ययनबिना मानसिक समस्या र आत्महत्याका घटनामा यही क्षेत्रका मान्छे धेरै संलग्न छन् भन्न सकिने आधार त छैन । तर पनि सामान्यतया मनोपरामर्श लिन आउने व्यक्तिहरूको संख्यालाई आधार मान्दा विद्यालय तहका किशोरकिशोरीहरू र जागिर छाडेकाहरू धेरै मानसिक रूपमा विक्षिप्त भएको भेटिएको छ ।

नियमित गृहकार्य र साथीभाइसँगको भेटघाटमा रमाइरहेका किशोरकिशोरीहरू लामो समयसम्म साथीभाइसँग भेटघाट गर्न नपाउँदा मानसिक असन्तुलनको शिकार हुने गरेका छन् । अतिरिक्त क्रियाकलापले पनि मान्छेलाई व्यस्त गराइरहेको हुन्थ्यो । तर अहिले ती सबै गतिविधि बन्द हुँदा धेरैमा समस्या भएको देखिन्छ । अर्काेतर्फ कोभिड महामारीका कारण नोकरीबाट निकालिनु परेको पीडाले पनि धेरैमा मानसिक समस्या देख्ने गरिएको छ । यसमा केही उदाहरणहरू पनि देखिन्छन्, घरपरिवार कसरी धान्ने भन्ने चिन्ताले सताउँदै जाँदा मान्छेले आत्महत्याको बाटो समेत समात्ने गरेको देखिन्छ ।

यसबाट कसरी जोगिने ?

कोरोनाको महामारी कहिले अन्त्य हुन्छ भन्ने यकिन छैन । त्यसले पनि मान्छेमा एउटा अत्यास कायमै छ । त्यसले गर्दा मानसिक समस्या पनि बढिरहेको छ । यसको रोकथामको लागि पनि केही विधि अपनाउनुपर्ने हुन्छ ।

पहिलो कुरा त मानसिक रोगसम्बन्धी विभिन्न संकेत वा लक्षणहरू हुन्छ । ती लक्षण देखापर्नेबित्तिकै मनोपरामर्शको लागि जानुपर्ने हुन्छ । यसको लागि समाजको भूमिका पनि महत्वपूर्ण हुन्छ । मानसिक समस्यालाई कहिलै निको नहुने रोग जसरी समाजले उपेक्षा गर्ने हुँदा पनि धेरै उपचार नगरी मनभित्रै त्यसलाई दबाउने काम गर्छन् । विभिन्न चरणमा देखिने मानसिक समस्यालाई समयमा समाधान गर्न सकिएन भने अर्काे चरणको मानसिक समस्या देखिने भएकोले यसको समाधानको लागि ध्यान दिनुपर्ने हुन्छ ।

मानसिक समस्या मनोपरामर्शबाट नै धेरै हदसम्म निको हुन्छ । केही जटिल किसिमको मानसिक समस्या छ भने त्यसको लागि औषधि खानुपर्ने हुन सक्छ तर निको हुन्छ । कतिपयमा भ्रम रहेको देख्न सकिन्छ कि एकपटक औषधि खाएपछि पूर्णतः यो निको हुने रोग हो । त्यसैले यस्तो रोग लागेका मान्छेले आफूलाई कमजोर मान्नेभन्दा पनि समयमा नै उपचारको खोजी गर्नुपर्ने हुन्छ ।

मनोविज्ञ राणासँगको कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment