Comments Add Comment

संक्रमितलाई उपचार पाउनै समस्‍या, सरकारी अस्पताल भरिएपछि निजीमा पनि भिड

२ असोज, काठमाडौं । कोरोना भाइरसको संक्रमण तीब्र रुपमा बढेको भन्दै काठमाडौं उपत्यकासहित देशका धेरै जिल्लामा प्रशासन कार्यालयहरुले तीन सातादेखि डेढ महिनासम्म निषेधाज्ञाको आदेश जारी गरे ।

निषेधाज्ञामा मानवीय आवतजावत नियन्‍त्रण गर्दा कोरोना भाइरस संक्रमणको विस्तारलाई रोक्‍न र संक्रमितको पहिचान गर्न सजिलो हुन्छ । साथै उपचारात्मक सेवा प्रभावकारी बनाउन सरकारलाई पर्याप्त समय हुन्छ । तर अहिले धेरैजसो जिल्लामा निषेधाज्ञा खुलिसकेको छ र सरकारले उपचार सेवा प्रभावकारी बनाउन निषेधाज्ञाको समय उपयोग गर्न नसकेको दृष्टान्त संक्रमितले अस्पतालमा बेड पाउन गर्नुपरेको संघर्षले पुष्टि गर्छ ।

शुक्रबार देशभर २ हजार २० जना संक्रमित भेटिए जसमध्ये ८ सय ५९ संक्रमित काठमाडौं उपत्यकाका थिए ।  यसरी दिनुहँ संक्रमित संख्या बढ्दै जाँदा र उनीहरुको उपचारका लागि पर्याप्त आइसोलेसनहरु तयार नहुँदा व्यवस्‍थापनमा समस्या आएको उपत्यकाका कोभिड अस्पतालका अधिकारीहरु बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक निर्देशक डा. सागर राजभण्डारी भन्छन्, ‘अस्पतालमा संक्रमित व्यवस्थापन गर्न नसक्दा हैरान भएका छौं ।’

हुनत सरकारले लक्षण नदेखिएकाहरुलाई अस्पतालमा राखेर उपचार नगर्ने बताइसकेको छ । तर लक्षण देखिएका संक्रमितकै पनि उपचार सहज छैन । टेकु अस्पतालमा ८ वटा भेण्टिलेटर, २० वटा आईसीयू र ३० वटा आइसोलेसन बेड छ । ती बेडहरु विगत ३ महिनादेखि खाली नभएको डा. राजभण्डारी बताउँछन् ।

‘हरेक दिन बेडको लागि फोन आउँछ तर राख्ने ठाउँ छैन’, उनी भन्छन्, ‘पहिले उपत्यकामा दैनिक २ सय भेटिँदा  पनि त्यही समस्या थियो अहिले ५ सय नाघ्दा पनि त्यही नै समस्या छ ।’

डा. राजभण्डारीका अनुसार  टेकु अस्पतालमा लक्षण भएका र सिकिस्त संक्रमितलाई मात्र भर्ना गरिएको छ । लक्षण भएका संक्रमितलाई २ सातासम्म अनिवार्य आइसोलेसनमा राख्नुपर्छ । उनी भन्छन्, ‘संक्रमित बढेकाले पूर्वाधार थपे पनि समस्या ज्यूका त्यूँ छ ।’

उपत्यकाको अर्को कोभिड अस्पताल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या पनि टेकु अस्पतालको भन्दा फरक छैन ।  पाटन अस्पतालको कोभिड फोकल पर्सन डा. बिमल पाण्डे भन्छन्, ‘संक्रमितहरुलाई राख्ने ठाउँ छैन भन्दा पनि अस्पताल आएर जे गरेपनि गर्नुस् भन्छन् ।’ यस्ता संक्रमितलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरेर अन्यत्र उपचारका लागि पठाउने गरेको उनले बताए ।

डा. पाण्डेका अनुसार पाटन अस्पतालमा आफ्नो क्षमताअनुसार १ सय २५  जना संक्रमितको उपचार भइरहेको छ । पाण्डे भन्छन्, ‘हामीलाई बेडको लागि फोन थामिनसक्नु आएको छ ।’

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना संक्रमितको उपचार क्षमता ९२ जना हो । हाल यहाँ १० जना  आईसीयूमा र ४ जना भेन्टिलेटरमा समेत गरी ९७ जना उपचाररत छन् । अन्य ठाउँमा व्यवस्थापन गर्न नसकेकाले ५ जना संक्रमितलाई वेटिङ बेडमा राखिएको अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दास बताउँछन्  । भन्छन्, ‘संक्रमितको लागि बेड नभएपछि हामी मन्त्रालयसँग समन्वय गर्छौ उहाँहरुले नै म्यानेज गर्नुहुन्छ ।’

कोरोना संक्रमितको उपचारका लागि तोकिएको सरकारी अस्पतालमा बेड नभएपछि निजीमा उपचार गराउन जानेहरु पनि धेरै छन् । कोरोना संक्रमितको उपचार गराइरहेको एक निजी अस्पतालका कोभिड संयोजक भन्छन्, ‘सबै निजी र सरकारी अस्पतालमा बेड नभएपछि हाम्रोमा फोन आउँछ, हामीले अहिलेसम्म जसोतसो धानिरहेका छौं ।’

स्वास्थ्य मन्त्रालयको असोज १ गतेको तथ्यांक अनुसार उपत्यकाका १९ अस्पतालमा १७ सय २९ जना संक्रमितले उपचार गराइरहेका छन् । जसमध्ये १६ सय १५ जना आइसोलेसनमा, ८६ जना आईसीयूमा  र १९ जना भेन्टिलेटरमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अस्पतालमा  राखेर उपचार गर्नुपर्ने संक्रमितको कहिँ  न कहिँ व्यवस्थापन गरिएको बताउँछन् । ‘आइसोलेसन सेन्टरहरु धमाधम थपिदै छ, छुट्टै कोभिड अस्पतालको लागि पनि मन्त्रालयले पहल गर्दैछ, हामी अस्पताल भर्ना गर्नुपर्ने संक्रमितलाई बिचल्ली पार्दैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment