४ असोज, काठमाडौं । घरेलु भूमिमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले कीर्तिमानी प्रदर्शन गर्यो । पुरुष फुटबलसहित ५१ वटा स्वर्ण जित्दा ५ खेलाडीले एकभन्दा बढी स्वर्ण जितेका थिए ।
शनिबार संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई दिइने मानपदवीको घोषणा गर्दा सागका हिरोहरु नछुट्ने आशा गरिएको थियो । तर, सरकारले उनीहरुलाई निराश बनाएको छ । मानपदवीमा खेल क्षेत्रका २० जना अटाए पनि ४ जनालाई मात्रै खेलकुद शीर्षकमा समेटिएको थियो । बाँकी १५ जना विभागको तर्फबाट थिए ।
जस्तो कि सागमा २५ वर्षपछि म्याराथनबाट नेपालका लागि स्वर्ण जितेका किरण सिंह बोगटीले मानपदवीको सुचीमा छन् । तर, उनी खेलाडीको नामबाट नभएर विभागको नामबाट परेका हुन् । बोगटी विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफका जागिरे हुन् । उनी सहायक हवल्दारका रुपमा कार्यरत छन् ।
किरणसहित १५ जनाले १३ औं सागमा स्वर्ण जिते पनि उनीहरुको नाम विभागबाट सिफारिस भएको आधारमा मान–पदवीका लागि समावेश भएको थियो । फुटबल टिमका खेलाडी र एकभन्दा बढी स्वर्ण जित्ने कुनै पनि खेलाडी मानपदवीको छनोटमा परेनन् । यसबाट विभागीय टिमभन्दा बाहिर रहेका खेलाडीले अन्याय भएको महसुस गरेका छन् ।
राखेप सदस्य सचिव रहेका रमेश कुमार सिलवाल, राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापा ओलम्पियन संगीना वैद्य र तेक्वान्दो प्रशिक्षक तुलसी गौतम मात्र खेलकुदको नामबाट पदकका छानिएका छन् ।
सदस्यसचिव रमेश सिलवालले सुप्रवल जनसेवा श्री तृतीयको विभुषण पाउँदा १३ औं साग समारोह समितिका सचिव रहेका प्रशासन विभाग प्रमुख कुलबहादुर थापालाई पनि प्रवल जनसेवा श्री चतुर्थबाट सम्मानित गरिएको छ । उनी १३ औं सागमा उद्घाटन र समापन समारोह समितिका निर्देशक थिए ।
राखेप प्रवक्तासमेत रहेका थापाले १३ औं सागमा स्वर्ण जितेका सबै खेलाडीको नाम मानपदवीका लागि सिफारिस गरेर पठाएको बताए ।
‘सागका स्वर्ण विजेता र सिनियर कोचहरुको नाम फाराम गरेर सिफारिस गरेर पठाएको हो । रमेश सर र मेरो चाहीँ सिफारिस गररिएको होइन । हाम्रो पछि उतै कतैबाट थपेको होला । तर खेलाडीको नाम नपरेको जानकारी आयो,’ थापाले भने ।
खेलाडीको नाम आफूहरुले सिफारिस गरेर पठाए पनि माथिल्लो निकायबाट के भयो थाहा नभएको बताए ।
उनी थप्छन्, ‘ खेलाडीको सबै स्वर्ण विजेताको सबैको मैले नै पठाएको हो । त्यो बेला हामीसंग रेकर्ड नै छ कति जना सिफारिस गरेको भनेर । हामीले पठाएको सूची मन्त्रालबाट पनि सदर भएर विभूषण समितिमा गएर त्यहाँबाट गृह मन्त्रालय हुँदै क्याबिनेटबाट स्वीकृत हुनुपर्ने रैछ । त्यहीबीचमा के–के भयो मलाई जानकारी भएन ।’
१३ औं सागमा दोहोरो स्वर्ण जितेकी तेक्वान्दोकी आयशा शाक्य कुनै पदकको लागि छानिन सकिनन् । सागमा उनीसँगै पियर पुम्सेमा स्वर्ण जितेका तेक्वान्दोका सञ्जीव ओझाले भने पदक पाउने भए । उनी विभागबाट सिफारिसमा परेको आधारमा पदकका लागि लायक भएका हुन् ।
तर नेपाल प्रहरी विभागमै रहेका करातेमा दोहोरो स्वर्ण जितेका मन्डेकाजी श्रेष्ठले पनि सरकारको पदक पाएनन् ।
शनिवार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपीए) ले शनिवार विज्ञप्ती जारी गर्दै सरकारले खेलाडीको अपमान गरेको जनाएको छ । मानपदवीका लागि स्वर्ण जितेका खेलाडीलाई फाराम भराइएको तर छनोटमा नपरेको भन्दै एनएनआइपीएले असन्तुष्टि व्यक्त गरेको छ ।
‘सम्मान गर्न आउदैन भने अपमान पनि नगर्नु । आजको दिन खेलकुद क्षेत्रले अपमान महसुस गरेको छ,’ एनएनआइपीए अध्यक्ष दीपक श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मानपदवीका लागि सिफारिस गर्न फाराम भर्दा नै यो गलत हो भन्दै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आवाज उठाएको समेत विज्ञप्तिमा उल्लेख छ ।
गत मंसिरमा नेपालमै भएको १३औ सागमा नेपालले अहिलेसम्कै धेरै ५१ स्वर्णसहित २०८ पदक जितेको थियो । १३औं सागमा पौडीबाज गौरिका सिंह एक्लैले ४ स्वर्ण जितेकी थिइन् । इतिहासमै पहिलोपटक नेपालका लागि ४ स्वर्ण जितेकी गौरिका पदकका लागि लायक ठहरिइनन् ।
यस्तै मन्डेकाजी र आयशासंगै गल्फका सुवास तामाङले पनि २–२ स्वर्ण जितेका थिए । तर उनीहरुलाई पनि सरकारले उपेक्षा गर्यो ।
यसबाहेक एथ्लेटिक्समा १० हजार मिटरमा सन्तोषी श्रेष्ठ, भारत्तोलनमा सञ्जु चौधरी, कुस्तीमा संगीता धामी, ट्रायथलनमा सोनी गुरुङले सागमा नेपाललाई ऐतिहासिक स्वर्ण दिलाएका थिए । उनीहरुले आफ्नो विधामा कीर्तिमान नै रचेका थिए । फुटबलमा पनि नेपालले घरेलु मैदानमा स्वर्ण जितेको थियो ।
सरकारले राखेपबाट सिफारिस भएको नामभन्दा विभिन्न विभागबाट सिफारिस भएको नामलाई प्राथमिकता दिएको देखियो । १३ औं सागमा स्वर्ण जितेकी खेलाडीहरुको नाम पनि खेलाडीको नाममा होइन जवान हवल्दार हुदा जस्ता पदका आधारमा छनोट भएका छन् ।
सम्मान पाउनेमा नेपाल प्रहरीबाट ७, नेपाल आर्मीबाट ६ र सशस्त्र प्रहरीबाट २ जना खेलाडी परेका छन् । नेपाल प्रहरीबाट भारोत्तोलनका विकास थापा, तेक्वान्दोका कमल श्रेष्ठ र वीरबहादुर महरा, बक्सिङका भूपेन्द्र थापा, करातेकी निश्चमान श्रेष्ठ सुनिता महर्जन, सरु कार्की र महसुस मोक्तान नेपाल प्रताप भूषणबाट विभूषित भएका छन् ।
आर्मीबाट ट्रायथोलन खेलाडी हिमाल टमाटा परम पौरख भास्करबाट, तेक्वान्दोका सञ्जिव ओझा, निता गुरुङ, संगीता मगर, बक्सिङकी मिनु गुरुङ र करातेका प्रविन मानन्धरलाई सुकीर्ति पदक पाउने छन् ।
१३ औं सागमा म्याराथन स्वर्ण विजेता सशस्त्रबाट एथ्लेटिक्सका किरणसिंह बोगटी र जुडोकी देविका खड्का सुकीर्ति पदकबाट विभुषित भएका छन् ।
प्रतिक्रिया 4