Comments Add Comment

चितवनमा ६ महिनापछि चार उडान

५ असोज, चितवन । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले लकडाउन जारी गरेपछि झण्डै ६ महिना बन्द भएका आन्तरिक उडान आज सोमवारदेखि सुरू भएका छन् । आज पहिलो दिन चितवनमा बुद्ध र यती एयरलाइन्सरले दुई–दुई उडान गर्ने भएका छन् ।

भरतपुर विमानस्थलले आन्तरिक उडान सुरु भएकाले आवश्यक तयारी तथा सुरक्षाका मापदण्ड सम्बन्धी बिभिन्न व्यवस्था गरेको जनाएको छ । विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले आन्तरिक उडानलाई लक्षित गर्दै आइतवार विमानस्थलमा स्वास्थ्य सुरक्षा पूर्वतयारी तालिम गरिएको बताए । तालिममा प्रस्थान कक्षबाट नै निर्मलीकरण, स्वास्थ्य जांँच, सामान चेकिङ्ग र टिकट चेकिङ्ग, बोर्डिङ्ग पास र विमान प्रतिक्षा कक्षसम्म यसको नमुना प्रदर्शन गरिएको थियो ।

प्रमुख कुंँवरले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरिने बताए । उनका अनुसार विमानस्थलको प्रमुखद्वारबाट नै यात्रुलाई मात्र प्रवेश दिइने र विमानस्थलभित्र आउने सवारीसाधनलाई समेत दूरी कायम गरी सीमित सवारी साधन मात्र प्रवेश गराइने छ । स्वास्थ्यमा समस्या आएका या शंकास्पद विरामी यात्रुका लागि आइसोलेसन कक्षको समेत व्यवस्था गरिएको उनले जानकारी दिए ।

६ महिनापछि विमान उडान हुने भएपछि विमानस्थलका कर्मचारी तथा एयरलाइन्सका कर्मचारीहरु उत्साही बनेका छन् । बुद्ध एयरले विहान ११ः१० र दिउँसो ३ः४० बजे दुई उडान गर्न लागेको भरतपुर स्टेशन प्रमुख भक्त बस्नेतले जानकारी दिए । बुद्धको पहिलो उडान करीब भरिएको छ भने, दोस्रो उडान पनि भरिने क्रममा रहेको बस्नेतले बताए । उनले बिमानस्थलमा स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड लागु गरिएको बताए ।

मास्क र फेस शिल्ड अनिवार्य

बुद्धले मास्क र फेस शिल्ड यात्रुका लागि अनिवार्य गरेको छ । ‘मास्क र फेस शिल्ड नभएका यात्रुलाई विमानभित्र जान दिइँदैन, केही फर्महरू भर्ने व्यवस्था पनि गरेका छौं,’ स्टेशन प्रमुख बस्नेतले भने, ‘हामी उत्साही छौं, निकै लामो समयपछि उडान हुन पाउँदा खुसी भएका छौं ।’

उनले यात्रुको चाप अनुसार उडानको संख्या पनि बढाउंँदै लैजाने बताए । बुद्धले कोभिडका कारण भाडा पनि घटाएको छ । बुद्धको उच्च फेयर एकतर्फी ३६ सय ५० बाट घटेर ३४ सय ५ रुपैयाँ पुगेको छ भने, न्यून फेयरलाई २९ सयबाट घटाएर २४ सय बनाइएको छ ।

यति एयरलाइन्स भरतपुरका प्रमुख अनुप ढकालका अनुसार यतिले भरतपुर–काठमाडौंका लागि सोमबार दुई उडान गर्दैछ । विहान ९ः५५ बजे र दिउँसो २ः२५ बजे काठमाडौं–भरतपुर उडान रहेको ढकालले जानकारी दिए । उनका अनुसार पहिलो विमानको टिकट शतप्रतिशत बिक्री भएको छ, दोस्रो हुने क्रममा छ । उनले यतीले विमानस्थलमा यात्रु तथा कर्मचारीका लागि स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा लागु गर्ने बताए ।

लकडाउनअघि बुद्ध एयरले दैनिक पांँच वटासम्म र यतीले ४ वटा उडान गर्दै आएका थिए । बुद्धले भरतपुर–पोखरा उडान पनि गर्दै आएको थियो । यहांँ आउने बुद्धको दुईवटा जहाज ४७ सिटे र १८ सिटे छन् भने यतीको ३० सिट यात्रु क्षमताको छ ।

यो पनि पढ्नुहोस ११ चैतपछि पहिलोपटक खुल्यो आन्तरिक उडान, २५ प्रतिशत उडानलाई अनुमति यो पनि पढ्नुहोस यात्रामा दोहोरो मापदण्ड : बसमा आधा मात्रै, विमानमा सिटभरि !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment