
४ असोज, वीरगञ्ज । बारा र रौतहटका दुईजना कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ ।
कलैया उपमहानगरपालिका-१३ बलिरामपुर बस्ने ६५ वर्षीय पुरुष र रौतहटको गौरका ६१ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार बिहान नेसनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको हो ।
कलैयाका पुरुषको बिहान ५ बजे र रौतहटका पुरुषको साढे ७ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिए ।
कलैयाका व्यक्ति प्यारालाइसिसका बिरामी थिए । उनको मिर्गौलामा समेत समस्या देखिएपछि उपचारका लागि असोज १ गते वीरगञ्ज ल्याइएको थियो ।
नेसनल मेडिकल कलेजमा उपचारको क्रममा सोही दिन पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको थियो । यसँगै बारामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
अर्का मृतक गौरका ६१ वर्षीय पुरुषमा उच्च रक्तचाप, मधुमेह र मुटु सम्बन्धी समस्या थियो । असोज १ गते नै अस्पतालमा भर्ना भएका उनको सोही दिन पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।
प्रतिक्रिया 4